• ११ मंसिर २०८१, मङ्गलबार

दशैँको नामकरण

blog

नेपालीको महान् चाड दशैँमा नौ दिनसम्म देवीको पूजापाठ गरी दसौँ दिनमा प्रसाद ग्रहणपछि समापन गरिन्छ । यस चाडले विविध नामले पहिचान बनाएको छ । यसको महìव विविध क्षेत्रमा पाउन सकिन्छ । यो चाडका केही विकृति र विसङ्गति पनि छन् । यसका राम्रा पक्षलाई ग्रहण र नराम्रा पक्षलाई बहिष्कार गरी सबैको चाडका रूपमा दशैँ मनाउन आवश्यक छ । 

नामकरण

यो चाड दशैँको अलावा दुर्गापूजा, विजया दशमी, टीका, नवरात्रि आदि नामले परिचित छ । यस चाडलाई दस दिनसम्म मनाइने हुँदा यसको नाम दशैँ रहन गएको अनुमान गर्न सकिन्छ । यसरी नै यस चाडलाई विभिन्न देवीको अलावा विशेष प्रकारले दुर्गाको पूजा गरिने हुँदा यसलाई दुर्गापूजा भनिएको हुनुपर्छ । साथै दशमीका दिन आफूभन्दा ठूलाबाट टीका थापी आशीर्वाद ग्रहण गर्ने र आफूभन्दा सानालाई आशीर्वाद प्रदान गरिने भएकाले यस चाडलाई टीका भनिएको हुनुपर्छ भन्ने तर्क पनि छन् । यस चाडमा आधारातमा उठेर नौ दिनसम्म मानिस नौवटा तीर्थस्थलमा गई नुहाउने र स्तोत्र पाठ गर्ने भएकाले नवरात्रि भएको हुनुपर्छ । यसैगरी रावणमाथि रामचन्द्रले विजय हासिल गरेको हुँदा दशैँलाई विजया दशमी नामकरण गरेको अनुमान गरिन्छ । सारमा दस दिनसम्म यस चाडलाई धुमधामसँग मनाइने हुँदा दशैँ नामकरण भएको प्रसङ्ग सत्यको नजिक छ । 

पूजाविधि

घटस्थापनादेखि नवरात्र सुरु हुन्छ । घटस्थापनाको दिनमा दीप, कलश र गणेशको पूजा गरिन्छ । बालुवा, माटो ल्याई पूजाकोठामा राखी जौ, गहुँ, मकैलगायत १० प्रकारका अनाज छरेर जमरा राखिन्छ । त्यसै दिन शैलपुत्रीको पूजा गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन सप्तमी (यस दिनलाई पूmलपाती पनि भनिन्छ), आठौँ दिन कालरात्रि, महाष्टमी, महागौरी एवं नवमीमा सिद्धिदात्रीको पूजापाठ गरिन्छ । दसौँ दिन दशमीमा प्रसाद ग्रहणस्वरूप टीका प्रहण गरेपछि दशैँ समाप्त भएको मानिन्छ । टीका ग्रहण भने कोजाग्रत पूर्णिमासम्म गर्ने प्रचलन छ । 

महŒव

दशैँ धार्मिक तथा आध्यात्मिक कारणका अतिरिक्त सामाजिक तथा मनोवैज्ञानिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, स्वास्थ्य रक्षा तथा आमोद–प्रमोदका कारणले यसको महìवपूर्ण स्थान छ । यसको सामाजिक र मनोवैज्ञानिक महìव ठूलो छ । यस पर्वमा परदेशबाट घर फर्कने, सबैसँग भेटघाट हुने, मेलमिलाप हुनुका साथै ठूलाप्रति श्रद्धा र सानाप्रति स्नेह गरिन्छ । आशीर्वाद लिने–दिने गरिन्छ । यस चाडले अनेकताभित्र एकता जागृत गराउँछ । यसले साधना गर्न सिकाउँछ, जसले मानसिक सन्तुलन कायम गर्न सघाउँछ । सबैमा सामाजिकीकरण र नवनिर्माताको भावना जागृत गराई सबैले कुनै न कुनै रूपले यस चाडलाई आ–आफ्नै किसिमले मनाइरहेका हुन्छन् । 

दशैँको सांस्कृतिक महìव पनि छ । यस चाडले सामाजिक सद्भाव कायम गराउँछ । जनता–जनता मात्र नभई देशलाई पनि जोड्ने काम गर्छ । विविधतामा एकता कायम गर्दै अनेकतामा एकता उजागर गर्छ । यसले मानव जीवनलाई उज्यालो र विवेक प्रदान गर्छ, अज्ञानता, विवेकहीनता र कमजोरीलाई दूर गर्छ । दशैँले राजनीतिक प्रेरणा पनि प्रदान गर्छ । देशमा सङ्कट आइपर्दा, बाह्य हस्तक्षेप हुँदा सबै एकताबद्ध भई असत्यमाथि सत्यले विजय प्राप्त गर्न सक्छ भन्ने मान्यताको विकास यही चाडले गराउँछ । राष्ट्रियता र स्वाधीनता रक्षामा यसको ठूलो भूमिका छ । 

दशैँले आर्थिक महìव पनि दर्शाउँछ । यस चाडमा अर्थतन्त्र चलायमान हुन्छ । साथै उत्पादन, व्यापार र उपभोगमा वृद्धि हुन्छ । थोक तथा खुद्रा व्यवसायमा पनि वृद्धि हुन्छ । यातायात व्यवसायमा पनि वृद्धि हुन्छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यस चाडको अवसरमा साउनदेखि कात्तिकसम्म करिब ४० प्रतिशत वस्तु उपभोग हुने अनुमान छ । राष्ट्रिय व्यापार सङ्घका अनुसार सामान्य अवस्थाको तुलनामा दशैँमा लत्ताकपडा, माछामासु, फलपूmल, तरकारी, खाद्यान्न लगायतको व्यापार करिब ५०–६० प्रतिशतसम्म वृद्धि हुने अनुमान छ । दशैँमा करिब १० अर्ब रुपियाँ बराबरको नयाँ नोट सटही हुने गर्छ । अर्थशास्त्रीका अनुसार दशैँमा उपभोग खर्च बढी हुन्छ तर उत्पादनमुखी हुँदैन भन्ने छ । 

दशैँले स्वास्थ्य रक्षाको शिक्षा दिन्छ । यस चाडमा गाउँघर, मठमन्दिर, बाटोघाटो र घरहरू सफासुग्घर गरिन्छ । साथै खानपिन पौष्टिक हुन्छ । जस्तो– माछामासु खानु । जसले गर्दा हामीलाई स्वास्थ्य शिक्षा प्रदान गर्छ । यस चाडले मानव जीवनलाई आमोद–प्रमोद (मनोरञ्जन) पनि प्रदान गर्छ । यस चाडमा मालासिरी, मागलाजस्ता गीत गाइन्छन्, पिङ खेल्ने, चङ्गा उडाउने गरिन्छ । 

बाजागाजा बजाएर मनोरञ्जन प्रदान गरिन्छ । मानिसको जीवनमा मनोरञ्जनको आवश्यकता छ । मानव शरीरलाई विश्रामका साथै मानसिक विश्रामको आवश्यकता पर्छ । मन र शरीरको घनिष्ठ सम्बन्धमा संसार सञ्चालित छ । चाडपर्वको उत्पत्तिका कारण पनि मनोरञ्जन रहन गएको अनुमान गर्न सकिन्छ ।  यसलाई ध्यानमा राखी हाम्रा चाडपर्वले शारीरिक सन्तुलनका साथै मानसिक सन्तुलन कायम गरेका हुन्छन्, जुन दशैँले गर्छ । जस्तो– यज्ञ, जप, साधना आदि । जसले व्यक्ति र समाजलाई सन्तुलनमा राखी अघि बढ्न सघाउँछ । यस पर्वमा स्वादिलो खाना, सुन्दर छाना र नयाँ नानाले हामीलाई मनोरञ्जन प्रदान गर्छ । मनोरञ्जन प्रदान हुन मानसिक र शारीरिक सन्तुलनको आवश्यकता पर्छ, जुन यस पर्वले प्रदान गर्छ ।

विकृति

यस चाडमा जुवातास खेल्ने र मद्यपान पनि गर्ने सङ्ख्यामा वृद्धि हुन्छ । साथै चाडपर्वको बेला महँगी वृद्धि हुन्छ । सरकारी तथ्याङ्कले नेपालको गरिबी १९ प्रतिशत र यूएनडीपीले झन्डै ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको औँल्याएको छ । धनी र गरिबबीचको असमानताको अन्त्य नहुँदासम्म सबैको साझा चाड दशैँ हुनसक्ने अवस्था छैन । एसियामा अफगानिस्तानपछि दोस्रो गरिब मुलुक नेपाल हो । पूरै विश्वको हिसाब गर्ने हो भने विश्वका गरिब देशमध्ये नेपाल ४० नम्बरमा पर्छ । आर्थिक हिसाबले भुटानले समेत नेपाललाई उछिनिसकेको छ । देशको आर्थिक अवस्था कमजोर हुँदै गइरहेको अवस्थामा दशैँ सबैका लागि कसरी उल्लासमय रहला आशङ्का गर्न सकिन्छ । हुनेखानेहरू दशैँलाई आफ्नो हैसियत प्रदर्शन गर्ने तवरले मनाइरहेका हुन्छन् भने हुँदा खानेहरू यस चाडलाई अर्काको देखासिकीका रूपमा मनाइरहेका हुन्छन्, यो राम्रो पक्ष होइन । घाँटी हेरेर हाड निल्ने प्रवृत्तिको विकास गरौँ । दशैँलाई दशैँ बनाऔँ, दशा होइन । 

उपसंहार

यस चाडमा देखिएका विकृति र विसङ्गतिलाई बहिष्कार गरी दशैँका राम्रा पक्षलाई आत्मसात् गरी सम्पूर्ण नेपाली जनताको साझा चाडका रूपमा दशैँ मनाउन आवश्यक छ । दशैँलाई घाँटी हेरेर हाड निल्ने, देखासिकी नगर्ने र हैसियत प्रदर्शनका रूपमा नलिने संस्कृतिका रूपमा विकास गरौँ ।  हालका दिनमा कोरोना महामारी र डेङ्गुले गर्दा हायलकायल भएको नेपाली समाजलाई स्वस्थ समाज निर्माणमा हामी सबै एकजुट होऔँ । चारैतिर नेपालका सिमाना मिचिएका र बाह्य शक्तिले नेपालमा आँखा गाडिरहेको बेला यस पर्वले हामी सबै नेपालीमा राष्ट्रियता र स्वाधीनता प्रेमको चेतनाको विकास गराओस् । हामी झन्झन् गरिब हुँदै गइरहेको अवस्थामा यस वर्षको दशैँले मुलुकलाई समृद्धिको शिखरमा लैजान र नेपालीमा खुसीको सञ्चार गराउन महìवपूर्ण भूमिका निर्वाह गरोस् । दुर्गा भवानीले सबैमा शक्ति प्रदान गरून् ।