खलङ्गा समाचारदाता
जाजरकोट, जेठ २५ गते । जाजरकोटको शिवालय गाउँपालिकाले चिया खेती विस्तार गरेको छ । शिवालय गाउँपालिका अन्तर्गत कृषि विकास शाखाले माटो परीक्षण गरी वडा नं २, ४ र ५ का लेकाली भेगमा चिया खेतीको सम्भावना देखेपछि विस्तार गरेको हो । यससँगै शिवालय गाउँपालिकाले कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये चिया खेती सुरु गर्ने पहिलो स्थानीय तह भएको छ । गत वर्ष झापाबाट छ हजार बिरुवा खरिद गरी गाउँपालिकाले चिया खेती विस्तार गरेको थियो । गाउँपालिकाले चिया खेती गर्न थालेका किसानलाई मल, पानी, बगैँचा व्यवस्थापन, काँटछाँट गर्न यससम्बन्धी तालिमसमेत दिएको छ ।
गाउँपालिकाका कृषि विकास शाखाका प्राविधिक विश्वामित्र शर्माका अनुसार त्यस क्षेत्रका ३५ घरपरिवारले करिब २५ रोपनीभन्दा बढी सार्वजनिक जमिनमा सामूहिक चिया खेती गरेका छन् । चियाका बोट उम्रिएपछि सर्वसाधारण व्यक्तितगत रूपमा चिया खेती गर्न इच्छुक भएको उहाँले बताउनुभयो । शिवालय गाउँपालिका–२, लयकाँडाकी कस्तुरासिंह ठकुरीले चियाका बिरुवा ल्याएर लगाउँदा राम्रो हुन थालेपछि आकर्षण बढेको बताउनुभयो । शाखाले दिएको चिया खेती प्रवर्धनसम्बन्धी तालिमपछि धेरै सिक्ने अवसर मिलेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँबस्तीका जनता मिलेर सार्वजनिक पाखोमा सामूहिक खेती गरेको र यस वर्ष निजी जमिनमा चिया लगाउन कृषि विकास शाखासँग बिरुवाको माग गरिएको छ ।