साहारा लिम्बू
फुङलिङ, असार ३१ गते । ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा निःशुल्क पढाउने भएको छ । सिरिजङ्घा गाउँपालिका–१ मा रहेको उक्त विद्यालयले निःशुल्क पढाउने भएको हो ।
सिनाम माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन विषयको पढाइ हुने प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले बताउनुभयो । एक सय छात्र र एक सय छात्रा गरी दुई सय विद्यार्थीले बस्ने सुविधा पनि निःशुल्क पाउने गौतमको भनाइ छ ।
विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रवास भवन रहेको छ । विद्यार्थीलाई निःशुल्क पढाउन हिमाली छात्रवासका नाममा सङ्घीय सरकारले २० जनालाई सहयोग गरेको छ । यस्तै सिरिजङ्घा गाउँपालिकाले पनि निःशुल्क शिक्षाका लागि केही रकम छुट्याएर सहयोग गर्दै आएको प्राधानाध्यापक गौतमले बताउनुभयो ।
यस विद्यालयमा तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ र आइएसईएजी विषयको पनि पढाइ हुन्छ । एसइईमा नन ग्रेडिङ ल्याउनेका लागि १८ महिने सिभिल इन्जिनियरिङ र कृषितर्फ जेटीएको पढाइ हुँदै आएको छ । सिभिल इन्जिनियरिङ र आइएससिएजीका लागि पनि प्रति सेमेस्टर १२ हजार ५ सय मात्रै शुल्क रहेको विद्यालयले जनाएको छ ।
सङ्घीय सरकारले यसलाई नमुना विद्यालय घोषणा गरेको छ । यसले विज्ञानका लागि लाइब्रेरी, भवन लगायतको सहयोग पुगेको छ । यस्तै छात्रवास र विद्यालय भवनका लागि भारतीय दूतावास र गाउँपालिकाले सहयोग गरेका छन् ।
हिमाली छात्रवासमा छनोट भएका २० जनाले चाहिँ खाना पनि निःशुल्क पाउने प्रधानाध्यापक गौतमले बताउनुभयो ।