• ११ मंसिर २०८१, मङ्गलबार

दलीय राजनीतिको अवसर

blog

पार्टी खोल्ने होडबाजी छ, बढी नै छ । धेरैको आकर्षण राजनीतिप्रति नै छ । यसैको भ-याङ चढेर धन, पद र शक्ति प्राप्त हुने गरेकाले सबै वर्ग, समूह, झुन्ड अनि तह र तप्काका जनसमूहबीच नेतृत्व हत्याउन सजिलो छ । राजनीतिक दलले नै पवित्र निर्वाचन प्रणालीलाई धुमिल तुल्याइरहेका छन् । नेताहरू पनि चुनावदेखि चुनावसम्मको यात्रामा मात्रै सीमित छन् । आफू, देश र जनतालाई यथास्थितिको भुमरीमा फसाइरहेछन् । परिवर्तनको प्राकृतिक बाटो रोकी देशलाई आफूअनुकूल घिसार्दै घुमाइरहेका छन् । 

विगतका निर्वाचनमा पनि स्वतन्त्रले छिटफुट नजितेका होइनन् । अहिले यसमा केही वृद्धि भएको छ । हालै स्थानीय तहमा १३ प्रमुख र अन्य ३८५ सदस्यले स्वतन्त्र रूपमै विजयश्री पहिरिए । यो दलीय राजनीतिका लागि सामान्य हुँदै होइन । जनताद्वारा स्थापित दल र दलका विश्वास प्राप्त उम्मेदवारलाई स्वतन्त्रले धेरै ठाउँमा कडा टक्कर दिएका छन् । धमाधम स्वतन्त्रको उम्मेदवारी घोषणा भइरहेको छ । यसको गम्भीर समीक्षा गर्ने ताकत पनि आज दलहरूमा छैन । सायद भित्र डराएका र बाहिर लज्जित छन् । एकअर्कालाई सराप्नु अनि अन्तर्घातको ट्याग लगाएर अनुशासनको नाममा फरक मतलाई दबाउनु नेपालका दलहरूको चुनावी समीक्षा बन्ने गरेका छन् । जनमुखी कामको समीक्षा दलहरूले कहिल्यै गरेनन् । यही भागबन्डा र चाकरीमा रुमल्लिएको दलीय राजनीतिले दलविहीनतालाई प्रश्रय दिएको हो ।

गत स्थानीय निर्वाचनले राजनीतिमा बचेखुचेको जातीयता, क्षेत्रीयता, धर्म वा भाषाका कुटिल विभाजनकारी पर्खाल पनि भत्काइदिएको छ । काठमाडौँको नेवारी घरभित्र मधेशी अनि सुनसरीको मधेशी समुदायमा पहाडीले नेतृत्व प्राप्त गरेका छन् । वैचारिक पृष्ठभूमि र सामाजिक धरातल भिन्न रहेका स्वतन्त्र अनुहारलाई जोडिदिएर जनताले विवेकको सही प्रयोग गरेका छन् । यो दलीयताको विकल्पको खोजी हो । यसको अर्थ जनता हाम्रोभन्दा राम्रोको खोजीमा छन् भन्ने हो । उनीहरू आफूलाई रैती होइन मालिक बनाउन उद्यत छन् । पार्टीबाट हैन परिवर्तन सही व्यक्तिकै नेतृत्वमा सम्भव छ भन्ने दिशातर्फ ज्वारभाटा उर्लिएको छ । सिद्धान्त वा वादको निरस व्याख्यान छाडेर व्यावहारिकतालाई उच्च महìव दिँदै छन् । वास्तवमा दलीय चिन्तन र वैचारिक बहस त्यतिबेला बेकाम हुन्छ जतिबेला जनता आधारभूत आवश्यकता पनि पूरा गर्न नसकी मृत्युवरण गरिरहेका हुन्छन् । आज नेपाली जनता समाजवाद, लोकतन्त्र, गणतन्त्र अनि राष्ट्रवादको बहसमा मात्र सीमित नरही प्रत्यक्ष काम र अनुभूतियोग्य परिवर्तन खोजिरहेका छन् ।

विगतका निर्वाचनभन्दा काठमाडौँ र धरानका प्रमुखको विजयले आर्थिक मितव्ययिता पनि प्रदर्शन गर्न सक्यो । करोडौँ खर्च गरेर नेतृत्वमा पुग्ने होडलाई तिनले आज मत्थर बनाइदिएका छन् । इमानदार तर गरिब उम्मेदवारले पनि जनविश्वास जित्न सक्छ भन्ने नजिर स्थापित गर्दै छन् । दलहरू आज पनि राम्रो खर्च गर्न सक्ने अनुहारकै खोजीमा छन् । मध्यम स्तरका नेता र कार्यकर्ता पैसा खर्च नगर्ने उम्मेदवारको प्रचारमै जान मान्दैनन् । सबै दल निर्वाचन आयोगसँग खर्च सीमा बढाइदिन गिडगिडाइरहेका हुन्छन् । पैसाले नै निर्वाचन जितिन्छ भन्ने सोचका कारण आज दलीय राजनीतिले इमानदार, त्यागी, वरिष्ठ तथा जनउत्तरदायी उम्मेदवार चयन नगर्दा विद्रोही नवचेतनाको उदय भएको हो ।

दलीय राजनीति यति अलोकप्रिय हुनुमा आफ्नै स्वार्थी र अदूरदर्शी काम पनि जिम्मेवार छन् । भौगोलिक र जानसाङ्ख्यिक दृष्टिले सानो तर एकताबद्ध सामाजिक संरचना रहेको नेपालले थेग्नै नसक्ने र आवश्यक नै नपर्ने हजारौँ पदाधिकारी, आसेपासे र कार्यकर्ता छन् । तिनमा पदीय महìवाकाङ्क्षा भरिएको छ । तिनले जसरी पनि नेतृत्वमा पुग्नु, कमाउनु वा पोस्नुपर्छ भन्ने सिकेका छन् । आज जातीय र वर्गीय मुक्तिको चाहनाले नभई पालिकादेखि केन्द्रसम्म पदीय लालचले तिनलाई नेता बनाइदिएको छ । आश्वासनका भरमा दल परिवर्तन हुन्छ । उचित व्यवस्थापन नहुँदा तिनमा विचलन आउँछ । पदमा पु¥याएपछि व्यक्तिगत स्वार्थ हाबी भइहाल्छ । राजनीतिले नै सबै क्षेत्र कब्जा गरेको हुँदा मूल नै अशुद्ध र अपवित्र भइदिएपछि आजको दलीय राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुनु स्वाभाविक पनि हो ।

झन् सिद्धान्त बेचेर निर्वाचनमा जानुपर्नेमा विचार नमिल्ने दलहरूका बीचमा गठबन्धन भएपछि जनता अन्योलमा छन् । कुनै दलको पनि स्पष्ट नीति, कार्यक्रम र योजना छैन । समय वा परिस्थितिलाई दोष दिँदै जुनसुकै दलबीच पनि गठबन्धन भइरहेको छ । मूल लक्ष्य बिर्सन्छन् । वामपन्थी, राजावादी, प्रजातन्त्रवादी, पुँजीवादी, जातिवादी तथा पृथकतावादी जो हुन् विपरीत नीतिधारीबीच कार्यगत एकता भइरहन्छ । राजनीतिले आदर्शलाई बचाउनै सकेन । समाजवादी आन्दोलनलाई कम महìव दिनु आजको दलीय विशेषता बन्न पुगेको छ । फुटाउने र फुट्ने, सत्तावरिपरि मात्र घुम्ने, वर्गीय शक्तिलाई मुख्य दुस्मन ठान्ने, अपवित्र साँठगाँठलाई ढाकछोप गर्ने अनि व्यक्ति पूजामा रुमलिने नेता कार्यकर्ताका नालायक चरित्रले नै आज दलीय राजनीतिलाई घृणित बनाउँदै लगेको हो । जनताको दलमाथिको भरोसा मक्किँदै गएको छ ।

निर्वाचनमा हिजो अँगालो मारी मत माग्न आउनेहरू आज दुस्मन बनी बाझिरहेको देख्दा त्यो निमुखो जनताको जिब्रो चलमलाउन थालेको छ । पानीपँधेरो, बाटोघाटो, उत्पादन–वितरण, शिक्षा, स्वास्थ्य, स्रोतसाधन आदिको निर्माण–सञ्चालनमा ठोस परिवर्तन आउन सकेको छैन । खानेपानी, यातायात, शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिक सुरक्षाजस्ता आधारभूत समस्या जस्ताको त्यस्तै छन् । हेर्दा हेर्दै देशमा आमूल परिवर्तन ल्याउँछन् भनी अन्धभक्त रहेका जनता आफ्ना नेता वृद्ध, रुग्ण र असक्षम बन्दै गएको देखेर निराश छन् । शीर्ष नेतामाथिको मोह भङ्ग हुन थालेको छ । सबै पदमा सेवानिवृत्त हुने तर राजनीति सर्वशक्तिमान हुनाले चितासम्म उनीहरूको सत्ता अकण्टक रहने प्रवृत्तिले जनतालाई सोच्न बाध्य बनाएको छ । असक्षम र अलोकप्रिय कदम चाल्ने र दललाई एकल नेतृत्वमा चलाउने प्रवृत्तिका कारण आज दलीय राजनीति अलोकप्रिय बनेको हो ।

दलहरूमा विकृतिका चाङ छन् जुन सहरी सचेत जनताले अलिकति बुझ्न थालेका छन् । यो चेतना सहरबाट गाउँ पस्दै छ । गत स्थानीय निर्वाचनमा जनताले सहरमा स्पष्ट रूपमा र गाउँमा मिश्रित रूपमा दलीय राजनीतिप्रतिको आक्रोश पोखिसकेका छन् । सूचना प्रविधिको सुदृढीकरणले यो चेतना द्रुत गतिमा फैलिँदै छ । पार्टी निर्णयको अवज्ञा गरी उम्मेदवार बन्ने, गठबन्धन गर्ने र मतदानलाई प्रभावित तुल्याउने कार्य भइरहेका छन् । जनता पनि चिल्ला भाषण सुन्ने, प्रत्यक्षमा समर्थन गर्ने तर भित्र आफ्नो विवेक ज्ञान र निर्णयलाई गोप्य मतमार्फत व्यक्त गर्न नडराउने प्रवृत्ति विकसित हुँदै छ । यस कारण अबका निर्वाचनमा दलीय राजनीतिले थप चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने सङ्केतहरू देखिँदै छन् ।

यति भएर पनि राज्य सञ्चालनमा दलीय राजनीतिक व्यवस्था सर्वोत्तम विकल्प हो । एकतन्त्रीय राणा र राजाको शासन समाप्त गरी सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना भइसकेपछि यसका विरुद्ध कोही पनि जानु हुँदैन । कपालमा जुम्रा पर्न सक्छन् तर टाउकामा डडेलो लगाउनुहुन्न । दलीय विसङ्गतिका केस्रा–केस्रा केलाएर अलोकप्रिय बनाउने गतिविधि रोक्न सक्नुपर्छ । यसका लागि सर्वप्रथम दलहरू आफ्नो विधान र नीतिअनुसार चल्नुपर्छ । अल्पमतमा परेपछि पार्टीप्रमुखले बैठक नै नबोलाउने, विज्ञता र ज्येष्ठताको कदर नहुने, सिद्धान्त बिक्री गर्नेलाई रातो कार्पेट ओछ्याउने, सम्पन्नलाई मात्र उम्मेदवार बनाउने, सामूहिक निर्णय प्रक्रियालाई कुल्चने, प्रतिगामी वा प्रतिक्रियावादी स्वदेशी तथा विदेशी गुप्तचरसँग शङ्कास्पद सम्बन्ध राख्नेजस्ता पार्टी सञ्चालनका विद्रुप दृश्य अब देखिनुहुन्न । नीति र विधानविपरीत चल्ने अनि देश र जनतालाई भन्दा आफैँलाई शक्तिशाली तुल्याउन खोज्ने मूल पार्टीका दुर्गुण हट्नुपर्छ । 

समय यथास्थितिमा कहिल्यै स्थिर रहँदैन । पुस्तान्तरणसँगै सोचाइ, बौद्धिकता, कार्यशैली, रणनीति तथा योजना पनि गतिशील हुनु जरुरी छ । सस्तो लोकप्रियताका लागि गरिने क्षणिक, देखावटी वा 

छद्मवेशी कामले दलप्रति दिगो ऊर्जा प्राप्त हुँदैन । अहिले सबै दल गठबन्धनबाट चुनाव लड्दै छन् । तिनले आफ्ना एकीकृत साझा कार्यक्रम, योजना र लक्ष्य निर्माण गरी जनतासमक्ष विश्वास जित्ने गरी जानुपर्छ । गाली होइन ताली लिन, धनले होइन मनले जित्न, फुटबाट होइन जुटबाट अघि बढ्न, हाम्रो होइन राम्रोलाई काखी च्याप्न, धनीलाई होइन दानीलाई टिकट दिन अनि राजनीतिलाई पेसा होइन सेवा ठान्न सके दलीय राजनीति पतनोन्मुख हुनबाट बच्नेछ ।

राष्ट्र निर्माण स्वतन्त्र वा व्यक्तिगत प्रयासबाट होइन सामूहिक दलीय प्रयासबाट मात्र सम्भव छ । यसकारण दलहरू प्रभावशाली स्वतन्त्र उम्मेदवारसँग जोडिएर वैचारिक एवं कार्यगत एकता कायम गर्दै जनसरोकारका मुद्दामा एकजुट हुनुपर्छ । आफ्ना उम्मेदवार र जिम्मेवार व्यक्तिको आचरण तथा व्यवहारमा व्यापक सुधार ल्याउनुपर्छ । नेताले जे गरे वा बोले पनि वा जति भ्रष्टाचार गरे पनि लुकाइदिने, संरक्षण गर्ने र प्रश्रय दिने प्रवृत्तिले दलीय नैतिकता सङ्कटमा परेको छ । अब नेतृत्वको आर्जित सम्पत्ति, दैनिक जीवनशैली र सरसङ्गतको गहन अनुसन्धान गरी अनुशासनको डन्डा चलाउन सके दलीय राजनीतिको गिर्दो साख जोगिन सक्छ ।