• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रवाद र देशभक्तिको मुद्दा

blog

नेपालमा आजकल राष्ट्रवाद (नेसन्यालिज्म) र देशभक्ति (प्याट्रियोटिज्म) बहुचर्चित शब्द बनेको छ । जो आफूलाई देशभक्त राष्ट्रवादी होइन भन्छन् ऊ आफूबाहेक अरूलाई देशभक्त, राष्ट्रवादी भन्न हिचकिचाउँछन् । के राष्ट्रवादी, देशभक्त हुन पनि स्वघोषणा गर्न जरुरी छ ? एक देशको, दलको वा व्यक्तिको राष्ट्रवादको परिभाषा अर्को देशलाई, अर्को दललाई वा अर्को व्यक्तिलाई मान्य नहुन सक्छ । राजनीतिक प्रणाली फरक हुन्छन् । विचारमा समानता छैन, यसैले राष्ट्रवाद र देशभक्तिको परिभाषा फरक–फरक देशमा फरक तरिकाले गरेको पाइन्छ । सक्रिय राजसंस्था र धर्म सापेक्ष राज्य हँुदा नेपालमा पनि राष्ट्रवादको परिभाषा फरक थियो । तत्कालीन समयको राष्ट्रगानसमेत फरक थियो । यसो भन्दैमा  राष्ट्रवाद, देशभक्तिका केही विश्वव्यापी मान्यता नभएका होइनन् । केही विद्वान्ले परिभाषित गर्ने प्रयास गरेका छन् जसलाई व्यवहारमा उतार्ने हो भने राष्ट्रवादी र देशभक्तको पगरी कसैले कसैलाई गुथाइरहनु पर्दैन, स्वतः प्रमाणित हुन्छ । प्रायः टिप्पणीकारले राष्ट्रवाद र देशभक्ति एउटै अवधारणा हो भनेका छन् । दुवैलाई मातृभूभिप्रति बफादार, सङ्कीर्ण र जातीयवाद रहित रूपमा हेर्ने गरेका छन् तर विद्वान्हरूले भने फरक तरिकाले परिभाषित गरेका छन् । 

राष्ट्रवाद एउटा विचारधारा हो जहाँ व्यक्तिको निष्ठा, सम्पूर्ण रूपमा आफ्नो देशका नागरिकको हितमा हुने गर्छ । राष्ट्रवादी व्यक्तिले आफ्नो देशको असल चरित्र र गुणलाई बढाइचढाइ प्रस्तुत गर्छन् तर नकारात्मक कुनै पनि विषयलाई सार्वजनिक गर्दैनन् । राष्ट्रवादीले आफ्नो देशबाहेक अन्य देशको गुणलाई पनि तिरस्कार गर्छन् । 

देशभक्ति पनि मातृभूमिप्रतिको लगाव नै हो । त्यो स्थानप्रतिको स्नेह र समर्पण जहाँ मानिस जन्मन्छ, हुर्कन्छ । यस्तो किसिमको संलग्नता जातीय, सांस्कृतिक, राजनीतिक या ऐतिहासिक हुन सक्छ । देशभक्तलाई पनि देशको विशिष्टता या गुणमाथि गर्व हुने गर्छ तर राष्ट्रवादीभन्दा फरक के छ भने उनीहरू अन्य देशको नागरिकको भलाइमा पनि विश्वास गर्छन् र आफ्नो देशबाहेक अन्य देशको विशेषतालाई पनि सम्मान र स्वीकार गर्छन् । 

हिटलर नेपोलियनजस्ता शासकलाई कसैले पनि राष्ट्रवादी होइनन् भनेर भन्न सक्दैन तर उनीहरू लगायत विश्वका अधिकांश राष्ट्रवादी भनिएका नेताले आफ्ना देशका, समूहका नागरिकबाहेक अन्य नागरिकलाई गम्भीर किसिमको अन्याय भएको अवस्थालाई समेत जायज ठह¥याए । नरसंहार नै भएको किन नहोस् आफ्ना नागरिक सुरक्षित छन् भने विश्वका कैयौँ राष्ट्रवादी नेताले चिन्ता व्यक्त गरेनन् । अहिले पनि विश्वमा केही यस्ता राष्ट्र छन् जो अन्य देशमा भएको गम्भीर मानव अधिकारको घटनामा समेत चासो राख्दैनन् भने केही देश जो मानव अधिकारलगायतका विषयमा विश्वभरि नै वकालत गर्ने गरेका छन् । अहिले कुन देश कस्तो भनेर किटान गर्नु भन्दा पनि यी दुवै वाद विश्वमा विद्यमान रहेको घटनाक्रमले देखाएका छन् । स्वार्थरहित तरिकाले विश्व भातृत्वको वकालत नगर्ने कुनै पनि राष्ट्रका नेता जोसुकै किन नहुन आफ्नो देशमा, आफ्नो जनताका लागि जेजस्तो प्रगति गरे पनि उनीहरू देशभक्त हुन सक्दैनन् । स्पष्ट छ, देशभक्तिले आफ्नो नागरिकको जिम्मेवारीको साथसाथै विश्व मानव भावनाको पोषण गर्छ भने राष्ट्रवादले अन्धो अहङ्कार र ज्ञानता पैदा गर्छ । 

सोभियत युनियन र युगोस्लाभियाको विखण्डनपछि राष्ट्रवाद चर्को रूपले आयो । अहिले प्यालेस्टाइन, कश्मिर, बोसनिया, सुडान, मियानमार, चाइना, इन्डियामा पनि राष्ट्रियताका सवाल उठेका छन् । सिक्किमीकरण फिजीकरणजस्ता बहस नेपालमा पनि हुने गर्छ । राष्ट्रियताका नाममा अनावश्यक प्रकारको भ्रम फैलाउन थालिएको छ तर राष्ट्रवाद देशभक्तिलाई प्रभाव पार्ने केही तìवको बारेमा खुलेर बहस भने हुन सकेको छैन । देशभक्तिको परिभाषा विद्वान्हरूको परिभाषामा मात्र सीमित छैन ।  अन्तर्राष्ट्रिय स्तरको योगदान भएन भन्दैमा देशभक्त नहुने होइन । देशसापेक्ष धेरै मुद्दा छन्, जसलाई मनन गर्न सकियो भने देशभक्त ठहरिन्छ र कसैसँग प्रमाणपत्र लिइरहनु पर्दैन । 

सन १९९० मा प्रजातन्त्र पुनस्र्थापनापश्चात् नेपालको शासन र नेतृत्वका लागि थुप्रै आन्तरिक तथा बाह्य चुनौती थियो तर यसको चर्चापरिचर्चा गरिरहन आवश्यक छैन । परिवर्तन पछि पनि नेपालमा जातीयता, अल्पसङ्ख्यकको असन्तुष्टि, हिंसा र भ्रष्टाचार कायमै छ । दलहरूका एक आपसका शङ्का उपशङ्काको साथै जातीय भाषावाद कायमै छ, जसले गर्दा स्वतन्त्र नागरिकलाई स्वतन्त्र रूपमा राष्ट्रिय बहसमा उत्रन लगभग असम्भव भएको छ । गैरराष्ट्रवादी र गैरदेशभक्ति क्रियाकलाप, लहड र हचुवा निर्णयको  परिणामले न्याय र निष्पक्षताको भावनालाई समेत कलङ्कित बनाएको छ । बेञ्च र बारको बीचमा तनाव देखिएको छ । यसका साथै  देशका राजनीतिक तथा संवैधानिक सर्वोच्च निकाय बस्ने पदाधिकारीको कार्य सम्पादनप्रति पनि आममानिस सन्तुष्ट छैनन् । हालैका दिनमा राष्ट्रपतिले प्रतिनिधि सभाबाट पारित गरिएको नागरिकता विधेयक प्रमाणित गर्न अस्वीकार गर्नु लोकतन्त्रका लागि सकारात्मक लक्षण होइन ।  

राजनीतिमा जे पनि सम्भव छ भनेर तर्क गरिन्छ । त्यसैले त विकास अवरुद्ध भएको छ । उत्साही नागरिकको व्यक्तिगत उपलब्धिबाहेक गर्व गर्न लायक विरलै काम भएका छन् । सबै क्षेत्रमा मूलभूत सुविधाको अभाव छ । जुन मुद्दा र परियोजना कार्यान्वयनप्रति छिमेकी देश लामो समयदेखि कार्यरत रही समय र साधनको भरमग्दुर प्रयोग गरिरहेका छन् ती विषय र मुद्दा नेपालमा गौण बन्ने गरेको दृष्टान्त भारत, बङ्गलादेश र भुटानले गरेको प्रगतिबाट देख्न सकिन्छ । नेपाल विकास सूचकाङ्कमा खराब स्थानमा छ भन्न समेत दलका नेता समय पर्खन्छन् । विपक्ष या सरकारबाट हटेको समयमा मात्रै देशको स्थिति खराब छ भन्ने र सरकारमा रहँदा प्रकाशित भएका सत्य सामग्रीसमेत कसैले उद्धरण ग-यो भने बक्रदृष्टि अपनाउने चलन छ । 

भ्रष्टाचार व्याप्त  छ ।  चप्पल लाएर आउनेहरू एक्कासी केही वर्षमा कसरी साधन सम्पन्न भए भनेर छानबिन गर्ने कुनै संयन्त्र छैन । यी मुद्दालाई मध्यनजर नगरी राष्ट्रवाद र देशभक्ति फस्टाउँदैन । प्रत्येक नेपालीले मुलुकलाई सकारात्मक योगदान गरेकै आधारमा उसको देशभक्ति र राष्ट्रभक्ति मापन हुन्छ । देशलाई प्रभावित गर्न सक्ने मुद्दामा पर्याप्त जोश र नीतिको आवश्यकता हुन्छ जसले देशको चुनौती कम गरोस् । जब कोही मानिसले आफ्नो राजनीतिक महìवाकाङ्क्षा र व्यक्तिगत इच्छापूर्तिका लागि नभई राष्ट्रिय विकास र राष्ट्रिय एकताका लागि वकालत गर्छन् भने उनीहरू देशभक्त राष्ट्रभक्त ठहरिन्छन् । देशभक्ति हाम्रो आफ्नो सम्पदा, रीतिरिवाज, मानिसप्रतिको प्रेम, सद्भाव र सकारात्मकतामा पनि झल्कन्छ । आफूलाई नेता भन्ने केही दलका केही नेतामा त्यो भावना पाइन्न । केही नेता उग्र राष्ट्रवादको नकारात्मक जालबाट मुक्त हुन जरुरी छ । सधैँ एउटै राग अलापेर छिमेकी देशलगायत मित्र राष्ट्रलाई गाली गरेर चिढाउँदैमा राष्ट्रवादी भइन्न । । 

अबको बाटो 

सरकार र नागरिक समाजले जनताले बुझ्ने गरी देशभक्ति र राष्ट्रवादको महìवमाथि नीतिगत रचना गर्न ढिला भइसकेको छ । त्यसले मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ । चुनाव सँघारमा आएको छ । जित्नकै लागि जे पनि गर्छु भन्ने मानसिकताभन्दा राष्ट्रिय एकता कसरी हुन सक्छ त्यसमा ध्यान दिन जरुरी छ । चुनावको नाममा कसैको मन नभाच्चियोस् । राष्ट्रियताको पहिलो आधार राष्ट्रिय एकता नै हो । समृद्धि सुख र प्रगतिको पहिलो खुड्किलो भनेको निष्पक्षता हो । 

धार्मिक र सांस्कृतिक सहिष्णुतालाई बढावा दिन नेपालीमाझ नीति र अभियान नै चलाउन जरुरी छ । कुनै पनि कोणबाट धर्म र संस्कृति प्रति प्रहार गर्न हुँदैन, चाहे त्यो चुनावको बेला होस या अन्य समय । हामीले संस्थान, स्कुल र सार्वजनिक स्थानमा समेत सामाजिक सांस्कृतिक र सह–राजनीतिक सङ्घ, जसले एक पक्षको वकालत गरेर राष्ट्रिय एकतामा खलल पु¥याउँछ, त्यसप्रति पुनर्विचार गर्न जरुरी छ । 

देशभक्ति बढाउन राजनीतिक दलहरूबीच मेलमिलाप हुन जरुरी छ । स्वस्थ प्रतिस्पर्धा जायज छ तर शत्रुता पूर्ण व्यवहारले गर्दा नै दलप्रति जनताको विश्वास घट्दै गएको हो । भ्रष्टाचारले पनि त्यही कारण प्रश्रय पाएको हो । जबसम्म राजनीतिक दल एकाकार नभई स्वस्थ प्रतिस्पर्धामा उत्रँदैनन् तबसम्म भ्रष्टाचार, असुरक्षा र अन्य सामाजिक विकृति हटाउन सकिन्न ।  सामाजिक सञ्जाललगायत पत्रपत्रिका आएका विचार सुुन्दा बहुसङ्ख्यक नागरिकले नेताहरूसँग, बिना वैरभाव देशको प्रगतिका लागि दत्तचित्त भएको हेर्ने चाहना राखेका छन् । हुन पनि  लोकतान्त्रिक प्रक्रिया र आदर्शले राष्ट्रवादको  सङ्कीर्ण मार्गभन्दा माथि उठ्न आवश्यक हुन्छ । अहिले पनि जिनोफोविया (विदेशीलाई तिरस्कार गर्ने ) र आफ्नो श्रेष्ठता बखान गरेर मात्र राष्ट्रभक्ति बढाउन सकिन्न । माथि उल्लिखित मुद्दाप्रति आधारित विषय राष्ट्रिय प्रवचन र बहसको विषय हुनुपर्छ । सिद्धान्तको रटान र किताबको पाना पल्टाएर मात्र राष्ट्रिय विकास गर्न पनि सकिन्न न त एकापसको अविश्वास नै हटाउन सकिन्छ । देशसापेक्ष मुद्दा आधारित बहस गरेर मात्र राष्ट्रियता र देशभक्ति बढाउन सकिन्छ ।