• ११ मंसिर २०८१, मङ्गलबार

गठबन्धनका बिसीविरुद्ध नेकपा एसका खाणको उम्मेदवारी कायमै

blog

गठबन्धनका नेपाली काँग्रेसका कृष्ण बिसी र नेकपा(एस) का टेकबहादुर खाण । तस्बिर – कमल शर्मा

कमल शर्मा

दैलेख,असोज २७ गते । सत्ता गठबन्धनबाट दैलेख निर्वाचन क्षेत्र न. १ का प्रदेशसभा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका पूर्वपार्टी सभापति कृष्ण बहादुर बिसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य टेकबहादुर खानको उम्मेदवारी कायम रहेको छ । उम्मेदवारको मनोनयन फिर्ता लिने समयसम्म मनोनयन फिर्ता नलिएपछि खाणको उम्मेदवारी कायम छ । 


दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा रहेको दैलेखमा दैलेख निर्वाचन क्षेत्र न. १ एकीकृत समाजवादीको भागमा परेको थियो । एक प्रतिनिधि सभा र तीन प्रदेश सभा नेपाली काँग्रेस र एक प्रदेश सभा माओवादी केन्द्रको भागमा परेको थियो ।


दैलेख निर्वाचन क्षेत्र न‌ं १ को प्रतिनिधि सभा सदस्यमा अम्मरबहादुर थापाले टिकट पाएको र आफ्नो हकहितका लागि नबोलेको भन्दै आक्रोशित हुनुभएका केन्द्रीय सदस्य टेकबहादुर खाणले गठबन्धनबाट प्रदेश सभा(ख) मा उम्मेदवार बन्नुभएका कृष्ण बिसीविरुद्ध उम्मेदवारी दिनुभएको थियो । 


नेपाली काँग्रेसको भागमा परेको प्रदेश सभामा नेकपा एसले बागी उम्मेदवारी हालेपछि नेपाली काँग्रेसका नेताहरू एकीकृत समाजवादीका पार्टीसँग रिसाएका छन् ।


२०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा मध्यपश्चिममा रहेका १५ जिल्ला मध्ये एक मात्र निर्वाचन क्षेत्र जितेको दैलेख निर्वाचन क्षेत्र न. १ मा आफ्नो सहयोगमा प्रतिनिधि सभा नेकपा एकीकृत समाजवादीलाई दिँदा समेत आफूहरूमाथि धोका दिएको काँग्रेसका नेताहरूले बताएका छन् । 


नेपाली काँग्रेसबाट पनि प्रतिनिधि सभामा उम्मेदवार बनेपछि गठबन्धनदलहरुमा विवाद सिर्जना भएको छ । नेपाली काँग्रेसको जनमत हुँदाहुँदै २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिएको र अहिले एमाले विभाजन हुँदा समेत नेपाली काँग्रेसले उम्मेदवारी नदिएको भन्दै नेपाली काँग्रेसका निरखबहादुर थापाले समेत बागी उम्मेदवारी दिनुभएको छ । 


उम्मेदवारी मनोनयन फिर्ता नलिएपछि दैलेख निर्वाचन क्षेत्र न. १ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिनुभएका गोपाल नेपाली र निरखबहादुर थापालाई निर्वाचन चिन्ह समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको छ । गोपाल नेपालीले खरायो चुनाव चिन्ह प्राप्त गर्नुभएको छ भने निरखबहादुर थापाले माछा चुनाव चिन्ह प्राप्त गर्नुभएको छ ।


त्यस्तै, प्रदेश सभा (क) मा उम्मेदवारी दिनुभएको चित्रबहादुर खत्रीले ‘पानीको धारो’ र प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवार टेकबहादुर खाणले ‘ठेकी’ दैलेख निर्वाचन क्षेत्र नं २ को (क) प्रदेशमा स्वतन्त्र उम्मेदवार दिनुभएको पुरुषोत्तम रिजालले ‘बिजुलीको बल्ब’ चुनाव चिन्ह प्राप्त गर्नुभएको छ ।


अघिल्लो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र न. १(क) प्रदेश सभा सदस्यमा नेकपा उम्मेदवार धर्मराज रेग्मीसँग पराजित हुनुभएको थियो ।