• १६ चैत २०८०, शुक्रबार

१९औँ निजामती सेवा दिवस

घरदैलोमा पुग्दै निजामती सेवा

blog

काठमाडौँ, भदौ २२ गते । निजामती प्रशासन सेवालाई नागरिकको घरदैलोमा पु-याउन प्रभावकारी बनाउने सङ्कल्पसाथ बुधबार १९औँ निजामती सेवा दिवस मनाइँदै छ। यसका लागि सरकारले गत वर्ष नै पाँच वर्षसम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरेको छ। 

सो नाराअनुसार निजामती सेवालाई थप व्यवहारमा उतार्ने अभियानसाथ सरकारले हरेक वर्ष प्रतिबद्धता व्यक्त गर्दै आएको छ। सङ्घीयताको कार्यान्वयनसँगै ‘घरघरमा सरकार’ भन्ने प्रतिबद्धता पूरा हुने क्रममा छ। २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनलाई सरकारले हरेक वर्ष निजामती सेवा दिवस मनाउँदै आएको छ। निजामती प्रशासनले सेवा प्रवाह गर्दा सेवाग्राहीले चाहेअनुसारको फड्को मार्न नसके पनि दिन प्रतिदिन सुधारको दिशामा गइरहेको आभास गर्न थालिएको छ। 

सिंहदरबारबाट कर्मचारी गाउँपालिका र वडास्तरसम्म पुगेर सेवा प्रवाह गरिरहेका छन्। जिल्ला सदरमुकाममा हुने काम अचेल वडाबाट हुन थालेका छन्। त्यसैले सेवाग्राहीका लागि निजामती सेवा सहज रूपमा देखिने, भोगिने भएको छ। तथापि सेवा लिँदा बढी समय, झन्झटिलो र प्रक्रियामुखी हुँदा सेवा प्रभावकारी हुन नसकेको गुनासो पनि हुँदै आएको छ। सरकार र आमनागरिकबीच सम्पर्क सेतुका रूपमा निजामती प्रशासन रहने भएकाले राज्य सञ्चालनका लागि निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहँदै आएको छ। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कर्मचारीले व्यावसायिकता र सिर्जनशीलता बढाउँदै लगेपछि मात्र सार्वजनिक प्रशासनमा थप सुधार ल्याउन सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “सेवा प्रवाह गर्ने कर्मचारीले सार्वजनिक प्रशासनमा चुनौती र समस्या के के आए ? अन्य मुलुकमा यस्ता समस्याको कसरी समाधानको अभ्यास भएका छन् ? भन्ने कुरा बुझेर व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्छ।” 

सरकार र आमनागरिकबीच सम्पर्क सेतुका रूपमा निजामती प्रशासन रहने भएकाले राज्य सञ्चालनका लागि निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहँदै आएको छ । 

उहाँका अनुसार कर्मचारीले समयसापेक्ष रूपमा उच्च प्रविधिको प्रयोग गर्नुपर्ने, राजनीतिक नेतृत्वले बनाएको नीति र कार्यक्रम व्यवहारमा कार्यान्वयन गर्ने काम निजामती कर्मचारीले गर्ने भएकाले निजामती प्रशासन जति सबल भयो सरकारको कामको गति पनि त्यति नै तीव्र बन्दै जानेछ। निजामती प्रशासनमा सुधार ल्याउनका लागि हरेक कर्मचारीमा अन्तरआत्मादेखि नै परिवर्तन गर्छु भन्ने भावनाले काम गर्नुपर्ने सचिव पोखरेलले बताउनुभयो। 

पूर्वसचिव गोपीनाथ मैनालीले कुनै कर्मचारीले प्रशासनिक सेवालाई सुधार गर्न खोजे पनि प्रशासन सुधारको स्पष्ट रूपमा नीति नबनेकाले नेपालको प्रशासनिक सुधार हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वले नीति नियमभन्दा बाहिर रहेर कर्मचारीलाई आफूखुसी चलाउन खोज्दा प्रशासनिक नेतृत्व झनै कमजोर भएको छ।” 

अहिले कर्मचारीमा जागिरे मानसिकता मौलाउँदै गएको, राम्राले भन्दा हाम्राले अवसर पाएको, सेवा क्रमिक रूपमा प्रविधिमैत्री बने पनि सेवाग्राहीलाई भने अतिरिक्त सास्ती थपिएको, कर्मचारीले आफ्नो कामप्रति वफादार नहुँदा त्यसको सास्ती सेवाग्राहीले खेप्नुपरेको उहाँले बताउनुभयो। निजामती प्रशासन सुधार गर्न मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीले पूर्ण रूपमा सेवाको भावनाले काम नगरेसम्म प्रशासन सुधार हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो।