• २१ असार २०८१, शुक्रबार

राजेन्द्र लिङ्देनले त्याग्नुभयो सांसद पद

blog

प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्नुहुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङ्देन । फाइल तस्बिर

काठमाडौं, भदौ १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको जानकारी सदनलाई गराउनुभएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्नुहुँदै सांसद लिङ्देनले प्रतिनिधिसभाको यस कार्यकालमा सांसदको रूपमा संसद्मा उपस्थित नहुने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘व्यक्तिगत रूपमा म चाहिँ अब संसद्मा आउँदिन । पार्टीको अध्यक्ष पनि छु । सानो पार्टीको अध्यक्ष हुनको नाताले आउने चुनावमा संसद्मा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताको बीचमै जान  बढी समय खर्च गर्नुपर्छ । त्यसकारणले भत्ता पकाउनका लागि मात्रै अब संसद् आउँदिन भनेर आउन छोडेको पनि थिएँ ।’’

सांसद लिङ्देनले आफूले पाउने तलब, भत्ता तथा सुविधाहरू समेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह गर्नुभयो । उहाँले संसद्को आयु मङ्सिर ४ गतेको निर्वाचनपछि पनि कायम राख्नेगरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पछिल्लो दिनमा जब संसद्को आयु मङ्सिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढङ्गको निर्णय गर्ने प्रक्रियाहरू प्रारम्भ भएका छन् । त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो । त्यसकारण मैले बाटोबाटै सांसद छैन, छोडेँ भनेर हिँड्नुको अर्थ हुँदैन । कमसेकम संसद्मा उभिएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर म आज संसद्मा उपस्थित भएको छु र यहीँबाट घोषणा गर्न चाहन्छु, म आजबाट सांसदको रूपमा यहाँ उपस्थित हुनेछैन ।’’

सांसद लिङ्देनले निर्वाचन घोषणा भएसँगै संसद्को आयु जीवित राख्नु नहुने पक्षमा आफू र आफ्नो पार्टी रहेको उल्लेख गर्दै आफू अनैतिक काममा सहभागी हुन नसक्ने बताउनुभयो ।

सांसद लिङदेनले आगामी निर्वाचनपछि एक्लो सांसदको रूपमा मात्र नभई बलियो पार्टीको रूपमा संसद्मा उपस्थित हुने र सांसदबाट गलत निर्णय गर्न नदिने सङ्कल्पका साथ जनतामा जाने बताउनुभयो ।