• १३ साउन २०८१, आइतबार

राउटेले पाए दशैंअघिकाे भत्ता

blog

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै गुराँस गाउँपालिका । तस्बिर – कमल शर्मा

कमल शर्मा 

दैलेख, असोज २९ गते । कर्णाली प्रदेशका विभिन्न जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । भगवतिमाई गाउँपालिका १ बाबियातडामा बस्ने ४० घरधुरीका १४४ जनालाई शुक्रबार गुराँस गाउँपालिका –८ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

दशैं अघि नै सामाजिक सुरक्षा भत्ता पाउने आसमा रहेका ती समुदायले दशैं सकिएपछि मात्र भत्ता प्राप्त गरेका हुन् । गुराँस गाउँपालिका –८ का वडा सचिव सुस्मिता खड्काले साउन, भदौ र असोजको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो ।

उहाँले दशैं अघि नै राउटेलाई भत्ता वितरण गर्ने भए पनि दशैँको अन्तिम दिन मात्र वडामा बजेट आएपछि भत्ता वितरण गर्न ढिला भएको बताउनुभयो । दशैंको बिदा २३ गतेसम्म थियो बैङ्कहरूमा समेत ढिला खुल्यो त्यस कारण हामीले दशैं सकिएको चार दिनपछि भत्ता वितरण गरेका हौँ । सङ्घीय सरकारले लोपोन्मुख राउटे समुदायलाई जनही चार हजार रुपियाँ दिने गरेको छ । 

राउटे समुदायका शिक्षक लालबहादुर खत्रीले अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारले तीन हजार र कर्णाली प्रदेश सरकारले दुई हजार गरी जनही पाँच हजार भत्ता दिएको भए पनि कर्णाली प्रदेश सरकारले पछि भत्ता दिन छाडेको बताउनुभयो ।

उहाँले अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले सात महिनाको एकमुष्ट भत्ता दिएको भए पनि पछि कटौती गरेको बताउनुभयो । कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताउने राउटे समुदाय गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् ।