• १३ साउन २०८१, आइतबार

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन : उपसभापति खड्का

blog

नवीन सुवेदी 

सुर्खेत, असोज ३१ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तागठबन्धन संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि बनेको बताउनुभएको छ । सोमबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयोे, ‘हामी निर्वाचनको महाअभियानमा प्रवेश गरिसकेका छौँ । पूर्व गृहमन्त्रीसमेत रहनुभएका खड्काले भन्नुभयो, ‘अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि पनि गठबन्धनले जित्नुपर्नेछ ।’ 

संविधान माथिको प्रहार, संविधानको रक्षा, स्थिरता र नवीनतम अभियानलाई स्थापित गर्न गठबन्धनको विजय आवश्यक रहेको बताउनुभएको हो । खड्काले छोटो समयमा भए पनि गठबन्धनको सरकारले नवीनतम कार्य गरेकोे बताउनुभयो । 

खड्काले अहिलेसम्म आफू राष्ट्रिय राजनीतिमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । 

अब तपाईं प्रधानमन्त्रीको दाबेदार हो ? भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयोे, ‘सुर्खेत र कर्णाली प्रदेश राष्ट्रिय राजनीतिमा कति प्रभाव राख्न सफल भएका छौँ भन्ने कुरालाई जनताले बुझेकै छन् । मैले केही वर्षअघि नै मन्त्री नबन्ने घोषणा गरेको थिएँ । त्यसलाई कार्यान्वयन गरिरहेको छु, त्यसैले कर्णालीबाट राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेका छौँ । अब चुनावपछि नै के भूमिका निर्वाह गर्ने भन्ने कुरा निर्धारण गर्ला ।’ 

खड्काले विगतमा निर्वाचित जनप्रतिनिधिले अघि बढाएका अभियानलाई पूर्णता दिने कुरा सुर्खेतको हकमा पहिलो प्राथमिकता रहने समेत बताउनुभयो ।

विगतमा भएका सबै खाले उतारचढाव र घटनाको स्मरण गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार लिएर चुनावमा गएको उल्लेख गर्दैै आसन्न मङ्सिर ४ गते गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभयो ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका खड्का चुनावी अभियानका लागि गृह जिल्ला आउनुभएको हो । 

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, गठबन्धनबाट आसन्न निर्वाचनमा उम्मेदवार बनेका माओवादीका कृष्ण जिसी, कांग्रेसका कालीप्रसाद शाक्यलगायत नेता तथा कार्यकर्ता खड्कालाई स्वागत गर्न विमानस्थल पुग्नुभएको थियो । नेता खड्काले जिल्लास्थित निर्वाचन क्षेत्र लक्षित चुनावी सभालाई सम्बोधन गर्नुहुने बताइएको छ ।  

सुर्खेत विमानस्थलमा पत्रकारहरुलाई सम्बोधन गर्नुहुँदै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का ।