बासुलिङ समाचारदाता
बैतडी, जेठ २५ गते । कुनै बेला पहाडका घरैपिच्छे आँगनमा हलगोरु बाँधिएका हुन्थे । झिसमिसेमै उठेर घरका महिला गोरुलाई घाँसपात खुवाएर जोत्न तयार गर्थे । परिवारका पुरुष सदस्य घाम नलाग्दै गोरु डोर्याउँदै खेतबारी पुगिहाल्थे । अचेल यहाँ गाउँमा मुस्किलले एकाध घरमा मात्र गोरु पालेको देख्न सकिन्छ ।
पछिल्लो समय बैतडीका किसान गोरु पाल्न छाडेर खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग थालेका छन् । युवा जनशक्ति रोजगारीका साथै पढाइ र अन्य कामका लागि बाहिर जाने क्रम बढेसँगै गोरु पाल्ने चलन कम हुँदै गएको हो । अचेल हरेक टोलमा हाते ट्याक्टर ल्याइएको छ ।
वर्षभरि गोरु पाल्न समस्या हुने भएकाले पनि किसानले ट्याक्टरको विकल्प सहज देखेका हुन् । गोरु पाल्न छाडेपछि गोठालो जान हरेक दिन एक जना खटिनु्पर्ने झन्झट नभएको र त्यो समय घरको अरू काममा दिन पाएको सुर्नया गाउँपालिका–२ का अगुवा किसान मोहनबहादुर विष्ट बताउनुहुन्छ । “गोरु पाल्दा गोबर मलको फाइदा भए पनि एक जना सधैँ खटिनु पर्दा साह्रै झन्झट हुन्थ्यो,” उहाँले भन्नुभयो, “हाते ट्याक्टर चाहेका बेला प्रयोग गर्न सकियो । डिजलबाहेक खासै खर्च पनि छैन । सस्तो र सजिलो हुँदा अचेल धेरै घरमा गोरु बेचेर ट्याक्टर किन्न थालिएको छ ।”
मिनी ट्याक्टर नभएका किसानले डिजल खर्चबाहेक एक हजार पाँच सय रुपियाँ ज्याला दिएर छरछिमेकबाट माग्ने गरेका छन् । हरेक गाउँमा ट्याक्टर किनेरै धेरैले मौसमी रोजगारी पनि पाइरहेको सुर्नया गाउँपालिका–३, का अर्का किसान रामदत्त भट्टले बताउनुभयो ।
“आफूले चाहेको समयमा ट्याक्टरको प्रयोगमार्फत खेतबारी जोत्न सकिने भएकाले श्रम र समय दुवैको बचत हुनुका साथै कम खर्चिलो भएको छ,” उहाँले भन्नुभयो, “दुई/चार रोपनी जग्गामा जोत्नकै लागि वर्षभरि एक हलगोरु पाल्दाभन्दा दुई दिन ट्याक्टर धनीलाई ज्याला दिएर जोत्नु धेरै सस्तो भइरहेको छ ।” पाटन नगरपालिका–३ का दीपकबहादुर चन्दले ‘गाउँमा युवा नहुँदा धेरै सिँचाइ हुने जग्गा पनि बाँझो हुँदै गएकोमा ट्याक्टरको प्रयोगले राहत मिलेको बताउनुभयो ।
हाते ट्याक्टरको माग बढेपछि पछिल्लो समय स्थानीय तह र अन्य सरकारी निकायले पनि किसानलाई हाते ट्याक्टर वितरण गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले जिल्लामा ट्याक्टरको माग धेरै नै भइरहेको बताउनुभयो । बैतडीमा वार्षिक एक हजार जति ट्याक्टरको माग हुने गरेको उहाँले बताउनुभयो । तीन वर्षयता ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा १५० भन्दा बढी हाते ट्याक्टर वितरण गरेको कार्यालय प्रमुख जोशीले बताउनुभयो ।
जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहले पनि अनुदानमा ट्याक्टर वितरण गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मात्रै तीन वर्षमा दुई सय वटा हाते ट्याक्टर वितरण गरेको बैतडीकी परियोजना इन्चार्ज भानाकुमारी भट्टले बताउनुभयो ।
सुर्नया गाउँपालिकाले चालु आवमै किसानलाई बारी खनजोत गर्न सजिलो होस् भन्ने उद्देश्यले ५३ वटा हाते ट्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिनुभयोे ।