• १९ असोज २०८१, शनिबार

राजनीतिज्ञ र उद्योगपतिको भिडन्त: त्रिपाठी र चौधरी प्रतिस्पर्धामा

blog

पश्चिम नवलपरासीको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिस्पर्धीहरु

गोपी ज्ञवाली 

नवलपरासी, कात्तिक १ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचनमा राजनीतिज्ञ हृदेश त्रिपाठी र उद्योगपति विनोद चौधरीबीच भिडन्त हुने भएको छ । आठ पटक चुनावी मैदानमा रहनुभएका पूर्वमन्त्रीसमेत रहनुभएका राजनीतिज्ञ त्रिपाठी र पहिलो पटक प्रत्यक्ष चुनावमा उत्रनुभएका उद्योगपति विनोद चौधरीबीच कडा भिडन्त हुन लागेको हो ।

यस्तै, यस क्षेत्रमा पहिलो संविधानसभामा निर्वाचित नेकपा (माओवादी केन्द्र) की नेतृ सीता बौडेलको पनि स्वतन्त्र उम्मेदवारी परेको छ । 

पञ्चायती कालमा पहिलो पटक २०४३ सालमा पहिलो पटक चुनाव लडेका नवलपरासीका त्रिपाठी अहिलेको निर्वाचनमा खर्बपति चौधरीसँग आमनेसामने हुन लाग्नुभएको हो । उद्योगपति चौधरी पहिलो पटक प्रत्यक्ष निर्वाचनमा सहभागी हुनुभएको छ । यसअघि उहाँ नेकपा (एमाले) र नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

पूर्वमन्त्री त्रिपाठी नेकपा (एमाले) सहितको गठबन्धनमा रहेको नेपाल प्रगतिशील पार्टीबाट उम्मेदवारी दिनुभएको हो भने उद्योगपति चौधरी सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा उत्रनुभएको छ ।

वि.सं २०४३ र २०७० सालमा पराजित हुनुभएका उहाँ २०४८, २०५१, २०५६, २०६४,  २०७४ मा विजयी हुनुभयो । निर्वाचनमा केही उम्मेदवारको चुनौती सामना भएपछि प्रतिस्पर्धा गर्न नचाहे पनि बाध्य भएर चुनावमा उत्रिएको नेता त्रिपाठीले गोरखापत्र अनलाइनलाई प्रतिक्रिया दिनुभएको छ   । 

यस्तै, उद्योगपति विनोद चौधरीले यस क्षेत्रका समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । पूर्वी नवलपरासीमा ठूलो उद्योग सञ्चालन गर्नुभएका उहाँले आफूले पार्टीको निर्देशन पालना गरेर पश्चिम नवलपरासीमा आएको बताउनुभयो । 

उत्तरतर्फको केही भागमा पहाड रहेको यस क्षेत्रको दक्षिणी क्षेत्र भारतीय सिमानासँग जोडिएको छ ।