• १३ साउन २०८१, आइतबार

बेवारिस सडकमा जनप्रतिनिधिको चासो

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, भदौ २४ गते  । कास्कीदेखि गुल्मी जोड्ने छोटो सडक २५ वर्षदेखि अलपत्र परेपछि स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका, पर्वतको फलेबास नगरपालिका र महाशिला गाउँपालिकाका जनप्रतिनिधिले चासो देखाएका छन्। २०५४ सालमा स्याङ्जाका तत्कालीन सांसद हितकाजी गुरुङ र पर्वतका जिल्ला विकास समिति सभापति, वर्तमान राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पहलमा सडक निर्माणको काम सुरुवात भएको थियो। 

कास्कीको पामेदेखि गुल्मी तम्घास जोड्ने छोटो दूरीको धार्मिक पर्यटकीय सडक निर्माणमा सरकारको आँखा नपर्दा बेवारिस अवस्थामा पुगेको अर्जुन चौपारी–५ का वडाध्यक्ष बद्री पौडेलले बताउनुभयो। स्याङ्जा र पर्वतको पहलमा सडक खनिए पनि छेउछाउमा केन्द्र र प्रदेशको बजेटले कालोपत्रेसमेत हुँदा बीच भाग सवारी साधन नचल्ने अवस्थामा पुगेको हो। 

सुरुवाती क्रममा करिब ६९ लाखको लागतमा ग्रामीण सडक खनेको बताउँदै सडक निर्माणका संस्थापक अध्यक्ष पौडेलले १० वर्षबाट कुनै निकायले एक रुपियाँ बजेट विनियोजन नगरेको बताउनुभयो। कास्कीको पामेबाट आठ किलोमिटर कालोपत्रे भएको छ भने स्याङ्जा र पर्वत खण्ड १८ किलोमिटर जीर्ण अवस्थामा छ। 

यस्तै, पर्वतको महाशिलाले लुंखुदेउरालीसम्म पाँच किलोमिटर कालोपत्रे गरेको छ भने लुंखुदेउरालीबाट सेतीवेणी हँुदै रिडी तम्घाससम्मको सडक वर्षात्मा हिलो र हिउँदमा धुलोले ढाकिने गरेको छ। यस सडकमा पञ्चासे, डहरे, महाशिला, सेतीबेनी, रिडीजस्ता पर्यटकीय तथा धार्मिक स्थल पर्छन्। यही मार्गमा देशकै दोस्रो ठूलो फलाम खानी पनि रहेको महाशिलाका पूर्वअध्यक्ष ईश्वरी भुसालले बताउनुभयो।  

दुई प्रदेश जोड्ने छोटो सडकमा केन्द्र र प्रदेशको ध्यान नपुगेपछि अर्जुन चौपारी, फलेबास र महाशिलामा निर्वाचित जनप्रतिनिधिले केन्द्रसम्म नै पुगेर सरकारको ढोका ढकढक्याउने निर्णय गरेका हुन्। आफ्नो पालिकामा पर्ने सडकलाई सहकार्य गर्दै स्तरोन्नति गर्ने गरी सहमति भएको र मुख्य चाडपर्वमा नागरिकले दुःख नपाउने गरी सडक बनाइने योजना अर्जुन चौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो।