पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असार ३१ गते । पश्चिम नवलपरासीको सुस्ता ५ स्थित ठाढीघाट (अनोमाघाट०) लाई हालै नेपाल पर्यटन बोर्डले प्रबज्या स्थल घोषणा गरेपछि यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने अपेक्षासहित निजी क्षेत्रमा उत्साह छाएको छ ।
नेपाल पर्यटन बोर्डको यो घोषणाले बौद्ध धर्मावलम्बीहरूका लागि एक नयाँ पर्यटकीय गन्तव्यका रूपमा अनोमाघाटलाई विकास तथा प्रवर्धन गर्ने मार्ग प्रशस्त गरेको छ । उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओम प्रकाश अग्रहरीको नेतृत्वमा निजी क्षेत्रको टोलीले अनोमाघाटको अवलोकन गरी यसको विकासबारे चासो व्यक्त गरेका छन् ।
अध्यक्ष अग्रहरीले उद्योग वाणिज्य संघको कार्यसमितिले यस निर्णयलाई स्वागत गर्दै यसलाई पर्यटन उद्योगका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले पत्रमार्फत पर्यटन बोर्डलाई आभार व्यक्त गरेको जानकारी गर्दै आगामी दिनमा अनोमाघाटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सबै सरोकारवालाहरू एकजुट हुन आग्रह गर्नुभयो ।
अग्रहरीका अनुसार, लुम्बिनी बाट सञ्चालन हुँदै आएको बौद्ध तीर्थयात्रीको विद्युतीय बस सेवालाई अनोमाघाटसम्म विस्तार गर्न पहल गरिनेछ । उहाँले अनोमाघाटलाई बौद्ध तीर्थस्थल र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्नेमा जोड दिनुभयो ।
उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश समिति का पूर्व अध्यक्ष गुणनिधि तिवारीले अनोमाघाटको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले यस स्थानलाई विश्वसामु चिनाउन सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभयो ।
अनोमाघाटको ऐतिहासिक र धार्मिक महत्त्व गहिरो छ । धार्मिक विश्वासअनुसार, सिद्धार्थ गौतम ले राजसी जीवन त्यागेर ज्ञानको खोजीमा निस्कँदा अनोमाघाटमै केश मुण्डन गर्नुभएको थियो । यो स्थान अनोमा नदी (नारायणी नदी) को किनारमा अवस्थित छ । किंवदन्तीअनुसार, सिद्धार्थ गौतमले ज्ञानको खोजीमा निस्कँदा कोलिय राज्यको अन्तिम सीमा अनोमा नदी किनारमा पुगेपछि उहाँको घोडा ‘ठढा’ भएको थियो, जसका कारण यस स्थानलाई स्थानीय स्तरमा ‘ठाढीघाट’ भन्न थालिएको हो ।
यस घोषणा र यसको प्रवर्धनका लागि स्थानीय निकाय र निजी क्षेत्रको सहकार्यले अनोमाघाटलाई विश्वसामु एक महत्त्वपूर्ण बौद्ध तीर्थस्थलका रूपमा स्थापित गर्न मद्दत पुग्ने देखिन्छ ।