• २ भदौ २०८२, सोमबार

टप एन्ड टी–२० सिरिज : नेपालको लगातार तेस्रो हार

blog

मेलबर्न स्टार्सविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, भदौ २ गते । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार खेपेको छ । डार्विनस्थित टिआइओ मैदानमा सोमबार भएको खेलमा नेपाल स्थानीय मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रन र दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । 

जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४४ रनमा समेटिएको थियो । नेपालका लगि  आसिफ शेखले सर्वाधिक ५३ रन बनाउनुभयो ।

यस्तै कप्तान रोहितकुमार पौडेलले ३३, कुशल भुर्तेलले २५ र कुशल मल्लले ११ रन बनाउनुभयो । बलिङमा मेलबर्नका अस्टिन एनलेजार्क र डग वारेनले दुई दुई तथा आर्यन शर्मा र क्रिस होवेले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाउनुभयो । यस्तै थोमस रोजर्सले ६५ र साम हार्परले अविजित ११ रन बनाउजनुभयो । 

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । सोमपाल कामी र शाहब आलमले एक एक विकेट झार्नुभयो । नेपालले चौथो खेल मङ्गलबार होबार्ट हुरिकेन्ससँग खेल्नेछ । त्यसपछि नेपालले अगस्ट २० मा मेलबर्न रेनेगेड्स र २२ तारिख पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ । यस सिरिजमा ११ टोलीको सहभागिता छ । 

यस सिरिजपछि नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग पाँच वटा अभ्यास खेल पनि खेल्नेछ । नेपालले अगस्ट २६ मा एसिटी तथा अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दुई दुई वटा टी–२० खेल खेल्नेछ ।

यस्तै अगस्ट ३० तारिख साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्नेछ । नेपालले अष्ट्रेलिया भ्रमणलाई आगामी अक्टोबरमा आयोजना हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ ।