• १६ चैत २०८०, शुक्रबार

स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइयो : प्रमुख आयुक्त थपलिया

blog

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । फाइल तस्बिर

काठमाडौं, कात्तिक ४ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज प्रदेश नं. १ विराटनगरमा उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो कुरा बताउनुभएको हो ।

उहाँले राजनीतिक दलका नेतहरुलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाएको भन्दै आचारसंहिताका सम्बन्धमा ७÷१० दिनपछिको आयोगको निर्णयले भूकम्प ल्याउने हो कि भनेर संशय गर्नुभएको छ ।

आयुक्त थपलियाले भन्नुभयो, ‘‘स्पष्टीकरणले तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि ? निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ । जुन राजनीतिक दलहरूकै अनुरोधमा तयार गरिएको हो ।’’

व्यवस्थित, मर्यादित र विश्वसनीय निर्वाचनका लागि आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी दुुईवटा नारा अगाडि सारेको पनि प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।

‘‘पहिलो–निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनुहुँदैन, निष्ठा विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता स्थापित गरौँ । दोस्रो– निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गरौँ ।’’ यी दुवै विषय निर्वाचनको निष्ठासँग जोडिएका विषय भएको उहाँले बताउनुभयो ।