• १३ साउन २०८१, आइतबार

सुर्खेतमा खड्का र शाहीबीच पुनः प्रतिस्पर्धा

blog

सुर्खेत क्षेत्र नम्बर १ का पूर्णबहादुर खड्का र धुब्रकुमार शाही ।

नवीन सुुवेदी

सुर्खेत, कात्तिक ३ गते । सुर्खेत क्षेत्र नम्बर १ को निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका धुब्रकुमार शाही चुनावी मैदानमा हुनुहुन्छ । 

कांग्रेसका उम्मेदवार खड्काले पाँच पटक संसदमा प्रतिनिधित्व गर्नुहुँदै मन्त्रीसमेत बनेको अनुभव रहेको छ । उहाँले २०४८, २०५१, २०५६ र २०७० मा निर्वाचन जित्नुभएको थियो । २०६४ को संविधानसभा निर्वाचनमा उहाँ समानुपातिक सभासद् हुनुन्थ्यो । 

वि.सं २०७४ प्रतिनिधिसभाको निवार्चनमा पहिलो पटक भेट हुँदा एमालेका धुब्रकुमार शाहीले उहाँलाई पराजित गर्नुभएको थियो । शाही ३६ हजार ७५९ मत ल्याएर विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गर्नुभएको थियो । अहिले खड्का छैटौँ पटक  र शाही दोस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वी सुर्खेतका पाँच वटा पालिकासहित वीरेन्द्रनगरको १५ र १६ वडा रहेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पाँचमध्ये तीन पालिका एमालेले जितेको थियो । दुई वटामा कांग्रेसका उम्मेदवार विजयी हुनुभयो । उक्त क्षेत्रमा पर्ने वीरेन्द्रनगर नगरपालिकाका दुई वडामध्ये एकमा एमाले र अर्कोमा कांग्रेसले जितेको थियो ।