• १४ जेठ २०८१, सोमबार

गर्भवती महिलालाई गाउँमै भिडियो एक्स-रे सेवा

blog

गर्भवती महिलाको भिडियो एक्सरे गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ १७ गते । गाउँमै भिडियो एक्स-रे सेवा पाउँदा गर्भवती महिला खुसी भएका छन् । गाउँमै भिडियो एक्स-रे सेवा पाएपछि दिनभरको समय र पैसा खर्चेर अन्यत्र जानुपर्ने बाध्यता हटेको गर्भवती महिलाको भनाइ छ ।  

निस्दी गाउँपालिकाले गाउँमा भिडियो एक्स-रे सेवा प्रदान गरेपछि जिल्ला सदरमुकाम तानसेन र रामपुर जानुपर्ने बाध्यता हटेको उहाँहरूको भनाइ छ । निस्दी गाउँपालिकाको लगानीमा गाउँमै निःशुल्क भिडियो एक्स-रे सेवा लिन पाउँदा आफूहरू खुसी भएको गर्भवती महिलाले बताउनुभयो ।  

गर्भवती महिलाले गाउँमै सेवा पाएपछि समय र खर्च समेत बचेको उहाँहरूको भनाइ छ । ‘पहिले भिडियो एक्स-रेका लागि तानसेन र रामपुर जानुपर्ने बाध्यता थियो निस्दी –४, का स्थानीय बासिन्दा हिराकुमारी खाम्चाले भन्नुभयो “अब गाउँमै सहज रूपमा सेवा पाउँदा खुसी लागेको छ ।” गाउँमा यो सेवा उपलब्ध भएपछि खर्चको अभावमा सदरमुकामसम्म जान नसकेका गर्भवतीसमेत जाँचका लागि आउने उहाँले बताउनुभयो । 

पालिकाभित्रका सात वटै वडाका गर्भवतीलाई गाउँमै भिडियो एक्स-रे सेवा प्रदान गरिएको छ । गर्भवती महिलालाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्स-रे सेवा सञ्चालन गरेपछि गर्भवती महिलाले आफ्नो र बच्चाको स्वास्थ्य अवस्था बुझ्न सजिलो भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले बताउनुभयो ।

सदरमुकाम सम्म जान पैसाको अभाव र समय मिलाउन नसकेका गर्भवतीले समेत स्वास्थ्य जाँच गर्न सहज भएको प्रमुख दिशाले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले तालिमप्राप्त जनशक्ति व्यवस्था गरेपछि सेवा दिन सहज भएको पालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।