• १३ असोज २०८१, आइतबार

बाढीपीडितलाई तत्काल राहत

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ २७ गते । केन्द्रीय सुरक्षा समितिको बैठकले दार्चुला जिल्लामा गएको बाढी पहिरोमा परी घाइते र विस्थापित भएकालाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय गरेको छ। दार्चुलामा तीन दिनअघि  बाढी पहिरो गएको थियो।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो। विपद्बाट प्रभावितलाई खाद्यान्न सडकबाट पु-याउन समस्या भएमा हेलिकोप्टरबाट भए पनि यथाशक्य पु-याउने निर्णयसमेत बैठकले गरेको छ। 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार सोमबारबाट नेपाल भ्रमणमा आउन लाग्नु भएका मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुको सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखहरूले गृहमन्त्री खाणलाई जानकारी गराउनुभएको थियो।

बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षा निकाय मिलेर तयार गरेको विशेष सुरक्षा योजना पारित गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। त्यही सुरक्षा योजनाका आधारमा हरेक जिल्लामा पनि थप योजना बनाउन सक्ने पोखरेलले बताउनुभयो।