• ११ मंसिर २०८१, मङ्गलबार

उजाडिएको कम्युनिस्ट सौन्दर्य

blog

विश्व राजनीतिक शासनलाई क्षीण तुल्याउँदै लगेको शीत युद्वलाई टुङ्ग्याउन अग्रगामी भूमिकामा रहेका विश्व नेता मिखाइल गोर्बाचेवको गत अगस्ट ३० मा निधन भएपछि विश्व कम्युनिज्म र यसका राजनीतिक आयामले विश्व शासनमा एक पटक फेरि चर्चा बटुले। हुन त बिसौँ शताब्दीको आधाआधीतिर विश्वमा कम्युनिस्ट शासनको दबदबा थियो। सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो। सन् १९२७ देखि १९५३ सम्मको ३६ वर्ष सोभियत सङ्घमा स्टालिनवाद फक्रियो। सन् १९५९ मा फिडेल क्यास्ट्रोले क्युबाका शासक फुल्गेन्सियो बाटिस्टालाई सत्ताच्युत गरेपछि विश्व कम्युनिज्मको बिज अङ्कुराउँदै गरेको तथ्यका रूपमा अर्थाइयो। अक्टोबर क्रान्तिबाट सोभियत सङ्घको उदय भएको तिथिको हिसाबमा कम्युनिज्म उदयको सिङ्गो एक शताब्दी बढी गुज्रिइसकेको छ।

सन् १९१७ मा अक्टोबर क्रान्तिबाट सोभियत सङ्घको उदय हुँदै गर्दा कम्युनिज्मको सैद्धान्तिक जगभन्दा यसको अभ्यास बलियो थियो। त्यसयताको सात दशकको अवधि सन् १९९० तिर आइपुग्दा यसले चर्चेको धेरैजसो विश्व शासकीय हिस्सामाथि यसको पकड गुम्न थालिसकेको थियो।

सन् १९५३ मा जोसेफ स्टालिनको मृत्युसँगै सोभियत सङ्घको भविष्य अन्योल बन्यो। शक्तिबारे पनि प्रश्न उठाइयो। चेकोस्लोभाकिया र बुल्गेरियामा आन्दोलनको राँको हुर्किंदै थियो। सन् १९५३ को जुनमा पूर्वी बर्लिनमा श्रमिकले गरेको आन्दोलनको झिल्को बाँकी विश्वभर फैलियो। १९८५ मा सोभियत सङ्घमा मिखाइल गोर्वाचेवको उदय भयो, फलतः आर्थिक नीति तथा योजनाको लोकतान्त्रीकरण भयो। उनी चर्चित पनि बने। छवि पनि उदार बन्यो तर विश्व कम्युनिज्मका लागि भने अभिशाप साबित हुन पुग्यो। सन् १९८९ मा बर्लिन पर्खाल ढल्दै गर्दा विश्व कम्युनिज्मको अवसानको 

शङ्खघोष हुँदै थियो। चीन, लाओस्, क्युवा, भियतनाम र उत्तर–कोरिया मात्रै कम्युनिस्ट मुलुकको अस्तित्व रक्षाका साक्षी बसे। सन् १९२७ देखि १९५३ सम्मको ३६ वर्ष सोभियत सङ्घमा स्टालिनवाद फक्रियो। प्रभु यशु ख्रिष्टले एउटा उन्नत शासकीय–सामाजिक प्रणालीका रूपमा आफ्ना अनुयायीलाई ‘यही राजनीतिक विचार आत्मसात् गर्न’ हौसाएका थिए। हुन त कम्युनिज्मको सैद्धान्तिकीकरण भइसकेको सय वर्ष नाघिसक्दा कम्युनिज्म गिर्जाघर पसेको पनि लामै समय भइसकेको छ।

विश्व कम्युनिज्म हुर्किंदै गर्दा कतिपय मुलुकमा त कम्युनिज्मको सैद्धान्तिकीकरण नै यसरी भइदियो कि यसको वैचारिक आत्मा मानेको वर्ग संरचनाको अस्तित्व नै पनि स्वीकार गरेन। नेपालका राजनीतिक दलको राजनीतिक अभ्यासको आँखाबाट कम्युनिज्मलाई बुझ्ने हो भने आज अभ्यास गर्दै गरिएको कम्युनिज्मलाई ‘ठिमाह कम्युनिज्म’ हो अथवा यो कम्युनिज्मको खोल ओडेको कुनै आयातीत विचार मात्रै हो, जुन नेपालमा मौलिकीकरण हुनै सकेन वा जसलाई नेपालका दलले आजसम्म बुझेकै छैनन्। कम्युनिज्मको असली गुण विश्व राजनीतिबाट स्खलित हुँदै गर्दा यसले कालान्तरमा शासकीय खराबीको बदमानी समेत कमाउँदै आयो। 

खासगरी, कम्युनिज्मले धर्मलाई सामाजिक असमानताको मूल कारक मान्छ। एकैक्षण कम्युनिस्टकै आँखाबाट हेरौँ न, धर्मलाई समाजमा वर्गीय सत्ता निर्माण गर्नबाट रोक्ने धर्मको अर्को नाम नै खासमा कम्युनिस्ट हो। तर, कम्युनिस्ट शासकलाई राजनीतिक रूपमा जुन काम गर्नु पर्ने अभिभारा थियो त्यो काम गरिएन। फलतः राजनीतिक वैधानिकीकरणमा ह्रास आउने भइहाल्यो। नेपालमा हालको कम्युनिस्टलाई सिद्धान्ततः ‘कम्युनिस्ट’ को कसीमा राखेर तिनीहरूको गुण जाँच्ने हो भने नेपालमा ‘कम्युनिस्ट’ नामको राजनीतिक दल नै छैनन्। यस विषयमा बढी जानकार त तिनै छन्, जसले आफूलाई कम्युनिस्ट मान्दै आएका छन्। नेपालका ‘कम्युनिस्ट’ त कम्युनिस्टजस्ता कुनै पनि कोणबाट देखिँदैनन्। बरु गैरकम्युनिस्ट नै बढ्ता कम्युनिस्ट देखिन्छन्। कम्युनिस्टले जुन काम गर्नुपर्ने थियो उक्त ‘सैद्धान्तिक कार्यभार’ अन्य कुनै दलले थामिदिएको भएर पनि होला नेपालका कम्युनिस्टलाई कम्युनिस्ट बनिरहनु पर्ने उतिसारो बाध्यात्मकता पनि रहेन। नेपालमा पछिल्लो शासकीय विरोधाभास त के देखियो भने, नेपालका ‘कम्युनिस्ट’ लाई लोकतान्त्रिक विधि स्थापनार्थ सडकमा उत्रिनुपर्ने टिठलाग्दो अवस्था पनि आइलाग्यो।

लोकतन्त्र र कम्युनिज्मको समानान्तर शासकीय अभ्यासले विरोधाभाषको भाषा बोल्छ। किनभने कम्युनिज्मले पखेटा फैलायो भने लोकतन्त्र त्यसको आहार बन्छ भन्ने बुझाइ स्थापित छ। हुन पनि सामाजिक–आर्थिक शासकीय सुधार अब उनीहरूको चुनावी एजेन्डामा पुगेर अडियो, राजनीतिक साध्य रहेन। विश्वका असली भनिएका कम्युनिस्टले बुझ्दै र बुझाउँदै आएको मूल राजनीतिक सिद्धान्त पनि अब उनीहरूको रहेन। राष्ट्रवाद पनि अन्ततोगत्व सत्ता प्राप्तिको एउटा ‘ललिपपे एजेन्डा’ थियो भन्ने पुष्टि भइसकेको छ। त्यसो त, नेपालका कम्युनिस्ट गैरकम्युनिस्ट बढ्ता देखिँदा गैरकम्युनिस्टलाई बेफाइदा त भएको होला। तर यसको सबैभन्दा बढ्ता घाटा त कम्युनिस्टलाई नै भएको छ। ‘कम्युनिज्म’ नेपालको शासकीयतामा चामत्कारिक हिसाबले संस्थागत हुन थालेको थियो तर सत्तामोहको कारण त्यो अवस्था स्खलित भइदियो वा अवसर गुमायो। 

आज कम्युनिज्म अभ्यास भएको विश्व समाजमा कम्युनिस्ट सिद्धान्तले व्याख्या गरेजस्तो आर्थिक असमानताको फाँचमा कमी आएको छैन। बरु उक्त आयतन तन्किँदै र फैलिँदै गएको देखिन्छ। यसरी कम्युनिज्मको सैद्धान्तिक गुण कमजोर हुँदै जानुको सबैभन्दा बढ्ता दोष चाहिँ उनीहरूकै हो। किनभने, शासकीय सुशासन अभ्यासका निम्ति नैतिकतामा आधारित शासकीय सशक्तीकरण र आत्म अनुशासन कम्युनिज्मका अनिवार्य सर्त अब रहेनन्। कम्युनिस्ट शासकको दबदबा रहेका मुलुकमै हुनुपर्ने सुशासनका हरित सूचकउपर ‘रातो घेरा’ लाग्दै भ्रष्टाचारको ‘ग्राफ’ अनपेक्षित रूपमै उकासिनुलाई पक्कै पनि शासकीय संयोग मात्रै मानिदिने छुट छैन। कम्युनिज्म अभ्यासरत मुलुकलाई हेर्ने हो भने तिनै मुलुकमा ‘क्रोनी क्यापिटालिज्म’ सबैभन्दा बढ्ता फस्टायो। तर, आजका ‘कम्युनिस्ट’ आफू त्यही ‘खाँटी कम्युनिस्ट’ नै भएको मिठो स्वैरकल्पनामा रमाउन भने छोडेका छैनन्, छोड्नवाला पनि छैनन्।

त्यसो त सिद्धान्त र वैचारिकीको ‘आधुनिकीकरण’ सँगै विश्व कम्युनिज्म जतिजति ‘लोकतान्त्रिक’ बन्दै गयो त्यही अनुपातमा शासकीय वैधानिकीकरणको कसी कम्युनिस्ट अक्षम साबित हुँदै आए। नेपाली संस्करणको ‘कम्युनिज्म’ को अभ्यासलाई अलि नजिकैबाट नियालियो भने कम्युनिस्ट भइदिनु पर्ने वा कम्युनिस्ट बन्नै पर्ने दलको त कम्युनिस्टीकरण नै भएको रहेनछ। बरु, कम्युनिस्टजस्तो देखिनै नहुने दलचाहिँ कम्युनिस्टजस्ता देखिन पुगेछन्। नेपाली कम्युनिस्टको त भव्य ‘प्याराडाइम सिफ्ट’ भइसकेको छ। एउटा उदाहरण हेरौँ न, सिद्धान्ततः कम्युनिस्टहरू निजी सम्पत्तिको विपक्षमा हुनुपर्ने हो तर विरोधाभास के भइदियो भने, नेपाली कम्युनिस्टमा निजी सम्पत्ति मोह यतिविघ्न देखियो कि आजसम्म भ्रष्ट ठह¥याउँदै आएका अन्य दललाई समेत उनीहरूले उछिने। आजसम्म जसलाई सबैभन्दा बढ्ता अनैतिक ठान्थे, आज 

तिनैलाई माथ गरेर कम्युनिस्ट सबैभन्दा बढ्ता नैतिक रूपले स्खलित भएका छन्।

नेपालको हकमा त कम्युनिस्ट शासनमै हो मुलुकको भ्रष्टाचारको दर उकालिएको। नेपालका कम्युनिस्टको शासकीय प्राथमिकतामा आफ्नो राजनीतिक मूल एजेन्डा पर्दैन। बरु, उनीहरूको दलीय आन्तरिक शक्ति सङ्घर्षको मूल्य मुलुकी शासनले पटक पटक चुकाउनु परेको छ। सैद्धान्तिक गुणमा आएको ह्रासका कारण मुलुकी व्यवस्था नै पश्चगमनतर्फ धकेलिनु उनीहरूको अक्षमताको द्योतक हो। तसर्थ, मध्ये बीसौँ शताब्दीमा शासकीय दबदबाको सौन्दर्यमा रमाएको कम्युनिस्ट शासन आफ्नो अक्षमताको कारण मूलधारको विश्व शासनबाट बहिर्गमनको 

वायुपङ्खी चढेर ओरालिँदै गर्दाको परिदृश्य स्वयं ‘आजका कम्युनिस्ट’ ले नै निम्ताएका हुन्। उनीहरूले नै रुचाएको ‘सैद्धान्तिक परिष्करण’ नै यसको कारक हो। अर्थात् कम्युनिज्मको वैचारिकतामा भएको विचारको स्खलन अनि सैद्धान्तिकताको ह्रासले निम्ताएको शासकीय खराबीले नै विश्व शासकीय तामझामबाट कम्युनिस्ट शासनको सौन्दर्य उजाडिएको हो।