• १० मंसिर २०८१, सोमबार

विद्यालय भवन भत्किएपछि वडा कार्यालयमा पढाई

blog

पहिरोले भत्काएको विद्यालय भवन । तस्बिर : गोरखापत्र

राजु लामिछाने 

रुकुमपूर्व, कात्तिक १६ गते । गत भदौमा आएको वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएपछि रुकुमपूर्वको एक विद्यालयको पढाई वडा कार्यालय  र अन्तर्गतको स्वास्थ्य इकाई भवनमा हुँदै आएको छ । 

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–९ खाराबाङमा रहेको आदर्श माध्यामिक विद्यालयकाको पठनपाठन वडा कार्यालय र स्वास्थ्य इकाई भवनमा हुँदै आएको हो । 

विद्यालयका प्रधानाध्यापक सर्वेन्द्र खड्काका अनुसार गत भाद्र महिनामा विद्यालय भवन भत्किएपछि वडा कार्यालयमा विद्यालयमा सामाग्री सारेर पठनपाठन गर्ने गरिएको छ ।

१० कक्षासम्म रहेको विद्यालय भवन पहिराले भत्काएपछि वडा कार्यालयमै पठनपाठन गर्न बाध्य भएको प्रधानाध्यापक खड्काले बताउनुभयो । भारी वर्षाका कारण विद्यालय माथीबाट आएको पहिराले विद्यालय भवन भत्किएको थियो ।

विद्यालयका प्रधानाध्यापक खड्काले पहिराले निर्माण सम्पन्न भएको दुई कोठे भवन र दुई कोठे पक्की शौचालय, निर्माणाधीन दुई कोठे भवनलाई पहिरोले पुर्ण रुपमा क्षति गरेको बताउनुभयो । 

भवन भत्किदा कम्प्युटर कक्षमा रहेका कम्प्युटर सहित फोटोकपी मेसिन, सोलारपाता लगायतका सामाग्री गरेर करिब एक करोड बराबरको क्षति भएको बताईएको छ । 

विद्यालयमा रहेको पुरानो भवन पनि जिर्ण अवस्थामा रहेकोले पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । जिर्ण र भत्किएको अवस्थामा रहेको भवनलाई मर्मतको पहल गरिने वडाध्यक्ष हर्कप्रसाद रोकाले बताउनुभयो ।