• १२ साउन २०८१, शनिबार

कोजाग्रत अर्थात् ‘को जागेको’ छ

यस्तो छ महत्व : दशैं सकियो, तिहार सुरु भयो

blog

काठमाडौं, असोज २४ गते । दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भन्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ । कोजाग्रत पूर्णिमाको दिन देवी महालक्ष्मीको पूजा आराधना गरी रातभरि जाग्राम बसेर पूर्णिमाको दिन समापन गर्ने परम्परा पुरानै हो । 

यो दिनलाई शरद पूर्णिमा पनि भन्ने चलन छ । कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि आकाशदीप समेत बाल्ने परम्परा छ । आज भक्तजनहरू स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर रातभर जाग्राम बस्ने गर्छन् । 

संस्कृतिविद् ओम धौबडेल भन्नुहुन्छ, “कोजाग्रत पूर्णिमा दशैंको अन्तिम दिन हो । तर यसलाई तिहारको पहिलो दिन भन्न सकिन्छ । आजको दिनदेखि तिहार सुरु भएको मानिन्छ । आजको दिनमा जसको घरमा बत्ती बलेको छ वा जसले लक्ष्मी मातालाई भक्तिभाव गरी रातमा घर झिलिमिली बनाएको छ उसकै घरमा लक्ष्मीले बास गर्ने विश्वास रहेको छ ।" 

कोजाग्रत पूर्णिमा दशैंको अन्तिम दिन हो । तर यसलाई तिहारको पहिलो दिन भन्न सकिन्छ । आजको दिनदेखि तिहार सुरु भएको मानिन्छ ।

कोजाग्रत अर्थात् ‘को जागेको’ छ । आजको दिन लक्ष्मीको पूजा आराधना गर्ने र यो दिनमा देवी महालक्ष्मीले पृथ्वीको भ्रमण गरी ‘को जागेको छ’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्ने धौबडेलको भनाइ छ ।  

नेवारी भाषामा कोजाग्रत पूर्णिमालाई ‘कत्ति पूर्णिमा’ भन्ने चलन छ । नेवार समुदायमा भने आजदेखि आकाशदीप बाल्ने चलन रहेको छ । कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म अर्थात् एक महिनासम्म साँझ घर–घरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान् विष्णुको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । 

शरद ऋतु सुरु भएसँगै छिट्टै अँध्यारो हुने र पशुपन्छी बाटो नबिराओस् भन्दै यो बत्ती बाल्ने परम्परा रहेको उहाँको भनाइ छ । “आजदेखि १६ लक्ष्मीहरूलाई पूजा गर्न सुरु गरिन्छ । प्रत्येक दिन एक–एक जना लक्ष्मीलाई पूजा गरेर १६ औँ दिनमा महालक्ष्मी पूजा गरिन्छ,” उहाँले भन्नुभयो, “अर्थात् आजको १६ दिनपछि लक्ष्मीपूजा हो । पहिले पहिले प्रत्येक दिन लक्ष्मीपूजा गर्ने र १६ औँ दिनमा महालक्ष्मीको पूजा गर्ने गरिन्छ ।” 

संस्कृतिविद् रामहरि जोशीका अनुसार कोजाग्रत पूर्णिमाबाट बाल्न सुरु गरिने आकाशदीपबारे अनेकौँ विश्वास तथा लोक कथाहरू छन् । यो भूतप्रेतहरूबाट रक्षा तथा पितृहरूको मार्गदर्शन हो । 

संस्कृतिविद् रामहरि जोशीका अनुसार कोजाग्रत पूर्णिमाबाट बाल्न सुरु गरिने आकाशदीपबारे अनेकौं विश्वास तथा लोक कथाहरू छन् । यो भूतप्रेतहरूबाट रक्षा तथा पितृहरूको मार्गदर्शन हो । 

यस्तै, उहाँ भन्नुहुन्छ, “आकाशदीपबारे एक अर्को पनि विश्वास पाइन्छ । प्राचीनकालमा व्यापारी वा अन्य मानिसहरू विशाल समुद्र पार गरेर देश विदेशमा व्यापार गर्ने र अन्य प्रयोजनहरूको लागि जाने गर्थे । तिनीहरू प्रायः कात्तिकमा फर्कन्थे । यसरी तिनीहरूको मङ्गल कामनाका लागि प्रतीक रूपमा नारीहरूले आकाशदीप बाल्दथे ।”

आकाशदीप बाल्ने परम्पराको आश्विन महिनामा सम्पन्न हुने दशहराको उत्सवसित घनिष्ठतम सम्बन्ध रहेको जोशीको भनाइ छ । दशहराको उत्सव दानवी प्रवृत्तिमाथि मानवीय या दैवीशक्तिको विजय अर्थात् अन्धकारमाथि प्रकाशको प्रभुत्व स्थापित भएको अवसरको स्मृतिको प्रतीक स्वरूप थियो ।यस्तै, कोजाग्रत पूर्णिमाको दिन भक्तपुरको नवदुर्गा भवानीको दर्शनका लागि राष्ट्रपति पुग्ने र प्रसाद लिने चलन छ ।