काठमाडौँ, भदौ २६ गते । जेनजीको नाममा सोमबार र मङ्गलबार भएको तोडफोड तथा लुुटपाटबाट देशभरका स्थानीय तहका प्रशासनिक भवन र तिनका वडा कार्यालयमा आगजनी हुँदा महत्वपूर्ण कागजातसहितका दस्ताबेज जलाइएपछि अत्यावश्यक सेवा प्रभावित भएका छन् ।
स्थानीय तहका प्रशासनिक र वडा कार्यालयमा रहेका महत्वपूर्ण दस्ताबेज, भौतिक सामग्री नष्ट भएपछि अब स्थानीय तहमा हुने जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद र बसाइँसराइ दर्ता जस्ता अत्यावश्यक कार्य प्रभावित भएका छन् । विकास निर्माणका योजना सम्झौता, सञ्चालन, नगरसभाका महत्वपूर्ण निर्णय, आवधिक र वार्षिक प्रतिवेदनका दस्ताबेज जलेर नष्ट हुँदा नागरिकलाई प्रदान गर्ने सेवामा दीर्घकालीन असर परेका छ । यस्तै नागरिकता, घरजग्गा सिफारिस, शिक्षा, स्वास्थ्य, कृषि, ऐतिहासिक तथा धार्मिक स्थलका दस्ताबेज नै नष्ट भई नागरिकले पाउने अत्यावश्यक सेवा प्रभावित भएका छन् ।
काठमाडौँ उपत्यकाका नगरपालिकाका र तिनका वडा कार्यालयसहित पोखरा महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान, हेटौँडा, धनगढी उपमहानगरपालिका कार्यालय र तिनका वडा कार्यालय आगजानी गरी क्षति पु¥याइएका नेपाल नगरपालिका सङ्घले जनाएको छ । सङ्घले सहरी क्षेत्रका अधिकांश नगरपालिका र तिनका वडा कार्यालयमा क्षति पुगेपछि महत्वपूर्ण दस्ताबेज जलेर नष्ट भएको स्पष्ट पारेको छ । नागरिकलाई तल्लो तहबाट दिनुपर्ने सेवा प्रभावित भएसँगै अब पुनर्निर्माण र नवनिर्माण हुन लामो समय लाग्ने जनाइएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले उपमहानगरपालिका कार्यालयमा आगजनी गर्दा अत्यावश्यक र महत्वपूर्ण दस्ताबेज जलेर नष्ट भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपमहानगरपालिका प्रशासनिक भवन, गाडी र मोटरसाइकल केही पनि छैन, अबको पुनर्निर्माण शून्यबाट गर्नु पर्छ, वर्तमान नेतृत्वलाई चित्त नबुझ्दा भोलि अर्को नेतृत्व आउँछ, अर्को नेतृत्वले पनि काम गर्ने सोही स्थानबाट नै हो । अब भवन र दस्ताबेज नै नभएपछि कहाँबाट कसरी सेवा दिने अन्योल छ ।”
नेपाल सरकारको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा विनियोजन गरिएको बजेट प्रशासनिक भवन निर्माणमा फेरि खर्च गर्नुपर्ने हुँदा यसले देशलाई आर्थिक बोझ थपिने र विकास निर्माणको काम प्रभावित हुने उहाँले बताउनुभयो ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका सूचना अधिकारी माधव खतिवडाले नगरपालिकाको प्रशासनिक भवनसहित चार वटा वडा कार्यालयको भवन क्षतविक्षत भएको बताउनुभयो । उहाँका अनुसार वडा नं. १, ६, ७ र ९ को वडा कार्यालय क्षति भएको छ । वडा नं. ६ र ७ को वडा कार्यालयका कागजात बाहिर ल्याएर जलाइएको छ । वडा नं. ९ मा.पूर्ण रूपमा क्षति पुगेको छ । “अहिले नगरपालिकाले छिटो र सहज रूपमा सेवा प्रवाह गर्ने गरी काम आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ, केही दिनमा सेवा नियमित हुन्छ,” उहाँले भन्नुभयो ।
काभ्रेको बनेपा नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार थापाले नगरपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा क्षति भएको भन्दै कहाँ कति क्षति पुग्यो भन्ने यकिन विवरण भने आउन बाँकी रहेको बताउनुभयो । नगरपालिकाको प्रशासनिक भवन, महत्वपूर्ण दस्ताबेज, सवारीसाधनलगायतका संरचनामा पूर्ण रूपमा क्षति पुगेको र बिस्तारै अवस्था सामान्य भएपछि भने यकिन विवरण आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो । नेपाल नगरपालिका सङ्घले धेरै नगरपालिकाको प्रशासनिक भवन र तिनका वडा कार्यालयमा क्षति पुगेकाले यकिन विवरण सङ्कलन हुने व्रmममा नै रहेको जनाएको छ ।