गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २५ गते । विश्व वातावरण दिवसको अवसर पारेर तारागाउँ कल्चरल सेन्टरमा ‘एट दी टिपिङ पोइन्टः आर्ट एन्ड इकोलोजी फ्रम दी रूफटप अफ द वल्र्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ । सगरमाथा नेक्स्टले सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरेको प्रदर्शनीलाई चर्चित भारतीय कला इतिहासकार डा. अर्सिया लोखान्डवालाले संयोजन गर्नुभएको छ ।
लोखान्डवालाले विश्वव्यापी परिस्थितिको आवश्यकतालाई मध्यनजर गर्दै प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले प्रदर्शनीमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गरिएको छ । प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ नामक प्रस्तुति दिएको थियो ।
प्रदर्शनीमा १२ जना नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारले वातावरणीय सङ्कटमाथि विविध दृष्टिकोण प्रस्तुत गरेका छन् । स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाएको छ । प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेको छ ।