• १९ कात्तिक २०८२, बुधबार

धारपानीलाई कलाको ‘हब’ बनाउन सुझाव

blog

धारापानी धार्मिकधाम क्षेत्रको विकासका सम्भावना र कलात्मक योगदानका विषयमा छलफलमा सहभागीहरू ।

लीलाधर वली

घोराही, कात्तिक १९ गते । दाङको घोराही उपमहानगरपालिका–५, पाण्डवेश्वर धार्मिक धाम धारपानीलाई धार्मिकसँगै कलाको ‘हब’ बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले चासो देखाएको छ ।  

प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्र काफ्ले थुम्केली, परिषद् सदस्य प्रदीप अधिकारी र दिनेश्वर महतोको टोलीले बुधबार धारपानी व्यवस्थापन समितिसँग भेटघाट गरी धारापानी धार्मिक धाम क्षेत्रको विकासका सम्भावना र कलात्मक योगदानका विषयमा छलफल गरेको हो । 

अवलोकनपछि सदस्य–सचिव थुम्केलीले धारपानीको प्राकृतिक र सांस्कृतिक संरचना मूर्तिकला निर्माणका लागि अत्यन्त उपयुक्त रहेको बताउनुभयो । सदस्य सचिव थुम्केलीले भन्नुभयो, “धारपानी ढुङ्गामूर्तिका लागि अनुपम स्थान रहेछ । यहाँ मूर्तिबगैँचा बनाउन सकिन्छ र ललितकला प्रतिष्ठान यसका लागि सहकार्य गर्न तयार छ ।” 

उहाँले दाङको माटो बलियो र सृजनात्मक सम्भावनाले भरिएको उल्लेख गर्दै यहाँको माटोबाट त्रिशुल, लकेट, ब्रासलेटजस्ता कलात्मक चिनोहरू उत्पादन गर्न सकिने बताउनुभयो । यसरी काम गर्दा स्थानीय उद्यमशीलता र पर्यटन दुवैलाई जोड्न मद्दत गर्ने बताउनुभएको थियो । 

धारपानी व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले प्रतिष्ठानको पहललाई स्वागत गर्दै सहकार्य गर्न तयार रहेको बताउनुभयो । पाण्डवेश्वर धामको विकासका लागि तात्कालीन र दीर्घकालीन कार्ययोजना बनाएर अगाडि बढिरहेको भन्दै अध्यक्ष अधिकारीले यसका सम्भावनाको खोजी गरिररहेको बताउनुभयो । 

अध्यक्ष अधिकारीले भन्नुभयो, ‘‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देखाएको चासोले हामीलाई उत्साहित बनाएको छ । कलात्मक मूर्तिहरू र स्थानीय हस्तकलाका माध्यमबाट धारपानीलाई अझ आकर्षक धार्मिक गन्तव्य बनाउन सकिन्छ । यसतर्फ हामी योजना बनाएर प्रतिष्ठानसँग सहकार्यको प्रस्ताव पठाउँछौँ ।” त्यसक्रममा समितिका सचिव विष्णुराम आचार्यले धारपानीलाई धार्मिक आस्था र संस्कृतिको प्रतीकका रूपमा विकास गर्न चाहेको भन्दै सहयोगको अपेक्षा गर्नुभयो ।

धारपानी धार्मिक क्षेत्रको विकासका लागि सम्भावना प्रचुर रहेको भन्दै सचिव आचार्यले भन्नुभयो, “यहाँको ढुङ्गा र माटो आफैमा इतिहास बोकेको छ । यदि कलाले त्यसलाई नयाँ रूप दिन सक्यो भने धारपानी नेपालको सांस्कृतिक परिचय बन्न सक्छ । प्रतिष्ठानले देखाएको चासोले धारपानीलाई जीवन्त बनाउन थप मद्दत गर्नेछ भन्ने विश्वास जगाएको छ ।’’ 

प्रतिष्ठानले भविष्यमा स्थानीय कलाकार, मूर्तिकार र समितिसँग मिलेर धारपानी क्षेत्रको कलात्मक संरक्षण र मूर्तिकला प्रवर्धनका कार्यक्रम अघि बढाउन सहयोग गर्ने सदस्य सचिव थुम्केलीले बताउनुभएको थियो ।