• ४ मंसिर २०८२, बिहिबार

नेपाल बैँक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

blog

डोल्पा (ठुलीभेरी)  मङ्सिर ४ गते ।  नेपाल बैँक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । 

बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैँकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्नुहुँदै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैँकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैँकको उद्देश्य रहेको छ,” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैँकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राख्नुभयो ।  

ठुलीभेरी नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैँक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा  धन्यवाद व्यक्त गर्नुभयो । 

उहाँहरूले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन । बैँकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलार्ई  एटिएम कार्ड उपलब्ध गराउने जानकारी दिनुभयो । रासस