• ३१ वैशाख २०८१, सोमबार

नर्सिङ संघ अध्यक्षसँगको भिडियो कुराकानी

स्वदेशमा उचित अवसर नहुँदा धेरै नर्स विदेशिए

blog

काठमाडौं, भदौ २८ गते। नेपाल नर्सिङ सङ्घका अध्यक्ष प्राध्यापक मनकुमारी राईले स्वदेशमै रोजगारीको अभाव, कम पारिश्रमिक र काम अनुसारकोे सुविधा नहुँदा दक्ष नर्स ठूलो सङ्ख्यामा विदेशिनुपरेकोे बताउनुभएको छ। 

विदेशमा नर्स पठाउँदा वा जाँदा छोटो अवधिमा आर्थिकरूपमा फाइदा पुग्ने भए पनि दीर्घकालीन रूपमा, यसले असमान बिरामी र नर्सिङ अनुपातिक अभाव सिर्जना गर्ने उहाँको भनाइ छ। यसले नर्सिङ जनशक्तिलाई बोझ बढेर बिरामीको हेरचाहको गुणस्तर र्‍हास आउने छ र देशमा स्वास्थ्य सेवा महँगो हुन सक्ने आँकलन पनि अध्यक्ष राईको छ।

 अध्यक्ष राईका अनुसार मुलुकमा करिब २५ प्रतिशत अर्थात् २८ हजार नर्स विदेशमा कार्यरत छन् भने देशमा ३२ प्रतिशत अर्थात् ३० देखि ३५ हजार नर्स बेरोजगार छन्। हालसम्म देशमा कुल नर्सिङ उत्पादनको संख्या एक लाख नौ हजार रहेको छ। 

उहाँले भन्नुभयो, ‘बेरोजगारी, कामको अत्यधिक बोझ र देशमा न्यून पारिश्रमिकका कारण नर्स विदेश जान चाहन्छन्।’’ अध्यक्ष राईले निजी क्षेत्रमा नर्सको तलब मासिक पाँच हजारदेखि सुरु हुने र सबैभन्दा बढी ३० हजार रुपियाँ मात्रै रहेको बताउनुभयो। दक्षतालाई आधार मान्ने हो भने यो पारिश्रमिक एकदमै कम हो।

सरकारी क्षेत्रमा नर्सको तलब सुविधा राम्रो भए पनि कुल नर्सिङ जनशक्तिको १३ प्रतिशत मात्र सरकारी क्षेत्रमा काम गर्ने अवसर पाएका छन्। सरकारी क्षेत्रमा रिक्त पद नहुँदा धेरैले सरकारी क्षेत्रमा प्रवेश गर्न पाएका छैनन्। देशमा हरेक वर्ष पाँचदेखि सात हजार नर्स उत्पादन हुने गरेको भए पनि मेडिकल एसोसिएसनले सिट कटौती गरेपछि उत्पादनको सङ्ख्या घट्ने क्रममा छ। 

दक्ष नर्स विदेशिने क्रम रोकिएन भने जनशक्तिको अभावले देशमा विद्यमान नर्सिङ जनशक्तिलाई अझ थप भार पर्ने उहाँको भनाइ छ। यसले गुणस्तरीय स्वास्थ्य सेवामा असर पर्ने उहाँको चिन्ता छ। 

अध्यक्ष राईका अनुसार, कुल बिरामी र नर्सको अनुपात कायम गर्न सकेमा, काम अनुसारको मूल्यांकन गर्न सकेमा यो क्षेत्रमा आकर्षण बढ्छ। एक जना दक्ष नर्सले अस्पतालमा बिरामीसँग १२ घण्टा बिताउनुपर्छ। यसले पनि नर्सिङ क्षेत्रको आकर्षणलाई घटाएको छ। यत्ति मात्र होइन एक जना नर्सले कति बिरामी हेर्ने भन्ने नेपालमा कुनै मापदण्ड छैन। यसले नर्सको कामलाई प्रभावकारी र व्यवहारिक बनाउन सकेको छैन। नर्सिङ क्षेत्रमा तयार भएका दक्ष जनशक्तिलाई उचित पारिश्रमिक, कामको मापदण्ड अनुसार परिचालन गर्न सकेमा हामीले नर्सलाई स्वदेशमा नै रोकेर राख्न सक्ने उहाँको भनाइ छ। नर्सिङ जनशक्ति, उनीहरुको काम र पारिश्रमिकको विषयमा गोरखापत्र अनलाइनका लागि नेपाल नर्सिङ सङ्घका अध्यक्ष प्राध्यापक मनकुमारी राईसँग महिमा देवकोटा र मनोजरत्न शाहीले गर्नुभएको भिडियो कुराकानी :