• ८ वैशाख २०८१, शनिबार

क्रिप्टोकरेन्सीको बहस

blog

भर्चुअल करेन्सीका रूपमा सन् २००९ मा जापानबाट सुरु भएको, डाटा प्रसारमा पूर्ण सुरक्षित, अत्याधुनिक प्रकृतिको विकेन्द्रित ब्लकचेन टेक्नोलोजीमा आधारित ‘बिट क्वाइन’ समेतका हजारौँ प्रकारका विभिन्न नाम र मूल्यका क्रिप्टो करेन्सीको कुनै भौतिक अस्तित्व हुँदैन। यो सरकार वा केन्द्रीय बैङ्कद्वारा जारी गरिएको मुद्रा पनि होइन र कतैबाट यसको कारोबार गर्ने वैधानिकता प्राप्त भएको पनि हुँदैन। तथापि विश्वभरजसो आक्रामक रूपमा क्रिप्टोको कारोबार बढिरहेको छ। आजको डिजिटल दुनियाँमा नेपालसमेत यसबाट अछुतो रहेको छैन।

क्रिप्टो करेन्सीका विशेषता

नगद वा चेकको प्रयोगबिना, बैङ्क ग्यारेन्टी नराखी कारोबारी बीचमा कुनै मध्यस्तकर्ता नराखी कारोबार गरेबापत राज्य वा कसैलाई कुनै पनि किसिमको सेवा शुल्क एवं कमिसनसमेत नतिरी कम्प्युटर नेटवर्कमा जोडिएका सदस्यबीच कम्प्युटर कोडको साटासाट गरेर चाहेजति कारोबार गर्न सकिने भर्चुअल विनिमयको साधनलाई क्रिप्टो करेन्सी भनिन्छ। यसलाई डिजिटल करेन्सी वा भर्चुअल मुद्रा पनि भन्ने गरेको पाइन्छ। स्वतन्त्र कम्प्युटर आपसमा जोडिएर बनेको ब्लकचेन नेटवर्कभित्र भर्चुअल कारोबार हुने यो करेन्सीको कारोबारमा सरकार, बैङ्किङ प्रणाली, मध्यस्तकर्ता आवश्यक पर्दैन। यस करेन्सीको बजारले स्वस्फूर्त मूल्य निर्धारण गर्ने हुँदा कुनै विनिमय दर निर्धारण गर्ने निकाय पनि हुँदैन। कुनै राज्य वा सरकारको नियन्त्रणमा नरहेको कारणले यसको कारोबारमा नियमन गर्न असम्भव प्रायः हुने हुँदा लगानीकर्ताको कानुनी संरक्षण भने हुँदैन।

कसैको नियमन वा निर्देशनबिना प्रयोगकर्ता स्वयंले क्रिप्टो कारोबारले भेरिफाइ गर्ने गर्छन्। क्रिप्टो कारोबारको भेरिफाइ गर्ने कार्यलाई क्रिप्टो माइनिङ भनिन्छ। कम्प्युटर प्रोग्रामिङमार्फत क्रिप्टो क्वाइन/माइनिङ गरिन्छ। क्वाइन/माइन गरेबापत सम्बन्धित माइनर (कारोबारको भेरिभाइ गर्ने व्यक्ति) लाई क्रिप्टो करेन्सीमै बोनस प्राप्त हुने हुँदा कारोबार हुँदै जाँदा क्रिप्टो माइनिङ पनि बढ्दै जान्छ।

इन्ड टु इन्ड मेकानिजमा कारोबारको डाटा ट्रान्फर हुने यसको कारोबारका लागि प्रयोगकर्ताले डिजिटल वालेट र प्लेटफार्म प्रयोग गर्ने गरेको पाइन्छ। आफूले खरिद गरेको क्रिप्टो आफ्नो डिजिटल वालेटमा पिनकोड प्रयोग गरी सुरक्षित राखिन्छ। डाटा स्टोरेजका लागि प्रयोग हुने वालेट र कारोबारको प्लेटफार्म ह्याक गरी क्रिप्टो करेन्सी चोरीसमेत हुने गरेकाले यो पूर्णतः जोखिममुक्त भने छैन। पिनकोड प्रयोग गरी वालेटमा सुरक्षित गरिएको क्रिप्टो करेन्सी यदि प्रयोगकर्ताले पिनकोर्ड बिर्सिएमा वा निजको मृत्यु भएमा पुनः त्यसलाई रिकोभर गर्न असम्भव नै हुन्छ। क्रिप्टो करेन्सीको माइनिङका लागि अत्यधिक गति र क्षमता भएका सुपर कम्प्युटरको आवश्यकता पर्ने हुँदा क्रिप्टो माइनिङ गर्नमा प्रयोग हुने त्यस्ता सुपर कम्प्युटर सञ्‍चालनका लागि अध्यधिक ऊर्जाको खपत हुने गर्छ। एकातर्फ माइनिङ गर्दा सुपर कम्प्युटरबाट निस्किएको ठूलो आवाजले वातावरण प्रदूषणमा प्रतिकूल असर पु-याउँछ। 

धेरै मुलुकमा क्रिप्टो करेन्सीको कारोबार र माइनिङलाई अवैधानिक घोषणा गरिएको छ। छिमेकी मुलुक भारतमा क्रिप्टो करेन्सीका करोडौँ प्रयोगकर्ता (विश्वमा सबैभन्दा धेरै) भएको तथ्याङ्क भेटिन्छ भने काजकस्तानमा क्रिप्टो माइनिङमा द्रुततर विकास भई विश्वभर हुने कुल कारोबारको १८ प्रतिशत हिस्सा ओगट्ने ओगटेको पाइन्छ। हालसम्म एलसाल्भाडोरले मात्र क्रिप्टो करेन्सीको कारोबारलाई वैधानिकता दिएको भए पनि यसको सबैभन्दा धेरै कारोबार हुने मुलुकमा अमेरिका पर्छ। चीनमा क्रिप्टो करेन्सीको माइनिङ र कारोबारमा पूर्णतः प्रतिबन्ध गरिएको भए पनि त्यहाँ यसको उल्लेख्य कारोबारी छन्। गुपचुप रूपमा यसको ठूलो कारोबार हुने गरेको विश्वास गरिन्छ। पछिल्लो समयमा चीनले आफ्नै क्रिप्टो करेन्सीको थालनी गर्न अध्ययन गरिरहेको छ भन्ने सुनिएको छ। 

संसारभर कतिपय सामान खरिदमा क्रिप्टो करेन्सीमार्फत हुने कारोबार स्वीकारिने गरेको छ। केही समयअघि टेस्ला कारको खरिदमा बिट क्वाइन स्वीकारिने घोषणा गरिएकोमा पछि विवादित भएपछि उक्त घोषणा फिर्ता लिइएको थियो। रुस–युक्रेन युद्धको क्रममा क्रिप्टोको ठूलो कारोबार भएको समाचार पढ्न पाइन्छ। राज्य र सरकारको नियमनबाट अछुतो रहने हुँदा गैरकानुनी क्रियाकलाप र आतङ्‍ककारी गतिविधिमा यसको प्रयोग हुनसक्ने जोखिम अत्यधिक रहेको कारणले समेत सरकारहरूले यसको वैधानिकता स्वीकार गर्न नसकिरहेको तथ्यलाई पूर्णतः नकार्न सक्ने अवस्था छैन। समकालीन विश्व शासनकै ठूलो चुनौती र अवसरको रूपमा देखिएको क्रिप्टो करेन्सीको गैरकानुनी घोषणा र प्रतिबन्ध हुँदाहुँदै पनि नेपाली नागरिकले विभिन्न प्रकारका क्रिप्टो करेन्सीमा १.५ खर्बभन्दा बढीको लगानी गरिसकेको र जुन बढ्दो क्रममा रहेको अनुमान अर्थशास्त्रीले गर्ने गरेका छन्।

वस्तुस्थिति

वेभ भर्सन ३.० मा आधारित अत्याधुनिक ब्लकचेन प्रविधिको प्रयोग, विश्वव्यापी प्रसार र समयको तीव्र गतिसँगै हुँदै गरेको नवप्रवर्तन नेपालीको १७० भन्दा बढी मुलुकमा पुगेको छ। विश्वव्यापी उपस्थिति, सरकारको अहस्तक्षेप, कारोबारमा कमिसनविहीनता र पूर्ण सुरक्षाको प्रत्याभूति, कारोबारबाट कतिपय लगानीकर्ताले छोटो समयमै ठूलो मुनाफा आर्जन गरेको भन्ने आशयका अन्तर्राष्ट्रिय मिडियाका कभरेजजस्ता कारणले लोकप्रिय हुँदै गरेको क्रिप्टो करेन्सीको कारोबार सरकारहरूले नचाहेर पनि दिन दुगुना रात १० गुनाको बढ्दो छ। अर्कोतर्फ विश्व सरकार, सरकार र नियमनकारी निकायले चाहेर पनि यसको कारोबारमा पूर्णतः निगरानी गर्न र नियन्त्रणमा राख्न कठिन हुँदै गएको छ। नेपाली नागरिकको समेत विभिन्न किसिमका क्रिप्टो करेन्सी र नेटवर्कमा आधारित पिरामिड बिजनेसमा खर्बौं लगानी रहेको भनी जानकारहरूको अनुमान छ। 

नेपाललाई अवसर

भनिन्छ, नवप्रवर्तनका लागि ‘नयाँ नयाँ प्रयोगका लागि लगानी गर, पटक पटक असफल हुन तयार हौ, नियमभन्दा बाहिर जाऊ, चौघेराभन्दा बाहिरबाट सोच’ जस्ता सिद्धान्त अपनाउनुपर्ने हुन्छ । जसका लागि सरकारी संयन्त्रले नियम तोडेर आँट र प्रयोगका लागि लगानी गर्नसक्ने कुरै भएन । त्यसैले नवप्रवर्तनमा सधैँजसो निजी क्षेत्र नै अब्बल हुनेगर्छ भनिन्छ। क्रिप्टो करेन्सीलाई मुद्रा कारोबारको क्षेत्रमा नवप्रवर्तनकारी डिजिटल उद्योग मान्ने हो भने नेपालमा देहायबमोजिमका अवसर रहेको देखिन्छ। जलविद्युत् र अन्य वैकल्पिक ऊर्जाको ठूलो सम्भावनाको कारण नेपालको हरित ऊर्जा उत्पादनका क्षेत्रमा उर्बर भूमि मानिन्छ। यसरी उत्पादन हुने हरित ऊर्जालाई घरेलु प्रयोग गरेर बाँकी रहेपछि कच्चा रूपमा विदेश निर्यात गर्नुभन्दा त्यस्तो ऊर्जा क्रिप्टो माइनिङ उद्योग खोल्नका लागि प्रयोग गर्न सकिन्छ। यस्ता उद्योग खोल्न नेपालमा हिमाली र पहाडी क्षेत्रमा मानव बस्तीभन्दा पर प्रशस्त प्रयोगमा नआई खेर गएका बञ्जर भूमि सहज रूपमा उपलब्ध हुनसक्छ। क्रिप्टो करेन्सीको कारोबारमा संलग्न करोडौँ भारतीय र चिनियाँ नागरिक छिमेकमै नजिकै छन् र यसको कारोबारमा संसारभरि नै बढ्दो आकर्षण देखिन्छ।

नेपालमा पर्नसक्ने जोखिम

कुनै नयाँ सिद्धान्त, विधिको प्रयोग गर्दै गर्दा वा नयाँ प्रविधि प्रचलनमा आउँदा त्यसबारेमा राज्यसमक्ष नै पर्याप्त ज्ञान, कानुन, सचेतना नहुन सक्छ। त्यसलाई व्यवस्थापन, नियमन गर्ने उपयुक्त नीति, संस्था, संयन्त्र र सक्षम जनशक्ति अभाव हुन्छ। भोलि त्यसको प्रयोग÷प्रचलनबाट आउनसक्ने अनपेक्षित जोखिम कम गर्ने, सिर्जना हुनसक्ने प्रत्यक्ष, अप्रत्यक्ष समस्यालाई समाधान गर्ने तथा भविष्यमा आइपर्ने चुनौती सामना गर्ने सक्षमता विकास भइसकेको हुँदैन। क्रिप्टो करेन्सीको प्रयोगबाट नेपालले विभिन्न जोखिम सामना भने गर्नुपर्ने हुनसक्छ। क्रिप्टोमा गरेको लगानीको कानुनी संरक्षण र कारोबारको नियमनको अभाव हुने हुँदा यसमा गरेको लगानी जोखिममुक्त भने छैन। छोटो समयमै मूल्यमा उतारचढाव हुने गरेको कारण यसमा गरेको लगानी डुब्न सक्ने सम्भावना पनि उत्तिकै हुन्छ। नेपालजस्तो अर्थतन्त्रको आकार सानो भएको मुलुकमा विदेशी मुद्रा प्राप्तिको सीमित स्रोत मात्र रहेको, भारतमुखी उच्च व्यापार घाटा र पेग इकोनोमी भएको, अनौपचारिक अर्थतन्त्रको ठूलो हिस्सा भएको कारण अर्थतन्त्रमा सरकारको वित्त तथा आर्थिक नीति कम अप्रभावकारी हुँदै जानसक्ने, विप्रेषणको रकम क्रिप्टो कारोबारतर्फ आकर्षित भएमा जीडीपीमा रहेको विप्रेषणको योगदानमा नकारात्मक असर पुग्नजाने जस्ता नकारात्मक प्रभाव पर्नसक्ने देखिन्छ।

त्यस्तै वित्तीय पहुँचको सीमितता र वित्तीय सुशासनको अभाव रहेको मुलुकमा ब्लकचेनजस्तो अत्याधुनिक प्रविधिमा आधारित भएर कारोबार हुने क्रिप्टो करेन्सीको नियमनमा नियमनकारी निकायको सक्षमता र संस्थागत सुदृढीकरणको प्रश्न पनि उत्तिकै पेचिलो हुनसक्छ । अर्कोतर्फ मुद्रा निर्मलीकरणमा, क्यापिटल फ्लाइटमा र आपराधिक गतिविधिमा समेत यसको प्रयोग हुनसक्ने जोखिम बढ्न सक्छ भने यसमा बढ्दो लगानीको कारण रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्न सक्ने देखिन्छ। क्रिप्टो माइनिङ उद्योगमा प्रयोग हुने सुपर कम्प्युटरका लागि अत्यधिक ऊर्जाको खपत हुने हुँदा वातावरण प्रदूषणमा प्रतिकूल असर पार्ने सम्भावना पनि उत्तिकै छ।

 बैङ्कको सक्रियता

नेपाल राष्ट्र बैङ्कले भर्चुअल करेन्सी÷क्रिप्टो करेन्सी नेटवर्क मार्केटिङका बारेमा पहिलो पटक वि.सं. २०७४ मा जारी गरेको सूचनामा ती कारोबार÷व्यवसाय गैरकानुनी रहेको भनी उल्लेख गरेको छ । 

बैङ्कले हालै जारी गरेको सूचनामा समेत नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी÷क्रिप्टो करेन्सी ले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको र नेपाल सरकारको जमानत प्राप्त नभएकाले भर्चुअल करेन्सी÷क्रिप्टो करेन्सीको कारोबार गैरकानुनी रहेको उल्लेख छ । त्यस्तै बैङ्कले भर्चुअल करेन्सी÷क्रिप्टो करेन्सी पिरामिडमा आधारित नेटवर्क मार्केटिङ सम्पत्ति शुद्धीकरण तथा आतङ्क क्रियाकलापमा लगानी, ठगी तथा कर छली लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा आधारित अस्थिरता एवं उतारचढाव, सट्टेवाजी आदिजस्ता जोखिम हुने भनी सचेत गराएको देखिन्छ। क्रिप्टो करेन्सीलाई सदा प्रतिबन्ध लगाउनेतर्फ भन्दा पनि अब यसलाई प्रयोग गरी मुलुकले अधिकतम फाइदा कसरी लिने भन्नेतर्फ नेपाल राष्ट्र बैङ्‍कले अध्ययन गर्न र नेपाल सरकारलाई समयमै सही नीति बनाउन सुझाव दिनु उचित हुन्छ कि ? उल्लिखित वस्तुस्थिति तथा जोखिमको कारणले सरकारले नेपाली नागरिकलाई क्रिप्टो करेन्सीमा लगानी र कारोबार गर्नमा तुरन्तै खुला गर्न सक्ने देखिँदैन। नेपालमा भर्चुअल करेन्सी/क्रिप्टो करेन्सी तत्कालका लागि पूर्णतः दुरुत्साहन नै गर्नु उचित हुन्छ। यद्यपि माथि उल्लिखितलगायतका सम्भावित जोखिमको पूर्वपहिचान गरी क्रिप्टो माइनिङ गर्ने प्रयोजनका लागि भने तोकिएको क्षेत्र र सर्तमा विदेशी लगानीकर्तालाई क्रिप्टो करेन्सी माइनिङ उद्योग खोल्न र सञ्चालन गर्न कानुन बनाएर नै इजाजत दिनेतर्फ आवश्यक कदम चाल्न ढिला गर्न हुँदैन।