• १३ साउन २०८१, आइतबार

पहिरोमा परी चारको मृत्यु र तीनजना घाइते

blog

राजन रावत

हुुम्ला, असोज २४ गते । एक सातादेखि परिरहेको अविरल वर्षाको कारण आइतबार राति पहिरोमा घर पुरिँदा चार जनाको मृत्यु र तीन जना घाइते हुनुभएको छ । 

प्रमुख जिल्ला अधिकारी सीता परियारले चङ्खेली गाउँपालिका–६ को मासीधारा गाउँमा पहिरोले घर पुरिँदा एउटै परिवारमा चार जना सदस्यको मृत्यु र तीन जना घाइते भएको जानकारी दिनुभयो । मासिधाराको जनबाडा गाउँका देउच्या विकको घर पहिरोमा पुरिएको हो ।

घाइतेको उद्धारका लागि मेल्छाम र सर्केगार्ड प्रहरी घटनास्थल पुगेर उद्धार गरी स्वास्थ्य चौकी लगिएको र राति अबेर भएको र पानी परिरहेको कारण घरमा चेपिएका शव निकाल्न नसकिएको र आज बिहानबाट प्रहरी र स्थानीयवासीको सहयोगमा शव निकाल्ने कार्य जारी रहेको उहाँले बताउनुभयो ।

सदरमुुकाममा बत्ती, नेट र मोबाइल नेटवर्क नभएको कारण घटनाको बारेमा विवरण लिन पनि समस्या भएको उहाँले बताउनुभयो । घटनास्थल सदरमुकाम सिमकोटबाट दुई दिन पैदल लाग्छ । हवाई उद्धारका लागि प्रयास गर्दा मौसमले साथ दिएको छैन ।