छविलाल पाण्डे
बुटवल, असोज २ गते । रुपन्देहीको गैडहवा तालमा पौडी खेल्दा स्थानीय दुई युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुने युवकमा गैडहवा गाउँपालिका–१ असिधहवाका १८ वर्षीय दिपेश थारु र उहाँका साथी अरुण थारु छन् ।
रुपन्देहीको गैडहवा गाउँपालिका ६ मा रहेको तालमा दुबै जना बुधबार चार बजेतिर गैडहवा तालमा पौडी खेल्न गएका थिए । इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुब्न थालेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए । तर दुबै जनाले ज्यान गुमाएका छन् । उनीहरु बुधबार बिहान करिब ११ बजे घरबाट गैडहवा ताल घुम्न निस्किएका थिए ।
रुपन्देहीको सबैभन्दा ठूलाे मानव निर्मित यो ताल ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । पछिल्लो समय यो तालमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ ।