• २ भदौ २०८२, सोमबार

अस्ट्रेलियामा नेपालको लगातार दोस्रो हार

blog

बलिङ गर्दै नेपालका सन्दीप लामिछाने । तस्बिर : क्यान

काठमाडौँ, साउन ३१ गते । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’ सँग ३२ ले पराजित भएको छ । 

डार्विनको मरारा क्रिकेट मैदानमा शनिबार जितका लागि एक सय ८७ रनको प्रतिस्पर्धात्माक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५४ रनमा समेटिएको थियो । 

नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार नेपाल आफ्नो पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५९ रन बनाउनुभयो । उहाँले ४७ बलमा ६ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । 

यस्तै आशिफ शेखले २८, लोकेश बमले १५, नन्दन यादवले अविजित १४, कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १० रन बनाउनुभयो । बलिङमा बङ्गलादेशका रकिबुल हसनले तीन विकेट लिनुभयो । हसन महमुदले दुई तथा टोफेल अहमद, र रिपोन मेनडोलले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बङ्गलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८६ रन बनाएको थियो । बङ्गलादेशका लागि ओपनर जिसम आलमले सर्वाधिक ७३ रन बनाउनुभयो । यस्तै अफिफ हुसेनले अविजित ४८, मोहमद नईमले २५ र सैफ हसनले ११ रन बनाउनुभयो । 

बलिङमा नेपालका रिजन ढकालले दुई विकेट लिनुभयो । सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले एक एक विकेट लिनुभयो । नेपाल सिरिजको पहिलो खेलमा शुक्रबार स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो । 

नेपालले अब १८ तारिख मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्ने छ । यस सिरिजमा ११ टोलीको सहभागिता रहेको छ । 

यस सिरिजपछि नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग पाँच वटा अभ्यास खेल पनि खेल्ने पक्का भएको हो ।

नेपालले अगस्ट २६ मा एसिटी तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई दुई वटा टी–२० खेल खेल्ने छ । यस्तै अगस्ट ३० तारिख साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ । 

नेपालले अष्ट्रेलिया भ्रमणलाई आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ ।