• ४ मंसिर २०८२, बिहिबार

पर्यटकको पर्खाइमा हिलेसिद्ध बाबा

blog

गुल्मीको प्रसिद्ध हिले सिद्धबाबा । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), मङ्सिर ४ गते । गुल्मीको सत्यवती गाउँपालिका-३, ठुलोलुम्पेकको हिलेसिद्ध क्षेत्र थुप्रै धार्मिक सांस्कृतिक पर्यटनको सम्भावना बोकेको ठाउँ हो । लुम्पेक प्राकृतिक रूपमा उच्च पहाडी क्षेत्रमा छ । चिसो हावापानी, जनजाती बसोवास, सांस्कृति र रहनसहनसहित महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदाले ठुलोलुम्पेक भरिपूर्ण छ ।

हिलेसिद्ध बाबा क्षेत्र ऋषिमुनि तथा महात्माहरूले सिद्धि प्राप्त गरेको तपोभुमि हो । हिलेसिद्ध बाबा ज्योतिष समेत भएकाले २०३६ सालमा तत्कालिन राजा विरेन्द्रले समेत निर्दल की बहुदल भनेर हेराउन आएको दाबी स्थानीयले गरेका छन् । 

ठुलोलुम्पेक, हर्मिचौर, जयाखानी र अर्वेनीको शिरमा रहेको हिलेसिद्धमा ठुलो सिद्धशिला रहेको छ । सदियौँदेखि विशेषगरी बालाचतुर्दशीको दिन दुध धार दिने र परेवा उडाई भाकल गर्ने र सतविज छर्ने प्रचलन छ । वालाचतुर्दशीको दिन ठुलो मेला पनि लाग्दछ । हिलेसिद्धका जानकार तथा सत्यवती गाउँपालिका-३ का वडाध्यक्ष जितबहादुर तरामुका अनुसार हिलेसिद्ध बाबा मेलामा करिब सत्तरी वर्ष पहिले भारतीय तपश्वी ब्राम्हणले जमिन तल २२ दिनसम्म निरहार गुप्तवास गरेका थिए ।

त्यस समयबाट विशेष रूपमा वालाचतुर्दशीको दिन ठुलोलुम्पेक, जयखानी, अर्वेनी र हर्मीचौरका मानिसहरूले मेलाको रूपमा ऐतिहासिक परम्पराको प्रारम्भ गरेको तरामुले बताउनुभयो । हाल स्याङजाका एक जना युवा साधकले चारवर्ष देखि हिलेसिद्धमा तपस्या गरिरहेका छन् । यसभन्दा अघि पाल्पा बराङदीका दिनवन्धु घिमिरे र उहाँका पिताले छत्तिस वर्ष र स्याङ्जा गोखुङ्गाका ब्राहमणले तपस्या गरेको बुढापुरानाहरुले बताएको वडाध्यक्ष तरामुले बताउनुभयो ।

सत्यवती क्षेत्रभित्र पर्ने हिलेसिद्ध बाबाको विकासका लागि स्थानीय समुदायको सक्रियता र स्पष्ट सोँच र योजना विना आवश्यक छ । रिडी–रुद्रवेणी सडकबाट अस्लेवा हुँदै लुम्पेकसम्म सडक कालोपत्रेको काम अगाडि बढेकाले सत्यवती क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रूपमा विकास गर्न सकिने प्रसस्त संभावना रहेको सत्यवती गाउँपालिका प्रमुख टीकाराम पाण्डेले बताउनुभयो । उहाँले सडक निर्माणमा आफूहरूले पटकपटक निर्माण व्यवसायीलाई ताकेता गरेकाले लुम्पेक माथिका क्षेत्रहरूको अझै थप विकासमा पनि आवश्यक पहल गरिने बताउनुभयो ।

पूर्व सांसद तथा हिलेसिद्धबाबा क्षेत्र विकासका अभियान्ता शङ्कर पाण्डेले राजनीतिकभन्दा धार्मिक आस्थाले समुदायलाई एकताबद्ध बनाउन सके आन्तरिक विकास राम्रो हुने भएकाले हिलेसिद्ध बाबाको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । हिलेसिद्ध बाबामा कच्ची सडक, खानेपानी र विद्युत् पुगेको छ । तर, अझै स्तरीय सडकको खाँचो रहेको हिलेसिद्ध संरक्षण समिति अध्यक्ष याम सुस्लिङले बताउनुभयो । हिलेसिद्ध बाबा मेलामा माछापुच्छ्रे सोरठी समूहको मनमोहक सोरठी र हिलपार्क नौमति बाजा समूहले नौमती बाजा प्रस्तुत गरेको सुस्लिङले जानकारी दिनुभयो ।

मेलाको संयोजन गर्नु ठुलो लुम्पेकको १ नं. टोल विकास संस्था र लामथुडी हिलेसिद्ध आमा समूले गरेको थियो । मेलामा पूर्व सांसद शङ्कर पाण्डे, सत्यवती गाउँपालिका प्रमुख टीकाराम पाण्डे, उपप्रमुख निरमाया तरामु मगर, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालसहितको उपस्थिती रहेको थियो । लुम्बिनी प्रदेश सरकार र सत्यवती गाउँपालिकाको बजेटमा हिलेसिद्ध बाबासम्म मोटर बाटो पुगेको छ ।

सङ्घीय सरकारको बजेटमा बहुवर्षे योजना मार्फत लिफ्टिङ्ग खानेपानी २०-२५ जनाले एकै पटक हवन पूजा गर्न सक्ने हवनकुण्ड निर्माण गरिएको छ ।