• २ असोज २०८२, बिहिबार

जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद स्थगित

blog

मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको बैठक ।

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), असोज २ गते ।
जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको गरेको ५२ औं संस्करणको खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित भएको छ । 

थासाङ गाउँपालिका–३ लेतेमा आगामी असोज ९ देखि ११ गतेसम्म हुने प्रतियोगितामा आन्दोलनको क्रममा ज्यान गुमाउनेको सम्झना तथा घाइतेको स्वास्थ्य लाभको कामनासहित प्रतियोगिता स्थगित गरिएको सङ्घका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।

अध्यक्ष शेरचनले भन्नुभयो, ‘‘देश शोकमा डुबेको बेलामा हामीले प्रतियोगितामार्फत उत्सव मनाउनु राम्रो लागेन,आगामी वर्ष गर्ने गरी स्थगित गरेका छौं ।’’ प्रतियोगिताका लागि विभिन्न उपसमितिमार्फत तयारी तीव्र पारिएको अवस्थामा समितिको बैठकले शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनाका साथ हार्दिक समवेदना प्रकट गरी प्रतियोगिता स्थगित गरिएको सङ्घका सचिव विष्णु थकालीले जानकारी दिनुभयो । थाक खेलकुदलाई मुस्ताङमा खेलाडी उत्पादन तथा खेलाडीलाई प्रशिक्षणसहितको सुविधा रहेकाले खेलाडीमा आकर्षण छ ।