• ८ वैशाख २०८१, शनिबार

‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु

blog

गोरखापत्र समाचारदाता

ललितपुर, असोज १० गते । कलाकार सङ्गी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ। पुल्चोकस्थित जिजी मचानमा बुधबार सुरु भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्ति चित्रण गरिएका कलाकृति राखिएको छ। 

एक महिनासम्म चल्ने प्रदर्शनीमा कलाकार श्रेष्ठले रङ र रेखामार्फत जीवन र जगत्का शाश्वत पक्षलाई कलात्मक ढङ्गले उन्नुभएको छ। उहाँले आफ्नी दिवङ्गत आमा अम्बिकादेवी श्रेष्ठको स्मृतिमा कला प्रदर्शनी गरिएको बताउनुभयो। 

कलाकार श्रेष्ठले आफ्ना कलाकृतिमा देखिने महिला आकृतिका टीका र सिन्दूर पनि आमाबाटै प्रभावित भएर बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “टीकाले उहाँको निधारमा झैँ मेरा चित्रका महिला आकृतिले पनि एउटा सम्पूर्णता पाएको आभास म गर्दछु। मेरा हरेक कलायात्रामा गर्व गर्ने एक महŒवपूर्ण साक्षी मैले गुमाएकी छु तर आजसम्म पनि मलाई उहाँ यतै कतै हुनुहुन्छ जस्तो आभास भइरहन्छ। उहाँका स्पन्दनहरू महसुस भइरहन्छ।” 

प्रदर्शनीमा जिजी मचानका निरज कोइरालाले तीन दशकदेखि कला क्षेत्रमा सक्रिय श्रेष्ठले कला क्षेत्रमा छुट्टै स्थान बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “उहाँजस्तो प्रभावशाली कलाकारको कला प्रदर्शनी आयोजना गर्न पाउँदा खुसी लागेको छ।”

कार्यक्रममा कवि विप्लव प्रतीकले आफू श्रेष्ठका कलाको पारखी भएको बताउनुभयो। श्रेष्ठका कलाकृति हेर्दा आनन्द महसुस हुने जिकिर गर्दै उहाँले कलामा रङ र रेखाको संयोजन मनमोहक लाग्ने सुनाउनुभयो। नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले श्रेष्ठका कलाकृतिमा बेग्लै प्रकारको आकर्षण रहेको विचार व्यक्त गर्नुभयो।