• ११ मंसिर २०८१, मङ्गलबार

डेंगु सङ्क्रमितको सङ्ख्या १७ हजार पुग्यो, २४ घण्टामा एक जनाको मृत्यु

blog

काठमाडौं, असोज ४ गते। पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २४ घण्टामा एक हजार सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये एक जनाको मृत्यु भएको छ। 

यो सँगै नेपालमा २१ जना डेंगु सङ्क्रमितको मृत्यु हुनुका साथै  ७५ जिल्लाबाट १७ हजार ५९४ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ। 

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ९४७ जनामा भएको छ। यस्तै, लुम्बिनीमा दुई हजार ६४३, प्रदेश १ मा ५६०, सुदूरपश्चिममा ५६७, गण्डकीमा ४०९, मधेश प्रदेशमा २६१ र  कर्णाली प्रदेशमा २०७ जनामा डेंगु पुष्टि भएको छ।

जिल्ला अन्तर्गत सबैभन्दा बढी लतिलपुरमा चार हजार ८७८, काठमाडौंमा चार हजार ६७४, मकवानपुरमा एक हजार ६१०, दाङमा एक हजार १४९, भक्तपुरमा ७१३, रुपन्देहीमा ६७९, चितवनमा ४२९, गुल्मीमा २९२, दार्चुलामा १९२, काभ्रे १५६, गरेर १० जिल्लामा सबैभन्दा बढी १४ हजार ७७२ जनामा डेंगु सङ्क्रमित भएका छन्।

नेपालमा हरेक दुई तीन वर्षको अन्तरालमा डेंगु रोग प्रकोपका रूपमा देखा पर्ने गर्छ। यसअघि २०१९ मा प्रकोपका रूपमा फैलिएको थियो। सोही समयमा १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो।

चिकित्सकका  अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्।

एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ।

मन्त्रालयले लामखुट्टेले फुल पार्ने ठाउँ खोजेर नष्ट गर्न अनुरोध गरेको छ।