गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ९ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवका अवसरमा आइतबार ‘जेन–जी र साहित्य’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कवितालाई कसरी नयाँ स्वरूप दिने भन्ने कुरामा जोड दिनुभयो । उहाँले ‘जेन–जी’ पुस्ता जस्तै नयाँ नयाँ विषय जोडेर कवितालाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानको काव्य विभाग प्रमुख बाबा बस्नेतले पहिलाको पुस्ताबाट पनि हामी दबाबमै परेका थियौँ भन्दै थप्नुभयो, ‘‘हामी स्वतन्त्र रूपले बाँच्न नपाउँदा कतिपय ठाउँमा हाम्रा विचार पूर्ण रूपले विकसित हुन पाएनन् ।’’ उहाँका अनुसार अहिलेका ‘जेन–जी’ पुस्तालाई नबुझ्दा, अध्ययन नगर्दा हामी उनीहरूबाट पनि विस्थापित हुन बेर छैन । उहाँले भन्नुभयो, “यो पुस्ता यस्तो महत्वपूर्ण छ । उनीहरूको इच्छा आकाङ्क्षा बुझ्नु पर्छ । दबाब दिनु हुँदैन । उनीहरूलाई बुझेर हामी अगाडि बढेनौँ भने ‘जेन–जी’ पुस्ता हामीबाट टाढा हुनसक्दैन भन्न सकिन्न ।”
कार्यक्रममा डा. अशोक थापा, सविता गौतम, प्राज्ञ राजन मुकारुङलगायतले आआफ्ना तर्क दिनुभएको थियो । त्यस्तै कार्यक्रममा डा. केशव सिलवालले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सजना शाह र प्रशंसा गुरुङले टिप्पणी गर्नुभएको थियो ।