काठमाडौँ, जेठ २५ गते । भारतमा कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा गत छ महिनादेखि हालसम्म एक सय जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा मात्र थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमण पुष्टि हुने व्यक्ति भारतबाट आएका जानकारी दिनुभयो । भारतमा भने हालसम्म पाँच हजार पाँच सय जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
भारतमा कोरोना फैलिएपछि नेपालमा सतर्कता अपनाउन आग्रह गरिएको हो । निर्देशक डा. झाले त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले कोरोनाको लक्षण देखेपछि शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्ने गरिएको बताउनुभयो ।
महाशाखाका निर्देशक डा. झाले सङ्क्रमण पुष्टि हुनेलाई घरमै आइसोलेसनमा बस्न निर्देशन दिएको जानकारी गराउनुभयो । उहाँले यसअघि पनि सुदूरपश्चिममा शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भए पनि पिसिआर गर्दा नहुने बताउनुभयो । डा. झाले भन्नुभयो, “अहिले हामीसँग भएको स्टक किट पठाएका छौँ, अब एन्टिजेनको किट अभाव हुने भएकाले खरिद प्रक्रियामा जाने छौँ ।” उहाँले कोरोना सङ्क्रमण बढ्न सक्ने चेतावनी दिँदै हेल्थडेस्क तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेको जानकारी गराउनुभयो ।
“लक्षण अनुसार कोरोना परीक्षण गर्ने हो भने सयौँलाई कोरोना देखिन सक्छ । पछिल्लो समय भारतबाट आएका व्यक्तिलाई लक्षण अनुसार कोरोना परीक्षण गर्न निर्देशन दिइएको छ,” निर्देशक झाले भन्नुभयो । उहाँले किट अभावका कारण सबै व्यक्तिलाई कोरोना परीक्षण गराउन सम्भव नहुने बताउनुभयो । उहाँले महिनामा डेढदेखि दुई सयसम्मलाई कोरोना परीक्षण गराइरहेको जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना फैलिए पनि पहिलेको जस्तो महामारी हुने, मानिसको मृत्यु हुने सम्भावना कम रहेको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै निर्देशक झाले भन्नुभयो, “हाल फैलिएको कोरोनाले मानिसमा मृत्यु गराउँदैन ।” उहाँले कोरोनाबाट बच्न भिडभाड हुने स्थानमा मास्कको प्रयोग गर्न आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भिडभाडमा भौतिक दुरी र हातको सरसफाइ जस्ता जनस्वास्थ्यको मापदण्ड अपनाउन अनुरोध गर्नुभयो । “जटिल नभए पनि सतर्कता अपनाउनु पर्छ । छिमेकी मुलुकमा कोरोना फैलिसकेपछि नेपालमा पनि फैलन सक्ने सम्भावनालाई नकार्न सकिन्न,” प्रवक्ता बुढाथोकी भन्नुभयो ।
प्रवक्ता डा. बुढाथोकीले पछिल्लो समय छिमेकी मुलुकमा कोरोना पुष्टि हुने क्रम बढ्दै गएकाले खुला सिमानाका कारण नेपालमा बढ्न सक्नेतर्फ सचेत गराउनुभयो । कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी मुलुकको प्रवेशविन्दुका सबै स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा प्रदान गर्ने संस्थालगायत सबै सरोकारवालामार्फत आवश्यक निगरानी भइरहेको जानकाकारी दिनुभयो ।
उहाँले नेपालमा पनि सङ्क्रमण भित्रिन नदिन विभिन्न नाकामा नयाँ सङ्क्रमणलाई दृष्टिगत गर्दै प्रवेशविन्दुका सम्पूर्ण हेल्थडेस्कमा सतर्क रहन आग्रह गरिएको बताउनुभयो । उहाँले नेपालमा सङ्क्रमण फैलिहालेमा मन्त्रालय कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले भने प्रयोगशालामा पिसिआर परीक्षण गर्दा हालसम्म कोरोना पुष्टि नभएको जानकारी दिनुभयो ।