• १३ वैशाख २०८१, बिहिबार

नेपाल फाइनलमा फेरि स्तब्ध

blog

काठमाडौं, असोज ३ गते । हरेक संस्करणमा साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि चुम्ने धोको राखेको नेपाल यसपटक पनि स्तब्ध बनेको छ । दशरथ रंगशालामा सोमबार साँझ करिव १६ हजार दर्शकको साथमा फाइनल खेलेको नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भयो । नेपालको तुलनामा चुस्त खेल प्रदर्शन गरेको बंगलादेशले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेको गियो । 

यता पहिलो हाफको तुलनामा दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको नेपालले एक गोल फर्काएपनि जितको लय समाउन सकेन । साफले छैटौं संस्करण पूरा गर्दा पाँच पटक फाइनलमा पुगेको नेपाल फेरि उपविजेतामै खुम्चियो । नेपाल यसअघि सन् २००१६ मा फाइनल पुग्नबाट चुकेको थियो । 

खेलभर एउटै पेसमा उत्रिएको बंगलादेशको जितमा श्रीमोती कृष्णारानी सरकारले दुई तथा शामसुनाहरले एक गोल गर्नुभयो । नेपालकी अनिता बस्नेतको गोल सान्त्वनामा परिणत भयो । बंगलादेशले १४औं मिनेटमा खाता खोलेको थियो । शामसुनाहरले मोनिका चक्माको पासमा वान टच जाली चुमाउनुभयो । जुन बल नेपालकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको हातमा लाग्दै गोल भएको थियो । 

शामसुनाहर १०औं मिनेटमा जहान सोप्ताको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो । त्यसपछि ४२औं मिनेटमा कृष्णारानीले वान भर्सेस वानको अवस्थामा गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाउनुभयो । 

दोस्रो हाफमा केही सुधार गरेको नेपालले ७०औं मिनेटमा गोल गर्दै खेलमा फर्कने आश जगाएको थियो । अनिता बस्नेतले एकल प्रयासमा गोल गर्दै घरेलु सर्मथकको मन जित्नुभयो । तर ७७औं मिनेटमा श्रीमोतीले वान भेर्सेस वानकै अवस्थामा गोल गरेपछि बंगलादेश साफको नयाँ विजेता बनेको छ । 

यससँगै बंगलदेशले साफ महिला फुटबलमा पहिलो पटक च्याम्पियनको इतिहास रचेकोे छ । मध्य भागमा औसत प्रदर्शन गरेको नेपालको फिनिसिङ लाइन कमजोर बन्यो । नेपालले खेलमा तीनवटा थप गोल गर्ने अवसर बनाएको थियो ।

तर नेपालको प्रयासमा बंगलदेशको रक्षापंक्ति हावी बन्यो । दोस्रो हाफको सुरुमै अनिता केसीको स्थानमा मैदान प्रवेश गरेकी सावित्रा भण्डारीले पनि कुनै चमत्कार देखाउन सक्नुभएन । साफमा बंगलादेशले नेपाललाई हराएको पनि यो पहिलो पटक हो । 

ब्यक्तिगत अवार्डमा बंगलादेशको बर्चस्व

समूह चरणदेखिनै अब्बल खेल खेलेको बंगलादेशले ब्यक्तिगत उपाधिमा बर्चस्व जमायो । सबै उपाधि जितेको बंगलालेशकी कप्तान सविना खातुन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी हुनुभयो । 


आठ गोल गर्नुभएको सविनाले सर्वाधिक गोलकर्ताको अवार्ड पनि जित्नुभयो । उत्कृष्ट गोलरक्षकको उपाधि बंगलादेशकै रुपना चक्माले जित्नुभयो । प्रतियोगिातको फेयर प्ले ट्रफी अवार्ड पनि बंगलादेशकै पोल्टामा परेको छ । 

प्रशिक्षक कुमारको टोली छाड्ने घोषणा

नेपाललाई उपाधि जिताएर छाड्ने बाचा गर्नुभएका नेपालका मुख्य प्रशिक्षक कुमार थापाले आजै पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । 

‘‘मैले जुन लक्ष्यका साथ टोली सम्हालेको थिए । त्यो पूरा गर्न सकिन । नेपाली दर्शकको फुटबल मायालाई म सलाम गर्छु । पद ओगटेर बस्नु हुन्न । आफुले बनाएको योजना सफल नभएपछि चुईगम झै टाँसिएर बस्ने मेरो बानी छैन । यसअघि पनि उपविजेतामै सिमित भयौं । यसपटक राम्रो मौमा थियो । तर लामो तयारी र राम्रो खेलेपनि हामी चुक्यौं, मैले सकेको मिहेनत गरेर सबै दिएँ । तर उपाधि दिन सकनि,’’ थापाले भन्नुभयो । 

उहाँले बंगलादेशले पहिलेको भन्दा उत्कृष्ट प्रदर्शन गरेको पनि बताउनुभयो । नेपालको फुटबल विकास गर्न एन्फाले नयाँ योजना बनाउनु पर्ने उहाँको तर्क थियो । ‘‘विभागीय टोलीले मात्र फुटबल थेग्दैन । यसको लागि एकेडेमी स्तरबाटै सोच्नु पर्छ, त्यो एन्फाको काम हो,’’ थापाले भन्नुभयो । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा उपाधि गुमेको हो । फुटबलमा हार जित स्वभाविक हुन्छ थापाको कथन थियो । 

नेपालकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले पनि सक्दो प्रयास गरेपनि उपाधि जिताउने धोको पूरा नभएको बताउनुभयो । ‘‘हाम्रो अनुभवको कमी छ । अरु देश विस्तारै बलियो हुँदै आएका छन् । खेलाडीले म्याच एक्सपोजर नपाउँदा गाह्रो हुन्छ । वर्षमा एउटा पनि प्रतियोगिता राम्ररी नहुँदा उपाधि जित्न गाह्रो भयो,’’ सुब्बाले गुनेसो गर्नुभयो । 

हामी च्याम्पियनको हकदार थियौं : गोलोन 

खेलपछि बंगलादेशका प्रशिक्षक गोलोन रब्बानीले आफ्नो टोली उपाधिको हकदार रहेको बताउनुभयो । ‘‘हामीले सबै खेल एउटै पेसमा खेल्यौं । सन् २०१६ देखि गरेको मिहेनतको प्रतिफल हो यो । दक्षिण एसियामा भारत बलियो टोली हो । नेपाल पनि राम्रो छ । तर हामी अहिले बलियो भएर आएका थियौं । नम्बर एक बन्न पाउँदा खुशी छौं । अझै मिहेनत गरेर अगाडि जानेछौं,’’ गोलोनले भन्नभयो । 

नेपाली दर्शकको क्राउडले आफ्नो प्रदर्शनलाई कमि हुन नदिएको गोलोनको भनाई थियो । ‘‘घरेलु क्राउडमा पहिलो गोल गरेपछि उल्टै नेपाल दबाबमा रह्यो । हामीले सोचेजस्तै खेल्यौं,’’ उहाँले भन्नुभयो । 

बंगलादेशकी कप्तान सविना खातुनले उपाधिले बंगलादेशको महिला फुटबल र आफुहरुको करियर अगाडि बढाउन थप सहयोग पुगेको बताउनुभयो । सन् २०१० देखि सुरु भएको महिला साफको सबै संस्करण खेल्दै आउनु भएकी सविनाले ब्यक्तिगत उपाधि जितेर थप अब्बल भएको प्रमाण पेश गरेको पनि बताउनुभयो । 

क्षमताभन्दा बढि दर्शक 

सन् २०७२ सालको भूकम्पपछि दशरथ रंगशालाको प्यारापिट क्षमता खुम्चिएको छ । करिव १३ हजार दर्शक अट्ने दर्शक रंगशालामा यसपटक दर्शकको ओइरो लाग्यो । 

एन्फाको अनुसार १५ हजार सातसय भन्दा बढी दर्शकले नेपाल र बंगलादेशको फाइनल प्रतक्ष्य हेरेका छन् । तीन सय र पाँच सय रुपियाँको दरले टिकट काटेका दुई हजार दर्शकले प्यारापिटको क्राउडले गर्दा दशरथ रंगशाला भित्र पस्नै पाएनन् । 

यसअघि नेपालका २०७५ सालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनलमा दशरथ रंगशालामा धेरै दर्शक आएका थिए । नेपाली महिला फुटबलले सर्वाधिक दर्शकको साथ पाएको भने यो पहिलो पटक हो । 

तीन खेलाडीको सन्न्यास 

यसैबीच बंगलादेशको खेलबाट नेपाली महिला टोलीका तीन जना खेलाडीले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका छन् । फाइनलमा उपाधिसहित सन्न्यास लिन चाहनुभएकी रक्षक पुनम जर्घामगर तथा मिडफिल्डर दीपा राई र इन्दिरा राईले औपचारिक सन्यासको घोषणा गर्नुभएको हो ।

तर फाइनलमा पराजित भएसँगै उहाँहरुको चाहना सार्थक भएन । तीन खेलाडीलाई एन्फाका अध्यक्ष पकंजविक्रम नेम्वाङ र राखेपका सदस्य सचिव टंकलाल घिसिङले एन्फा ब्याचसहिको कोट प्रदान गर्दै विदाइ गर्नुभएको थियो ।