• १३ साउन २०८१, आइतबार

घरपालुवा ढोईलाई जङ्गली मत्ताकै भर

blog

वसन्त पराजुली 

खोरसोर (सौराहा), असोज ८ गते । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रमा रहेका ढोईलाई प्रजननका लागि अझै पनि जङ्गली मत्ताकै भर पर्नुपर्ने अवस्था छ। प्रजनन केन्द्रमा मत्ता हात्ती नभएपछि जङ्गलीकै भर पर्नुपर्ने अवस्था आएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाका प्रमुख मोहोनपुरन चौधरीले बताउनुभयो। 

“प्रजनन केन्द्रमा अहिले मत्ता छैन, सबै ढोई जङ्गली मत्ताबाटै प्रजनन भइरहेका छन्,” उहाँले भन्नुभयो, “अहिले प्रजनन केन्द्रमा रहेका १२ वटा गर्भवती ढोई सबै जङ्गलीकै बीज हुन्।” गत असार १७ गते ऐश्वर्यमलाले जन्माएको दोस्रो छावा रमेशगजको बाबु जङ्गली चर्चित मत्ता धुव्रे हो। हात्ती सुसारे रमेश चौधरी हात्ती चराउने क्रममा बाघको आक्रमणमा मारिएपछि उनकै सम्झनामा नयाँ जन्मिएको छावाको नाम रमेशगज राखियो। प्रजनन केन्द्रमै गत भदौ १२ गते जन्मिएकी स्वर्णकलीको बाबु जङ्गली मत्ता रोनाल्डो हो। पछिल्लो छ महिनामा प्रजनन केन्द्रमा रमेशगज र स्वर्णकलीजस्तै छवटा छावा जन्मिएकामा सबैका बाबु जङ्गली मत्ता भएको केन्द्रका कर्मचारी बताउँछन्। 

केन्द्रकै पूर्वप्रमुख रामेश्वर चौधरी जङ्गलीले कतिपय अवस्थामा ढोईलाई जङ्गलमै लाने र कतिपय भने प्रजनन केन्द्रमै आएर सहवास गर्ने गरेको सुनाउनुहुन्छ। “वयस्क ढोई जब रजस्वला भएर चौलानीजस्तो रातो मिसिएको तरल पदार्थ फाल्छे अनि बुझ्नुपर्छ यसले मत्ता खोजेकी छे,” उहाँले भन्नुभयो, “रजस्वला भएको चौथो वा पाँचौँ दिनदेखि योनी फुलेर आउँछ। यहीबेला जङ्गली मत्ता प्रजनन केन्द्रमै आएर तीन÷चार दिनसम्म बसेरै सहवास प्रक्रियामा भाग लिन्छ।” ढोई सहवासका लागि तयार भएको जङ्गली मत्ता आफैँले बुझ्ने उहाँले बताउनुभयो। 

“सुरुसुरुमा ढोई डराउँछे अनि लजाउँछे पनि। भालेले सुँडले आफ्नो गालामा म्वाइँ खाने, गर्धनमा अँगालो हाल्ने, शरीरका विभिन्न भागमा छोएर फकाउँदा पनि सहवासका लागि ऊ तयार हुन्न,” पोथीलाई सहवासका लागि राजी गराउन भालेले पहिला जबरजस्ती गर्नुपर्ने जनाउँदै रामेश्वरले थप्नुभयो, “जब भालेले पहिलो पटक जबरजस्ती सम्भोग गर्छ अनि ढोई रत्तिएर आफ्नो सुँडले पनि भालेलाई म्वाइँ खाने, अँगालो हाल्ने र छिल्लिनेजस्ता क्रियाकलाप गर्छे।”

निकुञ्जकै बगई पोस्टमा रहेको नारायणीकलीलाई ध्रुवे हात्तीले २०७६ चैत ८ गते ‘छनुवा’ अर्थात् खुट्टामा बाँधेको साङ्लो छिनाएर भगायो। तीन दिनसम्म जङ्गलमै आपसमा रोमान्स गरेपछि नारायणीकली चैत ११ गते मात्रै आफ्नो पोस्टमा फर्किई। यसैगरी २०५२ चैत ५ गते रोनाल्डोले महेन्द्रकलीलाई प्रजनन केन्द्रबाटै लग्यो। खुट्टामा लगाएको साङ्लो छिनाएर भगाएको महेन्द्रकलीसँग उसले तीन दिनसम्म जङ्गलमै मोजमस्ती ग¥यो। यौन इच्छा पूरा भएपछि रोनाल्डो आफ्नो बाटो लागेपछि एक्लिएकी महेन्द्रकली आफ्नै घर फर्किई।  

घरपालुवा ढोईसँग सम्भोग गर्न आउने जङ्गली मत्तालाई निकुञ्जमा ‘ज्वाइँ राजा’ भन्ने गरिन्छ। चितवनमा यस्ता ज्वाइँ राजा हात्ती नानापाटेघर, धु्रवे, गोविन्दे, रोनाल्डो, कृष्णे आदि छन्। केन्द्रका माउते सञ्चलाल पाख्रिन भन्नुहुन्छ, “पहिलापहिला प्रजनन केन्द्रमा हात्ती प्रजननकै लागि पाँचवटा भाले हात्ती पालिन्थे। तीनैबाट ढोईलाई प्रजनन गराइन्थ्यो तर अहिले जङ्गली हात्तीले प्रजनन गर्न थालेपछि घरपालुवा भाले हात्ती प्रजनन केन्द्रबाटै हटाइएको छ।” 

 २०५७ सालमा जङ्गली हात्तीको आक्रमणमा प्रजनन केन्द्रको धीरेन्द्रप्रसाद हात्ती मरेको थियो। २०४२ सालमा स्थापना भएको केन्द्रमा २०५४ सालयता ६१ वटा छावा जन्मिएकामध्ये प्रायः जङ्गलीकै सन्तान भएको केन्द्रले जानकारी दिएको छ।