• ११ मंसिर २०८१, मङ्गलबार

बाढी पीडितलाई मन्त्रीको राहत

blog

सहरी विकास मन्त्री मेटमणि चौधरी राहतसहित । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, असोज २९ गते । दाङ देउखुरीका बाढी पीडितलाई सहरी विकासमन्त्री मेटमणि चौधरीले राहत उपलब्ध गराउनुभएको छ । देउखुरीका चारवटै स्थानीय तहमार्फत् एकद्वार प्रणालीबाट वितरण हुने गरी राहत पालिकालाई हस्तान्तरण गरिएको हो ।

बाढी र डुबानले देउखुरी क्षेत्रमा पारेको प्रभाव अवलोकन गर्न स्थलगत अवलोकनमा रहनुभएका मन्त्री चौधरीले तत्कालको लागि खाद्यान्नको आवश्यकता देखेपछि पहिलो चरणमा खाद्यान्न राहतस्वरुव वितरण गरिएको हो ।

पहिलो चरणमा मन्त्री चौधरीले व्यक्तिगत रुपमा राहतस्वरुप देउखुरीका चारवटै पालिकालाई ५० क्विन्टल चामल स्थानीय तहका प्रमुखमार्फत हस्तान्तरण गर्नुभएको छ ।

राहत वितरण गर्दै मन्त्री चौधरीले देउखुरीमा २०१८ सालपछिको पहिलो बाढी आएको र डुबानले चारवटै पालिकामा प्रभाव पारेको बताउनुभयो ।

बाढी पीडितको लागि सरकारको अनुभूति गर्नेगरी राहत एवं सहयोग उपलव्ध गराउने मन्त्री चौधरीले प्रतिबद्धता जनाउनुयो । उहाँले भन्नुभयो, ‘म स्थलगत रुपमा जाँदा देउखुरीमा बाढीको प्रभाव अवलोकन गरेपछि तत्काल राहतको लागि खाद्यान्न पठाइएको छ, थप राहत र भौतिक पूर्वाधारमा समेत राहत उपलब्ध हुन्छ ।’ 

यस्तै, मन्त्री चौधरीले देउखुरीका चारवटै पालिका प्रमुखलाई बाढी र डुबानको वास्तविक क्षति अविलम्ब यकिन गरेर अन्य आवश्यक सहयोग माग गर्नसमेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो विपद्कोे समयमा जहाँ जे आवश्यक पर्दछ त्यही सहयोग गर्ने हो, तपाईंहरुले गर्न नसकेको हकमा प्रदेश र सङ्घीय सरकार छ, हामीलाई यकिन विवरण छिटो पठाउनुस् ।’ मन्त्री चौधरीले बाढी र डुबानमा परेर विस्थापित भएकाहरुलाई स्थापित गराउने कार्यमा सहयोग गर्न विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई आग्रह गर्नुभयो ।