• ११ मंसिर २०८१, मङ्गलबार

मुख्यमन्त्रीसहितको टोली पहिरोपीडितलाई भेट्दै

blog

मुख्यमन्त्रीसहितको टोली पहिरोपीडितलाई भेट्दै

सुजल श्रेष्ठ

प्युठान, असोज २७ गते । पहिरोले बढी क्षति भएको जिल्लाका दुई स्थानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ । वर्षाले बढी क्षति पुगेको माण्डवी गाउँपालिका–२ धनचौर र ऐरावती गाउँपालिका–४ तिग्रापातालको बस्तीमा पुगेर टोलीले अवलोकन गरेको हो ।

बुधबार बेलुका अबेरसम्म मुख्यमन्त्री केसीले धनौचौरको पहिरोबाट विस्थापित भएका घरपरिवारको अवस्था बुझ्नुभएको हो । माण्डवी गाउँपालिका–२ को पुकरुक, धनचौर बस्तीमा पुगेर विस्थापित परिवारलाई भेट गर्नुभएको छ ।


घटनास्थलको अवलोकन पछि मुख्यमन्त्री केसीले पहिरो गएको ठाउँको भौगोलिक अवस्थाबारे भूगर्भविद्लाई ल्याएर अध्ययन गरिने बताउनुभयो । त्यस स्थानमा बस्न मिल्ने / नमिल्ने अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँको भनाइ छ ।

घटनास्थलमा पुग्नुभएका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले पहिरोपीडित तथा विस्थापितलाई स्थानीय सरकारसँगै प्रदेश सरकारले थप राहत उपलब्ध गराउने बताउनुभएको छ ।

मुख्यमन्त्रीसहितको टोली तिराम–बंगलाचुली–पुकरुकको बाटो भएर घटनास्थल पुगेको थियो । आइतबार गएको पहिरोले धनचौरमा आठ घर पूर्ण रूपमा क्षति भएका छन् । ४९ घर पहिरोका कारण विस्थापित भएका छन् ।


आज बिहान मुख्यमन्त्री केसीले ऐरावती–४ तिग्रापातलको बस्तीमा पुगेर अवस्था बुझ्नुभएको छ । साथै पहिरोबाट विस्थापित परिवारसँग भेट गर्नुभएको छ ।

जिल्लामा लगातारको वर्षातले जिल्लाभर ८६ घर पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत मेघराज सोनीले जिल्लाभर १३८ घर अझै जोखिममा रहेको जानकारी दिनुभयो ।

वर्षाका कारण पहिरो र खोलामा बगेर आठ जनाको ज्यान गएको उहाँले बताउनुभयो ।