• १५ वैशाख २०८१, शनिबार

संघीय शिक्षा ऐन छिट्टै नै जारी हुन्छ : शिक्षा सचिव सुवेदी

blog

गोरखापत्र समाचारदाता

                काठमाडौँ, भदाै २७ गते । सरकारले संघीय शिक्षा ऐन छिट्टै नै जारी गर्ने भएको छ । शिक्षा पत्रकार समाज तथा आसमान नेपालले सोमबार राजधानीमा आयोजना गरेको शिक्षा र बालश्रम विषयक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले लामो समयदेखि बहस र पैरवी भइरहेको संघीय शिक्षा ऐन जारी हुने अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

उहाँले शिक्षा क्षेत्रमा रहेका शिक्षक दरबन्दी, शिक्षामा बालबालिकाको पहुँचलगायतका धेरै समस्याको समाधान संघीय शिक्षा ऐन जारी भएपछि हुने विश्वास व्यक्त गर्नुभयो । मधेसका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा भारतस्थित एमभी फाउण्डेसनका आर बैकट रेडीले भारतमा बालश्रम अन्त्यका लागि भएका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले शिक्षकहरु इमान्दार भएर लाग्ने हो भने गरिखाने खालका विद्यार्थी उत्पादन गर्न सकिने विचार व्यक्त गर्नुभयो । शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै सरोकारवालावीचमा सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले मधेस प्रदेशमा शिक्षाको सुधारका लागि भएको प्रयासको बारेमा जानकारी गराउनुभयो ।

 शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल र गोरखापत्रका पत्रकार शेषकान्त पण्डितले मधेस प्रदेशमा विद्यालय क्षेत्रमा देखिएको सुधारको थालनी र समस्याका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।