• १२ चैत २०८२, बिहिबार

तातो हावा ‘लु’ को पूर्व तयारी र प्रतिकार्य गतिविधिको अनुगमन

blog

अनुगमनपछि छलफल गर्दै अनुगमन टोलीमा सहभागीहरू । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, चैत १२ गते । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावा ‘लु’ पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धित गतिविधिको बारेमा उच्च स्तरीय अनुगमन तथा अवलोकन गरिएको छ ।

अनुगमन र अवलोकनका क्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेद्वारा तातो हावा सम्बन्धी सञ्चालित गतिविधिको प्रस्तुतिकरण, नेपालगन्ज उपमहानगरपालिका र रेडक्रस बीचको साझेदारी तथा सहकार्यमा सञ्चालन भएका कार्यहरूको बारेमा अन्तरक्रिया, कुलिङ्ग सेन्टरको अवलोकन र समुदायमा सञ्चालन भएका गतिविधिको स्थलगत अनुगमन गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले विभिन्न विपद् मध्ये तातो हावा पनि एक भएको भन्दै नेपालगन्जमा तातो हावा प्रतिकार्यका गतिविधिहरू केही वर्षदेखि नमुनाका रुपमा सञ्चालन भइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले प्राधिकरणले योजनाबद्ध कार्य गरिरहेको पनि सो अवसरमा बताउनुभयो । अनुगमनका क्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घका नेपाल प्रतिनिधि टोलीका प्रमुख डेविट फिसर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर भट्ट, सहसचिव अमृत श्रेष्ठ, उपसचिव राजेन्द्र शर्मा, उपसचिव सुरेश सुनार, अमेरिकन रेडक्रसका नेपाल प्रतिनिधि हरिबहादुर कार्की, कार्यक्रम संयोजक उपमा ओझा र रेडक्रस सोसाइटी केन्द्रका उपनिर्देशक अमरमणि पौडेल लगायतको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले विगतदेखि हालसम्म सञ्चालन भएका तातो हावाको असर न्यूनीकरण सम्बन्धी गतिविधिको बारेमा प्रस्तुति गर्नुभयो । 

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले रेडक्रस र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा संचालन भएका गतिविधिको बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, विपद् व्यवस्थापन समितिका नरेन्द्रकुमार पौडेल र खगेसरी भण्डारी, नेपालगन्ज उपमहानगरपालिकाका पालिका शाखा तदर्थ समितिका संयोजक शिवकुमार वर्मा लगायतको सहभागिता थियो ।