साहारा लिम्बू
फुङलिङ, मङ्सिर ४ गते । ताप्लेजुङमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका छन् । नेपाल नत्र ज्योति सङ्घको आयोजनामा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा तीन दिन सञ्चालन भएको निशुल्क शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका हुन् ।
शिविरमा २ सय ६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमार्फत १ हजार ६ सयभन्दा बढीले परीक्षण तथा उपचार सेवा पाएका छन् । तीमध्ये २ सय ६ जनाको मोतियाबिन्दुको र ३ जनाको साधारण शल्यक्रिया गरिएको छ ।
विश्व विख्यात नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा सम्पन्न भएको शिविरमा डाक्टर रुइतले ७९ तथा सन्दुकका छोरा डाक्टर सागर रुइतले १ सय ३० जनाको आँखाको शल्यक्रिया गर्नु भएको गुरुङको भनाइ छ । सन्दुक र सागर बाबु छोराले एकैदिनमा १ सय ७ जनाको आँखाको शल्यक्रिया गर्नुभएको थियो ।
कात्तिक २९ देखि सुरु भएको परीक्षण तथा उपचार शिविर मङ्गलबार सकिएको थियो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको मुख्य आयोजना तथा तिलगङ्गा आँखा अस्पताल, रुइत फाउण्डेसन, सेवा फाउण्डेसन र फुङलिङ नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङले जनाएको छ ।