• १८ कात्तिक २०८१, आइतबार

पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ

blog

गलकोट, भदौ ३० गते ।विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पाहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसक्नुभएको छ ।

पर्यटकलाई भकुण्डे हुँदै बौडैचारबाट बौरसम्मको तीन दिन पैदलयात्राका लागि समेत अध्ययन भइसकेको बताउनुभयो । “भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्य र अर्ग्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रुचाएपछि मैले दुई चरणसम्म पर्यटक ल्याएँ, कोरोनापछि केही पर्यटक आउन ठिक्क परे पनि ल्याउन सकिएन”, ज्याकले भन्नुभयो, “अब भकुण्डेमा एक दिन बिताएपछि सिगानाको बौडैचोर हुँदै काठेखोला गाउँपालिका–७ रेशको बौरसम्म पैदल मार्गमा विदेशी पर्यटक ल्याउने योजनामा छु ।” अहिले उक्त मार्गको अध्ययन सकिएको ज्याकको भनाइ छ ।

यसो त बागलुङ सदरमुकाम घुम्नका लागि आउनेहरू आन्तरिक पर्यटकको पहिलो प्रश्न हुन्छ बागलुङ बजारबाटै छोटो दूरीमै घुम्ने, खाने र बस्ने राम्रो स्थान कहाँ छ ? बागलुङका अधिकांश होटल व्यवसायीलाई आउने प्रश्नको जवाफ हुन्छ पर्यटकीय गाउँ भकुण्डे । दश वर्षअघिसम्म गुमनाम रहेको यो गाउँ अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक, संस्कृति र घरबासका कारण अहिले बागलुङ आउने पर्यटकको पहिलो रोजाइ बन्दै आएको छ बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँ ।

बागलुङ बजार आएका स्वदेशी तथा विदेशी पाहुनाहरू अहिले पदमार्ग र सडक मार्ग भएर दुई घण्टामै मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ जाने गर्दछन् । प्रकृतिको बरदानको रूपमै रहेको भकुण्डे गाउँमा जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएपछि पर्यटकीय रौनकता थपिएको बासिन्दा स्थानीय खिमबहादुर थापाको बताउनुहुन्छ । अतिथि सत्कार सामुदायिक घरबासको अध्यक्ष समेत रहनुभएका थापाका अनुसार भकुण्डे गाउँमा पछिल्लो समय पर्यटकीय पदमार्ग, सङ्ग्रहालय, ताल संरक्षण र उद्यान निर्माणलगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरू समेत निर्माण भइसकेको छ ।

किन लोभिन्छन् भकुण्डेमा पर्यटक

एउटा पर्यटकीय गन्तव्य बन्नका लागि धेरै कुराको मेल खान आवश्यक हुन्छ । सहज पहुँच, प्राकृतिक र भौतिक संरचना र दृश्यावलोकन । नभन्दै यस गाउँमा तालदेखि दृश्यावलोकन स्तम्भसम्म र सङ्ग्रहालयदेखि उद्यानसम्मको पूर्वाधार निमार्ण गरिएको छ । भकुण्डेको मध्यभागमा छ सुन्दर बराह ताल छ । बराह तालमा पर्यटकको माग अनुसार डुङ्गासमेत शेयर गर्न सकिन्छ । यहाँको कला संस्कृतिसँगै अर्ग्यानिक खानाका परिकार र न्यानो आथित्यताले यहाँ आउने पर्यटकहरू लोभिने गरेका छन् ।

तालको छेउबाटै बागलुङ बजारको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । भकुण्डेस्थित मुलावारीमा हिराताल भने बिस्तारै सुक्दै गएको छ । सोही तालको शिरमा एक करोड लागतमा निर्माण गरिएको दृश्यावलोकन स्तम्भबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रेसहित एक दर्जन हिमशृङ्खलाको मनोरम दृश्य आँखामा कैद गर्न पाइन्छ । समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको दृश्यावलोकन स्तम्भबाट देखिने सूर्योदयका दृश्यले पर्यटकहरू सम्मोहित हुने गरेका छन् ।

घरबासमा आएका पहुनाको स्वागत र बिदाइ गर्ने संस्कारले घरबासमा आउने पर्यटकहरू लोभिन्छन् । यहाँले मगर सङ्ग्रहालयले स्थानीय जीवनशैलीलाई जीवन्त तुल्याएको छ । भकुण्डेबाट केही बेरको पदयात्रामै वलेवामा रहेको प्रसिद्ध कालभैरव मन्दिरको दर्शन समेत गर्न सकिन्छ । घरबास पर्यटनका अभियन्ता क्याप्टेन रुद्रमान गुरुङको नाममा भकुण्डेमा उहाँको सहिदसहितको उद्यान समेत निर्माण भइरहेको छ । क्याप्टेन रुद्रमानले नै नेपालको पहिलो घरबासको रूपमा स्याङ्जाको सिरुवारिमा घरबास सञ्चालन गर्नुभएको थियो ।

आन्तरिक पर्यटकको आकर्षण केन्द्रका रूपमा लिए पनि यहाँको घरबास विदेशी पर्यटकहरू हेलिकप्टरमार्फत समेत आउने गरेका छन् । भकुण्डेमा चीन, कोरिया र जापान, अमेरिकालगायतका देशबाट पर्यटकहरू आउने गर्दछन् । घरबासको प्रचार प्रसारका कारण भेगन अर्गनाइजेशनमा आबद्ध विभिन्न देशका पर्यटकहरू पदयात्रा गर्दै यहाँ आउन थालेका छन् । साहसिक पर्यटकको गन्तव्य बनेको कुस्माको बन्जी पुलमा आएका पर्यटकहरूमध्ये केही पर्यटक बागलुङ कालिका दर्शनपछि भकुण्डे पुग्ने गरेका छन् ।

खानेपानी र सडक सुधारको आवश्यक

घरबासका कारण भकुण्डे गाउँको मुहार फेरिएको भए पनि यहाँ आउने सडक मार्ग भने सुधार गर्न आवश्यक रहेको बागलुङ नगरपालिका–१० का वडाध्यक्ष तीलबहादुर थापाले बताउनुभयो । थापाका अनुसार यहाँ आउने पर्यटकलाई सडक मार्गको स्तरोन्नति नहुँदा सास्ती छ, बरु हिँडेर छिटो आउन सकिन्छ तर सडक मार्गमार्फत ढिलो हुने गरेको छ, पर्यटकको विकास भइसकेको स्थानमा पक्की सडक पुर्याउन पहल भइरहेको उहाँले बताउनुभयो । 

“यहाँका महिलाहरू चुलाचौकामा मात्रै सीमित थिए, अहिले पर्यटकका कारण यहाँका महिलाले घरबास सञ्चालन गरी राम्रो आम्दानी समेत गर्दै आएका छन्, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण भकुण्डेमा अन्य विकासका पूर्वाधारहरू समेत निर्माणले गति लिएको छ” थापाले भन्नुभयो “अहिले मुख्य समस्या भनेको पानी र सडकको सुधार हो । खानेपानीको चरम समस्या रहेको भकुण्डे गाउँमा प्रत्येक घरमा बर्खाको पानी सङ्कलनका लागि घैटो निर्माण गरिएको छ । केही वर्ष यता भकुण्डेको घरबास गाउँमा लिफ्ट मार्फत खानेपानी ल्याउनका लागि खानेपानी योजना निर्माणाधीन अवस्थामा रहेको छ ।”

भकुण्डे विशेष पर्यटकीय क्षेत्र घोषणाको तयारी

बागलुङ नगरपालिकाको पहलमा भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रूपमा औपचारिक घोषणा गर्ने तयारी रहेको छ । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार बागलुङ नगरपालिकाको भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र घोषणा गरेर थप विकास गर्ने तयारी रहेको बताउनुभयो । “गण्डकी प्रदेशको पर्यटन मन्त्रालयसँग मैले कुरा गरेको छु, बागलुङ नगरपालिकाले पर्यटनकै शीर्षकमा बर्सेनि बजेट हाल्ने गरी भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरे अगाडि बढ्नेछ” उपप्रमुख खड्काले भन्नुभयो । भकुण्डे बागलुङ जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य भइसके पनि पर्यटकीय पूर्वाधारमा जोड दिइएको उहाँको भनाइ छ ।

भकुण्डे नजिकै बलेवाको ढिकबाट प्याराग्लाइडिङ समेत गर्नका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले पूर्वाधार निर्माण गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सुरु भएपछि सराङ्कोटको प्याराग्लाइडिङ गुम्ने खतरा छ । त्यसको विकल्पको रूपमा उक्त स्थानलाई लिन सकिने भन्दै प्याराग्लाइडिङका लागि पूर्वाधार निर्माण भइसकेको छ भने प्याराग्लाइडिङको सफल परीक्षण समेत भइसकेको छ । 

पर्यटकको आकर्षण अर्ग्यानिक परिकार

भकुण्डे गाउँमा उत्पादन भएका अर्ग्यानिक परिकारले समेत पर्यटकहरूलाई थप आकर्षण गरेको छ । अहिले यहाँका आठ घरमा घरबास सञ्चालन गरिएको छ । भकुण्डे घुम्न आएका पर्यटकहरूको बसाई लम्बाउनका लागि स्थानीय परिकारले सहयोग पुर्‍याएको घरबासका सञ्चालक इन्द्र कुमारी थापाले बताउनुभयो । 

विसं २०७३ मा पर्यटन कार्यालय पोखराबाट दर्ता भई आधिकारिक रूपमा सञ्चालनमा आएका यहाँको घरबासमा एकै रात ५० जनाभन्दा बढी पाहुना राख्न सकिने क्षमता रहेको घरबास सञ्चालक अप्सरा थापाले बताउनुभयो । सामुदायिक घरबासमा पछिल्लो पटक पहुनाको रोजाइअनुसारको सेवा सुविधा दिइँदै आएको छ । सामुदायिक घरबासबाहेक भकुण्डेमा अन्य व्यक्तिगत रेष्टुरा र होटल समेत सञ्चालित छन् ।

घरबासमा कोदोको सेल रोटी, गुन्द्रुकको अचार, आलुको परिकार, लोकल खसी तथा कुखुराको मासुको परिकारले पर्यटकहरूलाई लोभ्याउने गरेको घरबास सञ्चालक इन्द्र कुमारी थापाले बताउनुभयो । चिसो स्थानमा फल्ने यहाँका आलुको परिकार र भाङ्गोको अचार समेत निकै स्वादिष्ट हुने गरेको छ । घरबास सञ्चालकहरूले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, मकै, भटमास, साग, सिस्नो, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् भने बस्नका लागि आरमदायी कोठाको सुविधा दिइएको छ । सुरुमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै लगेका छन् । घरबासमा तातो चिसोपानीको व्यवस्थापनसहितको शौचालय र स्नानघरको समेत सुविधा छ ।

स्थानीय उत्पादनहरूको स्वादको मज्जा लिन, हिमश्रृङखलाहरुको मनोरम दृश्य हेर्दै प्रकृतिसँग रमाउन आन्तरिक पर्यटकहरू घरबाससम्म पुग्ने गरेका छन् । कोरोनाको महामारीको समयमा थलिएको घरबास पर्यटक अहिले पुनः फस्टाउन थालेको छ । वर्षाको समयमा समेत जिल्लाका अन्य घरबास सुनसान भइरहेको बेला यहाँका घरबासमा भने पर्यटकको चहलपहल भइरहेको अतिथि सत्कार घरबासका सञ्चालक थापाले बताउनुभयो । भकुण्डे गाउँमा आउने पर्यटकको कारण यहाँको मुहारै फेरिएजस्तै जिल्लाको अन्य स्थानमा समेत ग्रामीण पर्यटनको अवधारणा ल्याउन सकिनेतर्फ ध्यान दिन थालिएको छ ।