• १२ साउन २०८१, शनिबार
blog

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ २७ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्काले उत्तरी नाका खुला र सहज बनाउन विशेष पहल भइरहेको बताउनुभएको छ । मन्त्री खड्काले उत्तरी नाकाबाट चीन र तिब्बतसँग व्यापार गर्ने व्यापारी तथा सिन्धुपाल्चोकका जनप्रतिनिधिसँगको भेटमा आइतबार सो जानकारी गराउनुभएको हो । 

सो प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले दुवै नाका पूर्ण रूपमा सञ्चालन गर्न चिनियाँ सरकारसँग छलफल भइरहेको जानकारी दिनुभयो । “दुवै नाकाबाट चाँडोभन्दा चाँडो आयात र निर्यात सहज बनाउन विशेष पहल गरिरहेको छु, दशैँअघि नै आपूर्ति सहज हुने हिसाबले चिनियाँ सरकारसँग सकारात्मक कुरा अगाडि बढेको छ,” परराष्ट्रमन्त्री खड्कालाई उद्धृत गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले बताउनुभयो ।

नेपाली कांगे्रसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार), नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठलगायतको सो प्रतिनिधिमण्डलले दुवै नाका पूर्ण रूपमा सञ्चालनका लागि पहल गर्न आग्रह गरेको थियो ।

सो अवसरमा पूर्वमन्त्री तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेतले दुवै नाका पूर्ण रूपमा सञ्चालनका लागि पहल गर्न मन्त्री खड्कालाई आग्रह गर्नुभएको थियो । 

यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले विभिन्न बहानामा तातोपानी र रसुवागढी नाका पटक–पटक बन्द हुने र खुल्ने क्रमले नाकामा आबद्ध भई व्यापार गर्ने व्यवसायी मारमा परिरहेको जानकारी दिनुभयो । 

परराष्ट्रमन्त्री खड्कालाई दुवै नाका सधैँ पूर्ण रूपमा सञ्चालनका लागि चीन सरकारसँग कूटनीतिक पहलकदमी लिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । अहिले पनि तिब्बतमा लकडाउन भइरहेका कारण नेपाली व्यापारीले आयात गर्न लागेको अर्बौं रुपियाँको सामान चिनियाँ क्षेत्रमा अलपत्र परेको उहाँको भनाइ छ । 

भेटका अवसरमा नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले कुनै पनि बहानामा नाका बन्द नगर्न र आयात–निर्यात, आउजाउ सहज बनाउन सरकारले पहलकदमी लिन मन्त्री खड्कालाई आग्रह गर्नुभएको थियो । उहाँले चिनियाँ क्षेत्रमा रोकिएका सबै मालवाहक कन्टेनर तत्काल छोड्नुपर्ने बताउनुभएको थियो । 

उहाँले नाका अवरुद्ध हुँदा उत्तरी नाकाबाट कारोबार गर्ने व्यापारी, व्यवसायी ऋण तिर्न नसक्ने अवस्थामा पुगेको पीडा व्यक्त गर्नुभयो । यसैबीच उत्तरी नाकामा अड्किएका अर्बौं रुपियाँका सामान छुटाउने पहल गर्न राष्ट्रिय व्यवसायी महासङ्घले सरकारलाई आग्रह गरेको छ । 

चाडबाड नजिकिएको समयमा सामान नाकामै रोकिँदा सामान सड्ने, बिग्रने र उपभोक्ताले अभाव भोग्नुपर्ने अवस्था आएको महासङ्घका अध्यक्ष कुमार कार्कीले बताउनुभएको छ । “उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नुपरेको छ, सयाँै मालवाहक कन्टेनर नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रित अर्बौं रुपियाँका सामान सड्ने, कुहिने र बिग्रने भई नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार हुनेछ,” अध्यक्ष कार्कीले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । आठ कन्टेनर भित्रिए 

तिब्बतका विभिन्न क्षेत्रमा रोकिएका मालवाहक कन्टेनर तातोपानी नाका हुँदै नेपाल भित्रिन थालेका छन् ।तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच कन्टेनर र आइतबार तीन कन्टेनर नेपाल भित्रिएका छन् । यी कन्टेनरमा स्याउ र लसुन रहेका छन् । एक महिनाभन्दा बढी समय तिब्बतमै रोकिएकाले कन्टेनरमा भएका स्याउ भने पूर्ण रूपमा बिग्रिएको जनाइएको छ । 

परराष्ट्र मन्त्रालय, ल्हासास्थित नेपाली महावाणिज्य दूतावास, तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायत सरोकारवाला निकायको पहलमा रोकिएका कन्टेनर आउन थालेको प्रमुख गौतमले बताउनुभयो । 

अझै नेपाली व्यापारीले सामान झिकाएका एक सयभन्दा बढी कन्टेनर चिनियाँ क्षेत्रमा रोकिएको यहाँका व्यापारीले बताएका छन् । शनिबार र आइतबार आठ कन्टेनर भित्रिए पनि नाका सधैँका लागि खुल्ने वा नखुल्ने कुनै जानकारी नभएको गौतमले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमण बढेपछि तिब्बतका खासा, ल्हासा, सिगात्से, मिम्बु, केरुङलगायतका स्थानमा साउन २५ गतेदेखि लकडाउन भएको थियो । लकडाउन भएपछि तातोपानी नाकातर्फ आइरहेका एक सयभन्दा बढी मालवाहक कन्टेनर साउन २५ गतेदेखि नै खासातर्फ रोकिएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले तिब्बती क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनरमा चाडपर्व लक्षित सामान रहेको र ती सामान दशैँअघि आउन असम्भव रहेको जनाएको छ । 

लकडाउनका कारण केरुङमा दुई सयभन्दा बढी, खासामा एक सयभन्दा बढी, मिम्बुमा ३०, सिगात्सेमा २५ मालवाहक कन्टेनर रोकिएको सङ्घले जनाएको छ ।