• २० मंसिर २०८१, बिहिबार

महानवमीमा हातहतियार (पायाः) र सवारीसाधनको पूजा

blog

काठमाडौं, असोज १८ गते । आश्विन शुक्ल नवमी अर्थात् विजयादशमी सुरु भएको आज नवौं दिन नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी मनाउने चलन छ । 

महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । आजको दिन विशेष गरी नेवाः समुदायमा बिहानै घर सफा गरेर विभिन्न मठमन्दिरमा पूजा आराधना गर्ने परम्परा छ ।

यससँगै विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस, बोका र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ । 

यस दिनमा केही नेवाः समुदायमा ‘स्याक्वःत्याक्वः’ अर्थात् जति बलि दिन सकिन्छ, त्यति नै विजयी हुने अर्थको रुपमा पनि विभिन्न पशुको बलि दिने चलन रहेको बताइन्छ ।  पूजा गरेपछि सुकुन्दामा बत्ती बालेर त्यसकाे माथि पालाः राखेर बत्तीकाे कालाे अर्थात् 'माेहनी सिन्ह' वा माेहनि टीका बनाइन्छ । याे टीका नेवाः समुदायकाे विशेष टीका हाे । नेवाः समुदायले चालः क्वकायेगु अर्थात् दशमीकाे दिनमा माेहनि टीकाे अर्थात् कालाे टीका लगाइन्छ ।


– ‘स्याक्वःत्याक्वः’ काे दिन अर्थात् महानवमीकाे दिनमा पायाः जात्रामा राँगाको बलि दिएर नगर परिक्रमा गरिँदै

नवमीको दिन आफ्ना सवारी साधन, हातहतियारलगायत अन्य विभिन्न प्रयोगमा आउने साधनलाई पूजा गर्ने परम्परा छ ।

यसै दिन बिहान कलपुर्जा, कृषि औजारहरु, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । आजको दिन विभिन्न शक्तिपीठलगायत सवारीसाधनमा पनि बलि दिने प्रचलन छ । 

यस्तै, पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो परम्परा अनुसार कुभिण्डो, नरिवल वा कागती किचेरसमेत सवारीसाधनमा बलि दिने गरेको पाइन्छ । 


–कुभिण्डोकाे बलि चढाइँदै

संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार महानवमीको दिन हातहतियारलगायत सवारी साधनाको पूजा गर्ने परम्परा धेरै पहिलेदेखि चलिआएको हो । वर्षमा एक पटक भए पनि हातहतियारको प्रयोग गर्नेलाई दशैंले सम्झाउने गरेको उहाँ बताउनुहुन्छ । 

“दशैंमा सबै समुदायले हातहतियारको प्रयोग गर्छन् । रगतको खोला बगाउँछन्”, उहाँ भन्नुहुन्छ, “त्यस कारण दशैंलाई युद्धअभ्यासको रुपमा समेत लिन सकिन्छ ।” 

उहाँका अनुसार आज महानवमीको दिन हातहतियार र सवारीसाधनको पूजा गरी बलि दिनुमा छुट्टै किम्वदन्ती छ । दुई हजार वर्षअघिदेखि यो पर्व हर्षोल्लासका साथ मनाउने चलन रहिआएको हो । 


–पायाः जात्रामा खड्ग प्रदर्शनी गरिँदै

“महानवमीको दिन सवारीसाधनको पूजा गर्नु आधुनिक संस्कृति हो । मानिसका लागि सवारी साधन पनि शक्ति नै हो,” उहाँ भन्नुहुन्छ, “गाडीको शक्ति यसको इन्जिन हो । खड्ग पनि शक्तिको प्रतीक हो, शक्ति भनेको देवी हो र देवी भन्नाले संस्कारको सबै स्त्री जाति हो ।” 

दशैं शक्तिको पूजा उपासनाको चरम लोकप्रियताको सुन्दर उदाहरण रहेको श्रेष्ठको भनाइ छ । 

संस्कृतिविद् रामहरि जोशीका अनुसार दशैंको नवौं दिन महानवमी आज विशेष पूजा आराधना गरी मनाइन्छ । उहाँ भन्नुहुन्छ, “आजको दिन हातहतियार र सवारी साधनको पूजा गरी बलि चढाइएमा वर्षभरि घाउ, चोट लाग्दैन । आफूले प्रयोग गर्ने हातहतियार र सवारीसाधनको सही ढङ्गमा प्रयोग गर्न सकियोस् भन्दै महानवमीको दिन पूजा गर्ने गरिन्छ ।” 


–पायाः जात्रा हर्न ललितपुरकाे दरबार स्वाक्यरमा पुगेका स्थानीय

यो परम्परा आफ्नो ज्यानको सुरक्षाका लागि पनि नगरिएको उहाँको भनाइ छ । यस्तै, नेवाः समुदायमा खड्ग जात्रा (पायाः) मनाउने चलन छ । उहाँका अनुसार नेवाः समुदाय बसोबास रहेको नेपालमण्डलमा खड्ग जात्राको अर्थ बाँकी रहेका दानवको मृत्युको दिन हो ।

याे जात्रा उपत्यकाका विभिन्न पुराना नेवाः बस्तीहरूमा गरिन्छ । तर कीर्तिपुरमा भने खड्ग जात्रालाई शान्तियात्रा भन्न मिल्ने उहाँको भनाइ छ ।