• १३ साउन २०८१, आइतबार

तीन पूर्वमन्त्री प्रतिस्पर्धामा

blog

जानु पाण्डे

कपिलवस्तु, कात्तिक ३ गते । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि तीन जना पूर्वमन्त्री बीच प्रतिस्पर्धा हुने देखिएको छ। सो क्षेत्रमा पूर्वकानुनमन्त्री वृजेशकुमार गुप्ता, पूर्वकृषि तथा सहकारीमन्त्री अकवाल अहमद शाह र पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । 

नेकपा एमालेबाट २०७४ सालमा पनि गुप्ता निर्वाचित हुनुभएको थियो। गुप्ता लगातार चार पटक निर्वाचित भएर सांसद हुनुभएको थियो। २०५६ सालमा राप्रपाबाट राजनीतिक यात्रा सुरु गर्नुभएका गुप्ता तराई मधेश लोकतान्त्रिका पार्टी (तमलोपा) हुँदै अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित हुनुभएको थियो  । त्यस्तै अघिल्लो निर्वाचनमा बाम गठबन्धनसँग तीन हजार ५८१ मतले पराजित हुनुभएको नेपाली कांग्रेसका उम्मेदवार आचार्य यस पटक सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ । उहाँ २०५६ सालमा कांग्रेसका उम्मेदवार वीरेन्द्रकुमार कनोडियाविरुद्ध बागी उम्मेदवार हुनुभएको थियो । त्यसपछि दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिँचाइ राज्यमन्त्री हुनुभएको थियो । 

दुई कार्यकाल कांग्रेस पार्टीको जिल्ला सभापति हुनुभएका आचार्य हाल प्रदेश महामन्त्री हुनुहुन्छ। लोसपा पार्टीबाट शाहले पनि यसै क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ। उहाँ नेपाल कम्युनिस्ट पार्टी (मानन्धर समूह) हुँदै, एमाले, राप्रपा, तमलोपा हुँदै हाल लोसपाबाट उम्मेदवार बन्नुभएको छ । 

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँ २५ दिन कृषिमन्त्री हुनुभएको थियो। समानुपातिकबाट संविधान सभा सदस्य हुनुभएका शाह यस पटक प्रत्यक्षतर्फ उम्मेदवार हुनुभएको छ।