काठमाडौं, असार ९ गते । साहित्यकार पुष्पराज पौडेलको संस्मरण कृति ‘देशाटन : घुम्दै, फिर्दै जिल्ला–जिल्ला’ आज काठमाडौँमा लोकार्पण गरियो ।
आवरण प्रकाशनद्वारा प्रकाशित तथा आयोजित समारोहमा साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले कृति लोकार्पण गर्दै देशाटनले संक्षेपमा देशका सबै जिल्ला घुमाएको अनुभूति भएको बताउनु भयो । नेपाली साहित्यमा संस्मरण विधाको लोकप्रियता बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
साहित्यकार तीर्थराज वन्तले लेखक पौडेल रेडक्रसकर्मीका नाताले नियमितरूपमा डायरी लेख्ने भएकाले कृति प्रकाशन गर्न सहज भएको जानकारी दिनु भयो ।
पत्रकार तथा समीक्षक राजकुमार बानियाले जीवनको गतिशीलता नै यात्रा लेखनको चिनारी भएको जानकारी दिनुभयो । कृतिकार पुष्पराज पौडेलले देशका सबै जिल्ला घुम्दाका सम्झनाहरू अहिले पनि ताजै भएर सल्वलाएको हुँदा देशाटनको रूपमा प्रकाशन गरेको बताउनु भयो ।
आवरण प्रकाशनका प्रबन्ध निर्देशक, कवि कलाकार रमेश पौडेलले देशाटनले संस्मरण विधाको लोकप्रियतालाई बढाउने गरी न्यू मिडिया शैलीमा विश्वव्यापी बनाउने समेत जानकारी दिनुभयो । साहित्यकार मुकुन्द पौडेलको सभापतित्वमा भएको सो समारोहमा विकास विषय विज्ञ गोविन्द पौडेल र मारिया अधिकारीले कृतिकार पौडेलको रेडक्रस र साहित्यिक व्यक्तित्त्वमा बारेमा चर्चा गर्नुभयो । समारोहमा प्रकाशकका तर्फबाट प्रमुख अतिथि डा. भट्टराईलाई उहाँकै मुहार चित्र उपहार प्रदान गरिएको थियो ।
समारोहमा साहित्य, समाजसेवा र चिकित्सा क्षेत्रका अतिथिहरूको सहभागिता थियो । कृतिकार पौडेलका यस अघि रेडक्रकिर्मी ऊ, शिक्षाका ती दिन र सयपत्री आदि प्रकाशित भइकेका छन् । ‘देशाटन : घुम्दै, फिर्दै जिल्ला–जिल्ला’ २२४ पृष्ठको छ भने मूल्य ५०० रुपियाँ राखिएको छ ।