• १३ साउन २०८१, आइतबार

दशैंमा नयाँ घर पाउँदा विपन्न परिवारमा खुसीयाली

blog

जनता आवास कार्यक्रम अन्तर्गत तनहुँको देवघाट गाउँपालिका –५ मा निर्माण गरिएको घर । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, साउन १६ गते । तनहुँमा जनता आवास कार्यक्रम अन्तर्गत दुई सय ८६ जना विपन्न परिवारले दशैं नयाँ घरमा मनाउन पाउनुभएको छ । झुप्रोबाट छुटकारा पाई पक्की घरमा चाड मनाउन पाउँदा गरिब परिवारका सदस्यले खुसी भएको बताउनुभएको छ । वषौंदेखि छाप्रोमा बस्दै आएका घरपरिवार नयाँ घर पाएसँगै उहाँहरूमा खुसी छाएको हो ।   

जिल्लाका १० वटै पालिकामा सो सङ्ख्यामा घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सव इन्जिनियर तथा जनता आवास कार्यक्रमका संयोजक हिमाल आचार्यले बताउनुभयो । भानु नगरपालिका –४ निवासी गोरे सार्कीले यसपालि पक्की घरमा दशैं मनाउन पाउँदा परिवारमा खुसी छाएको बताउनुभयो । 

छाप्रोमा बस्नुपर्ने अवस्थाबाट छुटकारा पाउँदा औधी खुसी लागेको उहाँको भनाइ छ ।  भानुमा नरभक्षी चितुवाको बिगबिगी बढिरहेकाले छाप्रोमा चितुवा छिर्न सक्ने हुँदा डर लाग्ने गरेको र नयाँ घर बनेपछि ढुक्क भएर सुत्न पाएको सार्कीले बताउनुभयो । देवघाट गाउँपालिका –५ की अञ्जलि बोटे नयाँ घरमा दशैं मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । 

‘चिमले बारेको खरले छाएको घरमा बस्नु नपर्ने भएकाले धेरै खुसी लागेको छ, सरकारलाई धेरै धेरै धन्यवाद’ बोटेले भन्नुभयो । त्यस्तै खुसी हुनुहुन्छ सोही ठाउँ निवासी सन्तमाया बोटे । वषौंदेखिको पक्की घरमा बस्ने सपना सरकारले पूरा गरेकाले सरकारलाई धन्यवाद दिन्छु उहाँले भन्नुभयो । 

‘यसपालिको दशैंमा पक्की घर मनाउन पाएकाले हाम्रो परिवारमा खुसीयाली आएको छ’  उहाँले भन्नुभयो । कार्यक्रमका लागि नौ करोड पाँच लाख ९५ हजार बजेट विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

आर्थिक वर्ष २०७५–७६ मा सङ्घ सरकार मार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि पूर्वाधार विकास कार्यालय तनहुँमा सम्झौता गरी घर निर्माण गरिएको कार्यालयको सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले तीन लाख ३२ हजार ५ सय रुपियाँ उपलब्ध गराउने उहाँले बताउनुभयो ।

लाभग्राहीले श्रमदान, नगद वा निर्माण सामग्री उपलब्ध गराएर १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ । कार्यक्रम स्थानीय तहबाट सञ्चालन गर्दा प्रभावकारी हुने कार्यालय प्रमुख सिनियर इन्जिनियर दिनेशकुमार घिमिरेले बताउनुभयो । पालिकामार्फत सञ्चालन गर्दा लाभग्राहीलाई सम्झौता गर्न, रकम भुक्तानी लिन तथा अनुगमन गर्न सजिलो हुने भएकाले बढी प्रभावकारी हुन्छ’ घिमिरेले भन्नुभयो । 

जमिन भएको तर घर बनाउने रकम नभएका गरिब, दलित तथा लोपोन्मुख परिवारलाई सो कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । ‘जग्गा भएका तर घर बनाउने रकम नभएर बसेका नागरिकलाई प्रदेश सरकारको आर्थिक सहयोगमा जनता आवास कार्यक्रमले निःशुल्क घर बनाउन थालेको छ, यसबाट विपन्न समुदायले नयाँ घरमा बस्न पाउन थालेका छन्’ सिनियर इन्जिनियर घिमिरेले भन्नुभयो ।